समाजवादी चिन्तक तथा काङ्ग्रेस नेता गिरिकाे निधन, आजै अन्तिम दाहसंस्कार

उपचारमा संलग्न डा. सन्दर्भ गिरिका अनुसार शनिबार राति ९ बजेर ३० मिनेटमा निधन भएको हो। उनका अनुसार नेता गिरिको पार्थिवशरीर अस्पतालको शिवालय मन्दिरमा आइतबार बिहान श्रद्दाञ्जलीका लागि राखिने भएको छ।

नेता गिरिको निधनबाट स्तब्ध र मर्माहत भएको भन्दै कांग्रेसले शनिबार राति शोक विज्ञप्ति निकालेको छ। ‘गिरिले नेपाली कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको अतुलनीय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ’, विज्ञप्तिमा लेखिएको छ। गिरिको पार्थिवशरीर आइतबार बिहान ११ः३० देखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ। त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने भएको छ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालले गिरिको निधनको खबरले आफू स्तब्ध भएको जनाएका छन्। ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै यस दुखद् घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु’, उनले टिटरमा लेखेका छन्।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले फेरि यस्तै प्रतिभाशाली राजनीतिज्ञ पाउन मुस्किल रहेको बताएका छन्। ‘मुलुकको स्वार्थका विचारको राजनीति गर्ने नेता हो उहाँ। गिरिको निधनले सिंगो कांग्रेस र मुलुकलाई नै ठूलो क्षति पुगेको छ’, पौडेलले भने।

कांग्रेसको राजनीतिमा रहे पनि गिरिले माक्र्सवादको अध्यतासँगै बौद्धिक नेताको छवि बनाएका थिए। राजनीतिका सबै तहका व्यक्तिमाझ उत्तिकै लोकप्रिय थिए। कम्युनिस्ट विचारधाराका नेता तथा कार्यकर्ताले पनि उत्तिकै सम्मान गर्थे। गिरिलाई पदको प्रलोभन धेरै पटक देखाइएको बताउँछन् पूर्वराजदूत दीपकुमार उपाध्याय। ‘उहाँको ढोका बारम्बार अवसरले घचघचाइरह्यो’, उपाध्यायले भने, ‘काठमाडौंमा उहाँ भाडामै अधिकांश समय बस्नुभयो। २०५० सालपछि करिब ८–१० वर्ष उहाँ मेरै घरमा बस्नुभयो। सम्पूर्ण रूपमा सादगी जीवन जिउन मन पराउनुहुन्थ्यो।’

गिरिले कांग्रेसका संस्थापक नेता बीपी कोइरालानिकटसमेत रहेका थिए। भारतको वनारसमा छात्र संघमा चुनाव लड्दादेखि उनले बीपीसँग सहयात्रा गरेका थिए। उनी २०२४ सालमा नेपाल छात्र संघ बनारसका उपाध्यक्ष निर्वाचित भएका थिए। ‘म ती थोरै सौभाग्यशाली युवकमध्ये हुँ। जसले उहाँसँग थोरै सहकार्य गर्ने मौका पायो। मैले उहाँको जीवनलाई नजिकबाट हेर्ने सौभाग्य पाएँ’, गिरिले २०७६ भदौ २४ गते प्रतिनिधिसभाको बैठकमा भनेका थिए,  ‘दुर्भाग्यवश, लामो समयसम्म हाम्रो पार्टीको शासन हुँदा पनि बीपीको विचारलाई समुचित स्थान दिन सकेनौं।’

२०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय बने। उनी २०५६ को चुनावमा पराजित भए। २०६४ र २०७० को संविधानसभामा समानुपातिकबाट सभासद भए। संविधान लेखनमा योगदान गरे पनि संविधानमा हस्ताक्षर भने गरेनन्।

गिरीले ०७४ मा प्रत्यक्षतर्फ चुनाव जिते। सांसद धेरै पटक भए पनि मन्त्री भने बनेनन्। पार्टीबाट उनलाई मन्त्रीको प्रस्ताव आए पनि त्यति चासो दिन्नथे। त्यसो त उनी मन्त्री बन्नका लागि आपैmं पनि लालयित भएनन्। संसदमा मधेसी, महिला, दलित र पिछडिएको समुदायको पक्षमा निरन्तर आवाज उठाए। अध्ययन, अनुसन्धान र लेखनमा सदैव घोत्लिरहन्थे। नारी, लेनिनको जीवनी, माक्र्सवाद र अर्थशास्त्रलगायत विषयमा दर्जनभन्दा बढी उनका पुस्तक प्रकाशित छन्। जसले २०२५ सालमा १८ महिना र २०४२ सालमा झन्डै एक वर्षसमेत गरी चार वर्ष जेल जीवन बिताए।

गिरीलाई कम्युनिष्ट नेताहरूले माक्र्सवादका ज्ञाताका रूपमा हेर्ने गर्थे। माओवादी नेता देव गुरुङले भने, ‘कम्युनिष्ट साथीहरूलाई थाहा नभएको माक्र्सवाद प्रदीपजीले मन्थन गर्नुहुन्थ्यो। उहाँ माक्र्सवादको अध्यता हुनुहुन्थ्यो। त्यसो त गिरी माक्र्सवादका विद्यार्थी नै हुनुहुन्थ्यो। ‘गिरीले माक्र्सवादलाई बीपीले समेत मानेको भन्ने गर्नुहुन्थ्यो। माक्र्सवादको विचारसँग कोही तटस्थ बस्न नसक्ने  धारणासमेत राख्नुहुन्थ्यो।’

चारपटक सांसद बनेका गिरीलाई ०६२/६३ पछि मन्त्री पदका अफर पाए। तर, स्वीकार गरेनन्। खास उनी मन्त्री बन्दा स्वतन्त्रता गुम्छ भन्ने डर रहेछ। उनी भन्थे, ‘मन्त्री भएपछि मनमौजी गर्न मिल्दैन, स्वतन्त्र जीवन गुम्छ। मन्त्री भएपछि सुत्ने, उठ्ने, हिँड्ने, भेटघाट गर्ने जीवनशैली नियमित हुन्छ। फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न पाइँदैन। व्यक्तिगत जीवनमा हस्तक्षेप हुन्छ। मन्त्री पद व्यवस्थापन गर्दा आफू सकिने डर हुन्छ।’ नेता गिरीसँग लामो समय निकट रहेका पत्रकार किशोर नेपालले टिटमा लेखेका छन्, ‘प्रदीप दाइ मन मष्तिस्कमा विराजमान हुनुहुन्छ। सत्यको चिन्तन गरौं। समाजवादको बाटो बनाऔं।’

गिरी सिरहाको बस्तीपुरमा २००४ सालमा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका थिए। उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए। बुवाको राजनीतिक जीवनबाट प्रभावित भएर सानै उमेरमा उनी राजनीतिमा होमिएका थिए।

सिरहा लहानस्थित बस्तीपुरमा नेता गिरीले आ श्रमसमेत स्थापना गरेका थिए। आ श्रमबाट हालै फर्केकी पत्रकार रुचि श्रेष्ठले पुराना र नयाँ पुस्ताबीच पनि नेता गिरी सम्मानित रहेको बताइन्। ‘राजनीतिमा बैचारिक दृढता र दूरदर्शिता भएको व्यक्तित्व उहाँमा पाइन्थ्यो’,  उनले भनिन्, ‘वातावरणीय संरक्षणलाई समाजवादसँग जोडेर बोल्ने क्षमता थियो। जीवनजगतको चिरफार गर्ने उहाँमा अद्भुत  क्षमता थियो।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation