चिन्तनको विश्वविद्यालय प्रदिप गिरीको समग्र नालिवेली, आजै अन्त्यस्टी गरिने

सिरहा  लहान बजारको व्यस्त चहलपहलभन्दा पाँच किलोमिटर पर । १२ बिघा क्षेत्रफलमा हुर्किएका रूखबिरुवाबीच आश्रममा कार्यकर्तामात्र होइन, बौद्धिकदेखि सामान्य नागरिकले घेरिएका हुन्थे समाजवादी चिन्तक प्रदीप गिरी । वनस्पतिले दिने शीतलता, चराचुरुंगीको चिरबिर अनि शान्त परिवेशमा टहल्न आउने पनि प्रशस्तै हुन्थे । यही आश्रममा अहिले सन्नाटा छाएको छ ।

२०५२ सालदेखि काम गर्दै आएकी भान्से ५५ वर्षीया जितनी राम, ५० वर्षीय गम्भीरमान लामा र आश्रमबाटै कलेजमा अध्ययनरत भुवन, रमेश र सुदीप मात्र छन् । काठमाडौंको खबरले उनीहरूको अनुहारको रङ उडेको छ । गम्भीरमान २०३७ सालदेखि नै गिरीको संगतमा छन् । ‘सधैंजसो १२ देखि १५ जनाको खाना पकाएर खुवाउने जाँगर अहिले मरेको छ, मन कुँडिएको छ,’ जितनी भन्दै थिइन्, ‘३२ वर्षअघि स्थापना गरेको आश्रममा अहिलेजस्तो सन्नाटा कहिल्यै छाएको थिएन ।’

भारतका जयप्रकाश नारायणले जस्तै कर्मप्रधान आश्रम बनाउने परिकल्पनाअनुसार गिरीले २०४८/४९ सालताका आफैंले बिरुवा रोपेर आश्रम स्थापना गरेका थिए । त्यसको १० वर्षपछि पुनःस्थापना गरे । स्वरोजगारमूलक बनाउन धेरै अध्ययन गरेर उनले पशुपालन सुरु गरे । अहिले पनि आश्रममा दुधालु भैंसी छन् । एकताका पशुपालन मधेसको पहिचानसँगै आम्दानीको स्रोतका रूपमा जोडिएको थियो ।

जन्मथलो बस्तीपुर आउँदा अधिकतर समय आश्रममै बिताउँथे गिरी । उनका समकालीन ७१ वर्षीय कुमुदरन्जन बराल भन्छन्, ‘प्रदीप दाइ जहिल्यै नेपालका बारेमा, यहाँको दरिद्रता, विषमता, बेरोजगारी, सार्वजनिक व्यवहारमा बढिरहेको जातीय एवं धार्मिक वैरभाव, पर्यावरणमा आइरहेको ह्रास, कृषि संस्कृतिको विकासका बारेमा चासो राख्नुहुन्थ्यो ।’ उनका अनुसार कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेपछि बालुवाटार आउजाउ बढ्यो । टिकट वितरणमा उनको भूमिका कमजोर भयो । ‘जसले गर्दा प्रदीप दाजु स्वयंले टिकट पाउनुभएन,’ बराल सम्झन्छन्, ‘जब किसुनजीको हारपछि गिरिजाबाबु प्रधानमन्त्री बन्नुभयो, त्यतिखेर किसुनजीलाई प्रदीप दाजुले भन्नुभएको थियो– अबका दिन नेपालको इतिहासमा काला अक्षरले लेखिनेछन्, म मेरो पर्ती जमिनमा वृक्षरोपण गर्न जान्छु, तपाईंको निम्ति पनि सानो घर बनाइदिन्छु, मौका मिले आउनुहोला ।’ त्यसपछि नै गिरी बस्तीपुर आएको उनी बताउँछन् । ‘जमिनको नापजोख सुरु भयो । कहाँ के बनाउने योजना बनायौं,’ बरालले भने, ‘त्यत्तिखेर जुगेश्वर यादव, गंगाबहादुर राउत, अर्जुन गिरी, सुरेश गिरी, सुमन बराल, गोविन्द यादव, राम प्रसाद, राजकुमार साह, श्यामसुन्दर तातीलगायतको सहयोगबाट वृक्षरोपण गर्‍यौं ।’

 

आश्रमको जग्गा गिरीको मूलथलो बस्तीपुरबाट झन्डै एक किलोमिटर दूरीमा छ । पर्ती जग्गामा भदैया, पिडरबोनी, बस्तीपुर, लक्ष्मीनियाँतिरका बस्तुभाउको चरनस्थल थियो । पछि वृक्षरोपण गरिसकेपछि आश्रमले मूर्तरूप लियो । खेतीपातीका लागि सफिद मियाँलगायत जोडिए । वृक्षरोपणपछि आश्रममा जस्ताले छाएको तीन कोठाको घर निर्माण भयो । एउटा कोठामा पुस्तकालय राखियो । बराल भन्छन्, ‘त्यही घरमा किसुनजी आएर धेरै दिनसम्म बस्नुभयो ।’ पछि घेराबेरा हुँदै जस्ताका केही घर निर्माण भए । आश्रमको रूप लिन थालेपछि मित्र सेवा आश्रम र गान्धी आश्रमसमेत भनिन थालियो । आश्रममा अहिले अध्ययन केन्द्र, प्रशिक्षण केन्द्र, बालबालिका अध्ययन केन्द्र, गरिब सर्वसाधारणका लागि सहकारी, दलित सशक्तीकरणका लागि दलित जनकल्याण युवा क्लब, महिला अधिकार केन्द्र र फूलबारी रेडियो सञ्चालित छन् ।

हरेक पटक आश्रम आउँदा गिरी आफैं सामूहिक श्रममा तल्लीन हुन्थे । पछिल्लो पटक आश्रमको हेरचाह शम्भुकुमार यादव, सुरेश गिरी, दीपेन्द्र हमाल र गम्भीरमान लामाले गर्दै आएका छन् ।

साविक बस्तीपुर गाविस ६ (हाल लहान नगरपालिका–१४) मा २००२ सालमा राजनीतिक घरानाका मित्रलाल गिरी र पुण्यप्रभाका माहिलो छोराका रूपमा जन्मिएका हुन् गिरी । उनका पाँच भाइ र तीन दिदीबहिनी छन् । नागरिकतामा भने उनको जन्ममिति २००६ साल लेखिएको छ ।

१३ वर्षको उमेरमा बस्तीपुर माविबाट एसएलसी उत्तीर्ण गरेका गिरीले भारतको काशी विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए पास गरेका छन् । काशी विश्वविद्यालयमा बीए अध्ययन गर्दाताका प्रजातान्त्रिक युवा दलमा आबद्ध भए । २०२४ सालमा त्यही संगठनको उपाध्यक्ष भए । नेपाल आउँदा पक्राउ परेपछि २ वर्ष जेल परे । जेलबाट छुटेपछि बीपीलाई भेट्न बनारस पुगे र सशस्त्र आन्दोलनको सहयोगी बने । २०३६ सालमा बहुदलको पक्षमा भोट माग्दा २ दिनअघि नै पक्राउ परेका उनी फेरि २०४२ सालको सत्याग्रहमा समातिए । २०४५ सालमा पनि उनी पक्राउ परेका थिए ।

गिरी २०५१ को आमनिर्वाचनमा पश्चिमी सिरहाको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए भने पहिलो र दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सभासद भए । २०७४ को प्रतिनिधिसभा सदस्यमा उनी सिरहा १ बाट निर्वाचित भएका थिए ।
‘हामीले एक व्यक्ति होइन, सिंगो विश्वविद्यालय गुमायौंं’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भन्छन्, ‘चिन्तनको धरोहर गुमायौं ।’

गिरि नेपाली कांग्रेसका नेता एवम् सांसद भन्दा बढी आमस्वीकार्य चिन्तकका रुपमा स्थापित थिए । त्यसैले उनको निधनअघि नै अनेक क्षेत्रका दिग्गज व्यक्तिहरुले स्वास्थ्य लाभसहित उनको योगदान सम्झन थालेका थिए । धेरैले सामाजिक सञ्जाल र कतिपयले आमसञ्चार माध्यममार्फत स्वास्थ्य लाभको कामनामा लेख नै प्रकाशित गरे ।

 

‘कर्मले, लेखनले, विचारले, चिन्तनले, समयले र परिश्रमले अहिलेको समाजवादी आन्दोलनका सम्भवतः सबैभन्दा अग्लो व्यक्ति हुन्, प्रदीप गिरि’, मार्क्सवादी अध्येता एवम् एमाले नेता घनश्याम भूसाल भन्छन् । बौद्धिकता, राजनीतिक सक्रियता र प्रतिबद्धतालाई एकैठाउँमा राखेर हेर्दा प्रदीप गिरि जत्तिको कोही मान्छे अब बाँकी नरहेको उनी बताउँछन् । ‘प्रदीप गिरिको मृत्यु समाजवादी आन्दोलनका निम्ति ठूलो क्षति हो’ भूसाल भन्छन् ।

सम्पत्ति, शक्तिको प्रलोभन र भयबाट टाढा रहेर बोले, लेखे र चिन्तन गरे ।

नेपाल फर्किएपछि २०२५ र २०४२ सालमा गरी चार वर्ष जेल जीवन बिताए । त्यसैबेला दरबारले राजकीय अवसरको प्रस्ताव गरे । तर गिरिलाई आफू हिंडेको आन्दोलन प्रिय थियो, सामाजिक जागरण प्यारो लाग्यो । प्रतिबन्धित पत्रिका तरुण र प्रवाह मार्फत् कांग्रेसप्रति आकर्षण बढाए । तर कांग्रेसको कार्यकारी भूमिका उनको रुचिमा थिएन । जसरी अध्ययनको सीमाक्षेत्र निर्धारण गरेका थिएनन्, उसैगरी निश्चित भूमिकामा सीमित हुने जाँगर थिएन ।

पार्टी संस्थापकहरुसँगको सम्बन्ध/संगत, चेतनाको उच्चता र अविचलित राजनीतिक सक्रियताका कारण पर्याप्त योग्यता भएर पनि कांग्रेसको ठूलो भूमिकामा उनी रहेनन् । २०५६ को पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गिरि गएको मंसिरमा सम्पन्न १४औं महाधिवेशनसम्म उक्त भूमिकामा रहे । क्यान्सरको उपचारार्थ अस्पतालमा रहेकाले १४औं महाधिवेशनमा भने सहभागी भएनन् ।

कांग्रेसमा सक्रियता र सहभागिता भए पनि कम्युनिष्टहरुमा पनि उत्तिकै उनी सुनिने व्यक्ति रहे । ‘समाजवादी चिन्तनमा पनि प्रदीप गिरि मार्क्सवादी धाराका हुन् । उनले जुन कुरा धेरैपटक कबुल गरेका छन्’ घनश्याम भूसाल भन्छन्, ‘प्रदीप गिरिको मृत्यु त्यसकारण हाम्रो खेमाका लागि उत्तिकै ठूलो क्षति हो ।’

कम्युनिष्टहरुले गिरिलाई प्रशिक्षणमा पनि बोलाउनुमा उनको मार्क्सवादी अध्ययन थियो । कतिसम्म भने सन् २०१८ मा कार्ल मार्क्स द्विशतकी वार्षिकी समारोह मनाइरहँदा गिरिलाई सल्लाहकारमै राखियो । अध्ययन गरेको विषय र पात्र समेत कण्ठाग्र बोल्न सक्ने गिरिले पूर्वीय र पश्चिमा दर्शन, भौतिकतावादी चिन्तन र आध्यात्मिक सोचबारे सरल भाषामा सारांश सुनाउन सक्थे ।

राजा, पञ्चायत, कांग्रेस, कम्युनिष्ट र विश्व राजनीतिक पात्र अनि तिनको प्रवृत्तिसँग वर्तमान राजनीतिलाई तुलनात्मक अध्ययन गर्न सक्ने खुबीकै कारण युवा पंक्तिमा उनी प्रिय रहे ।

समाजवादी चिन्तन र जीवनशैलीप्रति जसरी आजीवन सम्झौता गरेनन्, त्यसैगरी राजनीतिक द्वन्द्वमा आफ्नो कित्ता सधैं प्रष्ट पारे । भन्थे– युद्धमा योद्धाले आफ्नो कित्ता प्रष्ट पार्नैपर्छ ।

बीपीसँग सैद्धान्तिक बहस गर्ने गिरि कांग्रेसभित्र सुवर्ण शमशेरको कित्तामा उभिए । त्यसैको निरन्तरतामा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई साथ दिए । यो कित्तामा २०५३ पछि शेरबहादुर देउवा जोडिए । त्यसपछि सधैंभर देउवालाई नै साथ दिए । तर उनलाई निषेध गरेर जाने ल्याकत फरक कित्ताका नेताहरुमा समेत देखिन्न ।

लेनिन जीवनी नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत दर्जन किताब लेखेर आफूलाई प्रस्तुत गरेका गिरि २०४८ पछि कांग्रेसले उदार अर्थनीति अपनाए पनि समाजवादी अडानमै अडिग रहे । ‘आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिंदैन । व्यक्ति नै समाजवादको जीवित तत्व हो । आर्थिक उत्थानको लक्ष्य पनि त्यही जीवित व्यक्तिलाई खुशी बनाउनु हो’ भन्ने बीपीको समाजवादी कार्यक्रमलाई समानुकूल समृद्ध बनाउन लागिरहे, भनिरहे, ‘संकलनमा होइन, वितरणमा ध्यान देऊ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation