यसपाली न मल न पानी, लगातारको खडेरीले कृषकलाई हैरानी

झिमझिम झरिले गडगडाहट खोलानाला सुुसाउने बेला खोलानालामा कमिला हिँडेपछि के होला कृषकको हालत ? यसो त मौसमविदहरुले यसपालिको वर्षा औषतभन्दा ३० प्रतिशत बढी पानी पर्ने आँकालन गरे तर वास्तविक अवस्था भने ३० वर्ष यताकै खडेरी भयो । खेतीपातिको बेला कालोबजारीमार्फत पनि रासायनिक मल नपाएर समस्यामा परेका किसानले राखेको व्याड पानीको अभावमा रोप्नै नपाएपछि खेत बाँझै छन्, रोपेको धान पनि विभिन्न रोगहरुले सुक्दै जाँदा किसानहरु चरम निराशामा छन् ।
असारमै धान रोपेर सक्नुपर्ने किसानले साउन सकिनै लाग्दा समेत पटक्कै पानी नपरेपछि आकाशमा बादल हेरेर पुर्परो हिर्काउँदै बस्न विवस् छन् ।
कृषि ज्ञान केन्द्र घोराही दाङका अनुसार पानी अभावकै कारण दाङका विभिन्न क्षेत्रमा अझै सात हजार चार सय ८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन सकेको छैन । एक तथ्याङ्क अनुसार दाङका ६० प्रतिशत नागरिकको जीवनयापनको आधार कृषि रहेको र त्यसमा पनि मुख्य बाली धान हो । साउन महिनाको खडेरीले रोपाइँ नहुनु र रोपेको धान पनि पानी अभावमा उत्पादन नहुने अवस्थामा पुग्न लागेको किसानहरुले बताएका छन् ।
दाङको ३९ हजार चार सय हेक्टर क्षेत्रफलमध्ये ३१ हजार नौ सय १४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ भने अझै १९ प्रतिशत रोपाइँ हुन बाँकी छ । दाङको पुर्वी क्षेत्रका केहि भाग बाँकी रहेको र घोराही, तुलसीपुर, दंगीशरण र बबई क्षेत्रका धेरै किसानले धान रोप्न नपाएको कार्यालयका सूचना अधिकृत मनोजकुमार सिंहले जानकारी दिए । ‘आकाशको पानीको भर पर्ने किसानले अझै धान रोप्न पाएका छैनन्’– उनले भने ‘ब्याड बढेको भए पनि केहीले अझै रोपिरहेका छन् तर उब्जनीको आस मरिसक्यो ।’
आकाशे पानी नपरेपछि किसानले पम्पसेटबाट सिंचाई गरेर रोपाइँ गरिरहेका छन् । धेरैजसोले अब रोपाइँ गर्दा उत्पादन लिन नसकिने भन्दै रोपाइँ नगर्ने निष्कर्षमा पुगेका छन् । रोपाइँ नभएको बाँझो खेतमा धानको विकल्प के गर्ने भन्ने विषयमा किसानहरुलाई सुझाव दिने काम पनि कसैले नगरेको किसानहरुको गुनासो छ । धानको सट्टा दलहन र तेलहन बाली लगाउन सकिने भए पनि यसतर्फ किसानलाई स्थानीय सरकारले सहयोग सुझाव दिने काम हुन नसकेको दंगीशरणका मायाराम चौधरीले गुनासो गर्नुभयो ।
‘आधा खेतमा पानी लाग्ने भएकोले
रोपियो तर आधा खेत खाली छ, अब त रोप्ने आस मरिसक्यो जलस्रोतमा विश्वको दोस्रो धनी मुलुक भनेर के गर्ने ? घोराही उपमहानगरपालिका भित्रै न त प्रशस्त पिउने पानी घर–घरमा छ न त सिंचाई नै ? ’ घोराही १२ निवासी पहलमान चौधरीले भने । गत वर्षको साउन महिनाभरमा १ दिन मात्रै पानी परेन तर यो वर्ष खडेरीमै साउन सकिन थालेको छ ।
अप्रत्यासित खडेरीले उत्पादनमा गभिर असर
कृषिगोग्य क्षेत्रको अव्यवस्थित प्लटिङ, खेतिपाती हुने जग्गा बाँझो राख्ने प्रवृति, बडदो शहरिकरण, बेमौसमी वर्षा, तथा लगातारको लामो खडेरी आदिले कृषि उत्पादनमा कमी भएर परनिर्भरता बढिरहेको र यसपालीको लाम खडेरीले धान लगायत वर्षे खाद्यान्न आपुर्तिमा चरम संकट हुनसक्ने विश्लेषकहरुको ठहर छ ।
त्यस्तै ज्ञान केन्द्रका दाङका बाली संरक्षण अधिकृत रुद्रमणि पौडेलले पनि पानी पर्याप्त नहुँदा र समयमा मल नपाएका कारण धान उत्पादन घट्ने आँकलन गरिएको बताए । ‘पोहोरको भन्दा रोपाइँ कम भएका कारण कम उत्पादन हुने अवस्था यसै देखियो, रोपेको धानमा पनि पानी पर्याप्त छैन, मल समयमा पाइएन ।’ प्राणमञ्चसँगको कुराकानीमा उनले भने । केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले यो वर्ष १५ प्रतिशत धान उत्पादनमा ह्रास आउने बताए ।आर्थिक वर्ष २०७५÷०७६ मा अघिल्लो वर्षकै जति क्षेत्रफलमा एक लाख ६८ हजार ५८ मेट्रिक टन धान उत्पादन भयो । उही क्षेत्रफलमा आर्थिक वर्ष २०७६÷०७७ मा एक लाख ६७ हजार पाँच सय ८९ दशमलव सात मेट्रिक टन धान उत्पादन भयो । आर्थिक वर्ष २०७७÷०७८ मा दाङमा ३९ हजार हेक्टर क्षेत्रफलमा एक लाख ६७ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको रेकर्ड छ ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा एक लाख ४५ हजार छ सय ९१ दशमलव ७५ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको बेमौसमी वर्षाले २७ हजार मेट्रिक टन धान नष्ट गरेको थियो । जिल्लाको दुई लाख ९५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा ६५ हजार नौ सय ८० हेक्टर क्षेत्रफल खेतियोग्य रहेको र ६५ हजार नौ सय ८० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सरकारी तथ्याङ्क छ । दाङमा ५८ हजार आठ सय ६७ हेक्टर क्षेत्रफल सिंचाई हुने जमिन रहेकोमा बाह्रै महिना सिंचाई हुने १९ हजार छ सय ५६ हेक्टर क्षेत्रफल मात्रै छ । ३९ हजार दुई सय ११ हेक्टर मौसमी सिंचाई हुने क्षेत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation