नेपाल बन्द : जनजीवन ठप्प, देशभर दर्जनौं नेताकार्यकर्ता पक्राउ

भदाै ७, दाङ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीसहितका चार पार्टीले आज गरेकाे नेपाल बन्दको प्रभाव बिहानैदेखि परेकाे छ । यातायात ,उद्योग ,बजार ,शैक्षिक संस्थाहरु बन्द देखिन्छन् भने सडकमा गाडीमाेटर नचलेर यात्रुहरु पैदल हिडिरहेका छन ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेकाे भन्दै विप्लव नेतृत्वकाे नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटी, आहुती नेतृत्वका वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल शुसिल नेतृत्वको नेकपा माओवादी समाजवादीले नेपाल बन्दको आह्वान गरेका हुन् ।

काठमाडौंमा सवारी र क्याम्पसमा तोडफोड

त्यस्तै बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले काठमाडौँको कोटेश्वरमा एक सार्वजनिक सवारीमा तोडफोड गरेका छन् । कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुङ्गा प्रहार गरि सिसा फुटाएर भागेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।

त्यस्तै, काठमाडौंको डिल्लीबजारस्थित एक क्याम्पसमा तोडफोड भएको छ । बन्दकर्ताले आज बिहान ६ बजे डिल्लीबजारमा रहेको स्वफटारिका कलेजमा तोडफोड गरेको हो । मोटरसाइकमा आएका ४ जनाको समूहले कलेजको सिसामा ढुंगामुढा गरेर भागेको कलेजका कर्मचारीले बताएका छन् ।

‘कसले तोडफोड गरेको भन्ने खुलिसकेको छैन । बन्दकर्ताले नै हो कि अरु कसैले हो भन्ने कुरा अहिलेनै थाहा पाइसकेको छैनौं’, ती कर्मचारीले भने । प्रहरीलाई खबर गरेको कलेज प्रशासनले बताएको छ ।

चितवनमा ६ सवारी साधन तोडफोड

बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन् । चितवन प्रहरीका अनुसार बन्द आह्वान कर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पुर्याएका छन् ।

काभ्रेमा बम भेटियाे

बिपी राजमार्ग अन्तर्गत काभ्रेकाे धुलिखेल नगरपालिका– ९ मा बम फेला परेको छ । बम नेपाली सेनाले डिस्पोज गरे पछि सवारी साधान सुचारु भएका छन । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका– ९ स्थित बिपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको धुलिखेलले डिस्पोज गरेपछि सवारी साधान सुचारु भएको हो ।

खतरा लेखिएको प्रेसर कुकर बम राजमार्गमा देखे पछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

सो खबर पाए लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको बम डिस्पोजल टोलीले झन्डै दुई घन्टा लगाएर उक्त बम डिस्पोज गरेको थियो ।

दर्जनाैं बन्दकर्ता पक्राउ

काठमाडौंमा बन्द गराउँदै हिँडेका १६ जना बन्दकर्ता पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

त्यस्तै दाङकाे घोराही र तुलसीपुरबाट प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । तुलसीपुरको वीरेन्द्र चोकबाट चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनपत्रकार संगठन दाङका जिल्ला अध्यक्ष हेमन्तप्रकाश वली, युवा संघ नेपालका अध्यक्ष सुदर्शन, उपाध्यक्ष दीपेन्दु, मजदुर संगठनका नेता सञ्जय रहेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङका इन्चार्ज शीतल वलीले क्षमता भन्दा बढी ढुङ्गा नराख्न र बन्दको अवज्ञा नगर्न टिपरलाई सम्झाउँदै गर्दा रिपोर्टिङमा रहेका पत्रकार सहित ४ जनालाई पक्राउ गरेको बताए।

यस्तै घोराहीबाट अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक खुमन पौडेलसहित चारजनालाई घोराहीको सर्राबाट प्रहरीले गिरफ्तार गरेको नेकपा दाङले जनाएको छ । जिल्ला सदस्य हिमाल केसी, टार्जन वलीसहित चारजनालाई घोराहीको सर्राबाट प्रहरीले पक्राउ गरेको साे पार्टीले जनाएको छ ।

त्यसैगरी चितवनबाट ५ जना बन्दकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भष्टाचारकोविरुद्ध उनीहरुले बन्द गराएको मोर्चाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation