सुस्ताका गाउँगाउँबाट उठी आएका मानिसहरूले केही वर्षअघिसम्म काठमाडौंमा प्रदर्शन गरिबसेका हुन्थे ‘सुस्ता बचाउ’ को ब्यानर समातेर । भारतीय मिचाहा प्रवृत्तिबाट आजित भएर राज्यको भरोसा खोज्दै आएका ती सुस्तावासी रात बस्थे गौशालातिरको धर्मशालामा । होटल र लजहरूमा या वनकालीतिरका पीठहरूमा । कम्युनिस्ट आन्दोलनका एक जना सिद्धान्त र व्यवहारका ‘स्याम्पल म्यान’ स्वनाम साथीको साथ लागेर म अनेकन् पटक पुगेको थिएँ सुस्तावासीहरूको प्रदर्शनमा । तिनले आयोजना गरेका भित्री भेलाहरूमा । अन्तरक्रिया र संवादहरूमा । त्यहाँ मैले पटकपटक सुस्तावासीमार्फत प्रकट राज्यको निरीहता, भारतीय हेपाहा प्रवृत्ति र त्यसले नागरिकमा थोपरेको गहिरो सुस्केरा अनुभूति गरेको थिएँ ।
यस पटक पनि सुस्ता काठमाडौं उत्रिएको छ, सुस्केराको गहिरो अन्तर्ध्वनि बोकेर । ती बसेका छन्, पशुपति गौशालामा । बर्खे झरीले हिलाम्मे बनाएको जमिनमा पाल टाँगेर । त्यसरी सुस्ताबाट आएर गौशालामा टाँगिएको पालमुनि बसिरहेका सत्तरीभन्दा बढी मानिसले सरकारको खोजीगर्दै माइतीघरमा प्रदर्शन गरेको समाचार र तस्बिरमा मैले ६३ वर्षे रामसुभग मुसहरलाई पनि देखें । उनी सरकार खोज्दै काठमाडौं आएको यो पहिलो पटक होइन । उनलाई मैले यसअघि अनेकन् पटकका प्रदर्शनहरूमा देखेको र एक पटक, सतही नै सही, लामो संवाद गर्ने मौका पाएको थिएँ । देश संघीयतामा गएको दिनमा समेत सरकार खोज्दै देशको मुकाम ताकेर आएका सुस्ताका रामसुभग एक्ला मानिस होइनन् । चमार, मुसहर, मुसलमानजस्ता सीमान्तकृत पददलितहरू, अल्पसंख्यकहरूको लाम छ यो सूचीमा ।
सरकार खोज्न, सरकारको दया र करुणाको आशा गरेर न्याय खोज्न सुस्ताले काठमाडौं ताक्नुपर्ने अवस्था आउनु संघीय व्यवस्थाको योग्यता चियाउने आँखीझ्याल त हुँदै हो, रैथाने न्याय व्यवस्थाको सकल अनुहारको विम्बचित्र पनि हो । स्थानीय प्रतिनिधिदेखि प्रहरी–प्रशासन र न्यायालयसम्म सुदखोरको दाहिना बनिदिँदा गरिब किसानहरू कसरी भूमिहीन सुकुम्बासीमा परिणत भइरहेका छन् भन्ने दृष्टान्त पनि हो ।
सुस्ता गाउँपालिकाका विभिन्न वडामा मिटर ब्याजमा पैसा लगाउने जगदीश बनियाँ, सुनील बनियाँ र उनका दाजुभाइ सम्मिलित ‘बनियाँ ब्रदर्स’ को टोली छ । तिनले गर्जो टार्ने उपाय नभेटेर आपत् भोगिरहेका गरिब किसानहरूलाई चर्को ब्याजमा पैसा लगानी गर्छन् । पैसा दिँदा निरक्षर किसानलाई दोब्बर रकमको तमसुकमा हस्ताक्षर गर्न लगाउने र किसानले तिरेको रकमको भने भर्पाई नदिने बनियाँ ब्रदर्सको प्रवृत्ति देखिन्छ । रकम केही न केही जमिन भएका किसानलाई मात्रै दिने र पैसा दिएको जमानीमा किसानको जग्गा दृष्टिबन्धक राख्ने सुदखोर बनियाँ ब्रदर्सको नियमित कार्यसूची रहेको पाइन्छ ।
एक जना होइन, दुई जना होइन, बनियाँ ब्रदर्सले मिटर ब्याजको पासोले घाँटी कसेर मर्नु न बाँच्नुको दोसाँधमा पु¥याएका किसानहरूको संख्या सयभन्दा बढी छ । सबैसँग उनीहरूले अपनाएको जालसाजीको तरिका एउटै छ । पीडितहरू प्रहरी–प्रशासनदेखि अदालतसम्म पुगेका छन् । तर, निर्जीव कागजलाई प्रमाण मानेर सुदखोरको ठगीलाई अनुमोदन गरिरहेका यी तमाम संयन्त्रका निर्जीव प्रवृत्तिका पात्रहरू जीवित मानिसका एकै खालका रोदन, चिच्याहट, हारगुहार, आक्रोश र विद्रोहलाई नजरअन्दाज गरिरहेका छन् ।
रामेश, मञ्जुलले पञ्चायतकालीन दिनमा रचेको, गाएको गीतमा भनेजस्तै ब्याजको स्याज पनि आधुनिक बुलेट रेलले पनि नभेट्ने गतिमा कुदेको मिटर ब्याजको यो ठगी र अत्याचारबारे उनीहरूका पक्षमा बोलिदिने कोही पाएका छैनन् । केही लाख रकम ऋण दिएबापत दृष्टिबन्धक गरेको कागजलाई प्रमाण मान्ने प्रहरी–प्रशासन, अदालतले दिन दुगुना र रात चौगुनाको गतिमा बढेको ब्याजसहित जोडिएको रकम लगानी गर्ने न स्रोत खोजेका छन् बनियाँ ब्रदर्ससँग न त एक लाख रकम कसरी पाँच या दस वर्षमै पच्चीस लाख या चालीस लाख हुन पुग्यो भनेरै सुदखोरहरूसँग सोधेका छन् । बरु सुदखोरको मतियारका रूपमा उनीहरूको जालसाजी र ठगीलाई कानुनी वैधताको ठप्पा लगाएर सिंगो राज्य संयन्त्रका अवयवहरूलाई ठगीको कानुनी पुर्जामा परिणत गरिदिएका छन् । नभए पनि ठगीको छड्के साक्षीमा विघटन गरिदिएका छन् । किसानको थाप्लोमा ऋणमाथि ऋण थपिएको छ ।
सुदखोरबाट लिएको ऋण तिर्न तिनले भएको जायजेथा बेचेका छन् । कलिला छोराहरूलाई विदेश पठाएका छन् । भएको खुन, पसिना, जमिन सबै निचोरेर सुदखोरको पाउमा चढाउँदा पनि ऋण घट्नुको साटो सुन्दै अत्यास लाग्ने अंकमा बढेको छ । गरिब किसानहरू अत्यासलाग्दो अवस्थामा पुगेका छन् । सत्ता सुदखोरलाई धाप मारेर बसेको छ । किन पनि भने, सुस्ताका पीडितहरूसँग बनियाँ ब्रदर्सले मुखै फोरेर भनेका छन्, प्रधानमन्त्री शेरबहादुर देउवादेखि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसम्म आफूहरूको उठबस छ । तिनले गरिब किसानको पक्षमा राजनीति डो¥याउने लोकतान्त्रिक वैचारिकीको नेतृत्व गरेका बीपी कोइरालाका पुत्र शशांक कोइरालासँगको आफ्नो उठबसको पनि फेहरिस्त निरक्षर या साधारण साक्षर किसानलाई सुनाएर तर्साउने गरेका छन् । उसै पनि तिनले आफूलाई सत्तारूढ कांग्रेससँग जोडेर रैथाने प्रहरी–प्रशासनलाई घुमाएको तिनले देखे भोगेकै छन् ।
अब निर्णायक निर्णयको पहल लिने पालो प्रधानमन्त्री देउवाको । त्यसका लागि उनलाई सुस्ता सुदखोर प्रकरणको अलिकति अन्तर्यको ‘ब्रिफिङ’ उनैले नपढे पनि उनको सचिवालयले पढाओस् यसै लेखमार्फत ।
६० वर्षीया ईश्वरीदेवी चमारको परिवारले जगदीश बनियाँसँग २०६६ फागुन ११ गते एक लाख चार हजार ऋण लिएको थियो । खेतीकिसानी गर्ने ईश्वरीदेवीको गाउँमा ३२ घर चमारको बसोबास छ । सामान्यतया सबै निरक्षर या सामान्य मात्रै साक्षर । उनका छोरा मलेसिया जाने बेला परिवारले उक्त रकम जगदीशसँग जमिन दृष्टिबन्धक राखेर ऋण लिएको थियो । पाँच कक्षा पढेका शम्भु चमार १८ वर्षे उमेरमा त्यसरी ऋण लिएर मलेसिया गएका थिए । उनले मलेसिया गएर पठाएको कमाइसँगै जमिन बेचेर चमार परिवारले पाँच लाख साठी हजार तिरिसक्यो, सुदखोर जगदीशलाई । त्यसरी तिरेको रकमको कुनै भर्पाई पाएको छैन चमार परिवारले । ‘फरक पर्दैन, हामी लेख्छौं’ भनेपछि निरक्षर चमार परिवारले त्यसमाथि भरोसा ग¥यो । तर, जगदीशले अहिले चमार परिवारलाई अझै दस लाख तिर्नुपर्ने हिसाब थमाएका छन् । तेह्र वर्षमा एक लाख चार हजारको पन्ध्र लाख साठी हजार !
७० वर्षे रामकवल चमारले आफ्ना छोरालाई मलेसिया पठाउन २०७१ मा चार कट्ठा आठ धुर जमिन दृष्टिबन्धक राखेर एक लाख पचास हजार रकम लिएका थिए । यसबीच चमारले जमिन बेचेर नौ लाख तिरिसके बनियाँलाई । तिरेको रकमको उनले पनि कुनै भर्पाई पाएका छैनन् । परिणाम एउटै छ, बनियाँले उनलाई अझै एक लाख पचहत्तर हजार तिर्नुपर्ने हिसाब थमाएका छन् ।
४० वर्षीया आशमा खातुनका श्रीमान् र ससुराले आठ लाख लिएका थिए बनियाँ ब्रदर्ससँग, २०७२ मा घर बनाउन । बनियाँको ऋण तिर्न आशमाका पति कतार गए । त्यहाँ कमाएर ल्याएको दस लाख खातुन परिवारले बनियाँलाई ति¥यो । त्यसको कुनै भर्पाई पाएन । बनियाँले च्यापेपछि चौध कट्ठा जग्गा दुई लाखको दरले बेचेर खातुन परिवारले ति¥यो । त्यसको पनि कुनै भर्पाई छैन । अझै पन्ध्र लाख तिर्नुपर्ने हिसाब बनियाँ ब्रदर्सले थमाएको छ खातुन परिवारलाई ।
रामसुभग मुसहरको परिवारले छोरालाई मलेसिया पठाउन बनियाँ ब्रदर्ससँग लिएको ऋण तिर्न जग्गा बेचेर तिरेको रकमको कुनै भर्पाई छैन । अझै दृष्टिबन्धक राखेको जमिन बेचिदिने धम्कीले पुस्तौंदेखि सुस्तामा बसिरहेका रामसुभग अब पुर्ख्यौली थलो आफ्नै पालामा शेष भएर जाने चिन्ताले रोइकराइ र हारगुहार गरिरहेका छन् ।
यसरी रोइकराइ र हारगुहार गर्नेहरूको सूची लामो छ । व्यहोरा एउटै छ । जति रकम तिरे पनि ऋण घटेको छैन, उल्टै घरखेत जाने भयले ती सुदखोरको कुन सनकमा आफूहरू सुकुम्बासी बनिने हो भनेर आलसतालस भएका छन् । अनेकन् तन्त्रको व्यवस्था फालेर लोकतन्त्र हामीले ल्याएका हौं भन्ने मागदाबी बेचेर चुनावमा मत फकाउन किसानका दैला चहार्ने ताक हेरिबसेका सत्ताधारी या पूर्वसत्ताधारीसँग केही थान सुदखोरको लुटतन्त्र हटाएर किसान जोगाउने ल्याकत नदेख्दा किसानले कसको भरोसा गर्ने भन्ने प्रश्न गर्नु स्वाभाविक छ ।
मिटरब्याजी सुदखोरको पासोमा परेका किसानहरू नवलपरासीको सुस्ताका मात्रै छैनन् । मैदानी भेगका भित्री बस्तीहरूमा पनि जताततै सुदखोर छन् । तिनको जाली खेलोमा परेर भएको जायजेथा गुमाएका वाणीविहीन भुइँमानिसहरूको संख्या अकल्पनीय रूपमा ठूलो छ । केही वर्षअघि सर्लाहीका सुदखोरपीडितहरू धर्नाकै लागि काठमाडौं आउन बाध्य थिए । महोत्तरी, सप्तरी, सिरहा, सर्लाही, रौतहट, बारा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँकेका किसानहरू पीडित भएर न्यायको खोजीमा मुखर भइरहेका छन् । तर, तिनका लागि बोलिदिने सत्ता सुदखोरको कुत खाएर निदाएको जस्तो अनुभूति किसानले गरिरहेका छन् । जति रकम तिरे पनि मिटरब्याजीले धनमाथि धन थपेका छन् भने, किसानको थाप्लोमा ऋणमाथि ऋण थपिएको छ । तिनको हिस्साबाट न्यायनिसाफ हराएको छ । सरकारका सारा अवयव तिनको आवश्यकता सम्बोधन गर्न नाकाम भएपछि, गायब भएपछि ती सरकार खोज्न, न्याय खोज्न बर्खे झरीमा केन्द्रीय सरकारको मुकाम सिंहदरबारनजिकै आइपुगेका छन् । अनेकन् आवरणका बिचौलिया, सुदखोरहरूलाई अनेकन् ठेक्का, नियुक्ति, सुशोभनको व्यवस्था मिलाउनमा व्यस्त सरकारलाई माइतीघर मण्डलमा न्याय खोजिबसेका किसानको आर्तनाद सुन्ने फुर्सद कहिले मिल्छ, थाहा छैन । चुनावको घोषणा भएको छ । सके तिनै सुनील बनियाँहरूलाई टिकट थमाएर भोट माग्न पीडित किसानको बस्तीमा पठाउने ताकमा पो छन् कि देउवा ! सत्तालाई भुइँमानिस फगत एक थान भोटरूपी वस्तु हो । किसान निचोरिरहेका सुदखोरहरू ती ‘वस्तु’ खरिद गर्ने स्रोतका व्यवस्थापक ।
तर देउवाजी, सधैं यस्तो चलिरहँदैन । जनताले सहेका होलान् । धेरै समय सहिरहेकाले यसै गरी चलाइदिन्छु भन्ने लागेको पनि होला । तर, जनताले सधैंभरि यो अन्याय सहँदैनन् । तपाईंले पीडितको चिच्याहट सुनेको नसुन्यै गरे पनि ती चिच्याउन छोड्ने छैनन् । साराका सारा सत्ताका अवयवहरू किसानको किलकिले अँठ्याएर किसान सिध्याउन प्रतिबद्ध रहे पनि किसानहरूले सिंगो व्यवस्थाले सारा सिलसिला मिलाएर गरेको लुट र अन्यायविरुद्ध आवाज उरालिसकेका छन् । तिनले निर्णायक प्रश्न सोधेका छन्— सरकार सुदखोरसँग उभिन्छ कि हामीतिर ? हामी न्याय नपाई घर फर्कन्नौं ।
यसअघि पनि धर्नामा बसेका थिए, किसानहरू । गृह मन्त्रालयका प्रतिनिधिले उनीहरूसँग सम्झौता गरेर धर्ना छुटाए । किसानले सुदखोरबाट छुटकारा भने पाएनन् । सरकारले नै पनि झुक्याइसकेको छ । तर, सधैंभरि सरकारले पनि झुक्याइराख्न सम्भव छैन ।
पहिले सुस्ताका मानिसहरू देशको जमिनमा छिमेकी देशबाट भएको अन्यायउपर न्यायको याचना गर्न देश खोज्दै, सरकार खोज्दै काठमाडौं आएका हुन्थे । यसपटक आएका छन् उनीहरू आफैंमाथि भएको मिटरब्याजी सुदखोरको अत्यासलाग्दो ठगीलाई स्थानीय प्रहरी–प्रशासन र न्यायालयले गरेको अनुमोदनलाई न्यायपूर्वक हेरिदिने सरकार खोज्न । सरकारमा पदासीनहरूले सामाजिक न्याय, विवेक र लोकतन्त्रको आखिरी दियोमा अलिकति भए पनि तेल थपिदिन्छन् कि सुस्तावासीको भरोसामाथि निरासाको पेट्रोल छर्कन्छन् भन्ने निर्णायक फैसला
लिएर मात्रै घर फर्कने उद्घोष गरेर सुस्तावासीले माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना जारी राखेका छन् ।
सरकारले आफूसँग विवेकको दियोका लागि तेल निख्रेको फैसला दिनासाथ सुदखोरको संरक्षणमा बसेको सत्ता संरचनाविरुद्ध सुस्ताका जस्तै पीडितहरूले एकताबद्ध भएर अकर्मण्य सत्ता व्यवस्थाविरुद्ध बगावतको राँको सल्काएको घोषणा गरे भने देउवाजी या ओली, दाहाल, नेपालजीहरू, तपाईंहरूको सत्ताले के गर्छ ? तपाईंहरू बनियाँ ब्रदर्सलाई बचाउनका लागि ‘हामी यहाँ छौं’ भन्दै ‘प्लेकार्ड’ बोकेर सडकमा आउनुहुन्छ ? किसानलाई पर्दा त तपाईंहरू देखेको नदेख्यै गरिरहनुभएको छ । आफ्ना हितैषीहरूलाई, चन्दादाताहरूलाई र परिणामतः आफैंलाई परेपछि त आउनुहोला नि हैन हामी यहाँ छौं भन्दै कोट–प्यान्ट लगाएर सडकमा पलेटी कस्न ?
अन्यथा, धन हुनेलाई सधैंभरि चैन मात्रै भइरहने र निमुखा किसानलाई मात्रै ऐन लाग्ने यो सत्ता व्यवस्थालाई शिरमा बोकेर तपाईंहरूको लुटतन्त्रको चिरायुको भजन गाउन भुइँमानिसहरू अभिशप्त छैनन् । मिटरब्याजी सुदखोरहरूको सम्पत्तिको खोजबिन, समयक्रममा तिनले बढाएको सम्पत्तिको स्रोतको खोजी, त्यसउपर तिनीहरूले तिरेको करको मागजस्ता साधारण बाटो अपनाउनासाथ सुदखोरहरूको ठगीको फेहरिस्त आउन थाल्छ ।
यति सामान्य काम पनि नगरेर सत्ताले आफूहरू सुदखोरको संरक्षक भएको (हो–होइन बेग्लै कुरा हो) सन्देश किन दिइरहेको छ न्यायापेक्षी किसानलाई ? किन किसानलाई आवश्यक परेका बेला हामी तिमीहरूसँगै छौं भनेर ढाडस दिन अग्रसर भइरहेको छैन ? किनभने यो व्यवस्था र व्यवस्थाका प्रतिनिधि सत्तासीनहरू नै सुदखोरहरूको हितरक्षाका लागि प्रतिबद्ध छन्, गरिब किसानहरूको आँसुमा आगो लगाएरै भए पनि । किसानहरूले जति छिटो यो यथार्थ मनन गर्छन्, उति छिटो तिनले आफ्नो संघर्षको उपयुक्त दिशा तय गर्न सक्नेछन् ।