
जिल्ला प्रहरी कार्यालयको हिरासतमा सँगै हिरासत बसेर छुटेका र हिरासतमा रहेका अन्य व्यक्तिहरुलाई छुुटाउने बहानामा ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
आफु प्रहरीको मुद्दा अधिकारी भएकोले पक्राउ परेकालाई छुटाउइदिने भन्दै उनीहरूका अभिभावकबाट रकम असुल्ने तुलसीपुर उपमहानगरपालिका १४ का २० वर्षीय प्रतिक बस्नेतलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय दाङले आइतवार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाईदिने भन्दै उनीहरूका अभिभावकसँग ५० हजार रकम घुस लिएको प्रमाण भेटिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।पीडितहरुको उजुरी र वयानका आधारमा जिल्ला प्रहरी कार्यालय प्युठानको सहयोगमा उनलाई प्यूठानको बिजुवारबाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सार्वजनिक अपराधमा २३ दिनसम्म थुनामा रहेका बस्नेतले थुनुवामा रहदा चिनजान भएका साथीहरूसँग उनका अभिभावकहरूको नम्बर लिएको र अभिभावकलाई फोन गरेर म जिप्रका मुद्धा फाँटको प्रहरी हुँ, नगद रकम दिएपछि छुटाईदिने भन्दै ५० हजार लिएको डीएसपी गौतमले बताए । पक्राउ परेका बस्नेतलाई म्याद थप गरि थप अनुसन्धान अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।