शुक्रबार र शनिबार अत्याधिक वर्षाको संभावना, सावधानी अपनाउन विज्ञहरुको सुझाव

पछिल्लो एक सातादेखि सक्रिय बनेको मनसुनी वर्षा थप सक्रिय बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनीदेखि पश्चिम क्षेत्रका प्रदेशमा शुक्रबार र शनिबार भीषण वर्षाको सम्भावना छ ।

‘मनसुन सक्रिय नै थियो । तर, भारतको उत्तर प्रदेश आसपासमा न्यून चापीय क्षेत्र पनि बनेपछि त्यसको असर पश्चिम नेपालमा परेको हो,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले भने, ‘वर्षा त देशभर नै हुने देखिन्छ । तर, आज र भोलि पश्चिमी तराईमा अझ बढी वर्षाको सम्भावना छ ।’ न्युन चापीय क्षेत्र उत्तर प्रदेश आसपास रहेकाले सुदूरपश्चिमका तराई क्षेत्रमा अझ बढी वर्षाको सम्भावना रहेको उनले बताए ।

लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका क्षेत्रहरुमा पर्नसक्ने भारी वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकोले सावधानी अपनाउन विज्ञहरुले सुझाएका छन् ।

 

मनसुनको न्यून चापीय रेखा पनि पश्चिमी (नेपालको) भूभागमा सरदर स्थानमा छ । आज देशभर वर्षाको सम्भावना रहे पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी (भीषण) देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने ठानिएको छ ।

शनिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा हुनसक्ने ठानिएको छ ।  सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबारबाट भने मौसममा केही सुधार हुने सम्भावना रहेको मौसमविद् भट्टराईले बताए । ‘वर्षा नै नहुने होइन,’ उनले भने । आइतबार देशका केही स्थानमा वर्षाको आकलन गरिएको छ ।  सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation