फुटबल कुम्भमेला आजबाट, आयोजक कतार र इक्वेडरबिच हुनेछ रोचक भिडन्त

दिन, हप्ता, महिना र वर्षको पछि लाग्दै फिफा विश्वकप २०२२ फुटबल प्रतियोगिताको दौड पूरा भएको छ । आइतबार कतार विश्वकप सुरु हुने दिन हो । आयोजक कतार र इक्वेडरको खेलसँगै चार वर्षको प्रतीक्षापछि विश्वकप आधिकारिक रूपमा सुरु हुनेछ । पहिलोपटक विश्वकप आयोजना गर्न पाएको कतारले इक्वेडरलाई दोहो अल खारस्थित अल बेत मैदानमा आतिथ्य गर्नेछ । नेपाली समयअनुसार खेल ९ः४५ बजे राति हुनेछ । इटालियन रेफ्री डायिनयल ओर्सातो पहिलो खेलका निर्णायक हुनेछन् । ४६ वर्षीय अनुभवी रेफ्री ओर्सातोलाई सन् २०१० देखि विश्वकप खेलाएको अनुभव छ ।

सन् २०१० मा फिफाको कंग्रेसले कतारलाई पहिलोपटक विश्वकप आयोजक राष्ट्र घोषणासँगै प्रशिक्षक फेलिक्स सान्चेजले निकै मिहिनेत गरेका छन् । बार्सिलोनामा जन्मिएका ४६ वर्षीय सान्चेजले युवा टोलीलाई इक्वेडरविरुद्ध मैदानमा उतार्नेछन् । विश्वकप इतिहासमै पहिलोपटक प्रतियोगिता खेल्दा कतारले आफूलाई गौरवान्वित सम्झनेछ । विश्वकप इतिहासमा दक्षिण अफ्रिकाबाहेक आयोजक राष्ट्र नकआउट चरणमा प्रवेश गरेको छ । कतार पनि त्यही इतिहासलाई निरन्तरता दिने प्रयासमा हुनेछ । कतारले इक्वेडरसँग खेल्नुअघि सान्चेजको प्रशिक्षणमा पाँच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो ।

मैत्रीपूर्ण खेलमा कतारले शतप्रतिशत नतिजा निकाली अल्बानिया, निकारागुआ, ग्वाटेमाला, होन्डुरस र पानामामाथि सानदार जित निकालेको थियो । अनुभवी हसन अल हैदुसको कप्तानीमा कतार विश्वकपको पहिलो खेलमै जित निकाल्ने योजनामा छ । अन्तर्राष्ट्रिय खेलमा एक सय ६५ क्याप जितिसकेका हैदुसलाई अग्रपंक्तिमा अल्मोइज अलीले साथ दिनेछन् । प्रशिक्षक फेलिक्स सान्चेजले इक्वेडरविरुद्ध टोलीलाई ५–४–१ को रणनीतिमा मैदान उतार्न सक्छन् ।

केही हप्ताअघिसम्म इक्वेडरले विश्वकप खेल्ने वा नखेल्ने पक्का थिएन । बायरन कास्टिलोको ‘नागरिकता’लाई लिएर विवाद उत्पन्न भएको थियो । फिफा र कोर्ट अफ आर्विट्रेसन फर स्पोर्टस् (कास)ले उनलाई अन्तिम समय ३२ टोलीमा समावेश हुन दिएन । त्यसअघि उनी २६ सदस्यीय टोलीमा थिए । कोलम्बियाको नागरिक भएको आरोपपछि उनीविरुद्ध मुद्दा दायर भएको थियो । अन्तिम समय बायरनले कतार विश्वकप गुमाउने भएका छन् । दक्षिण अमेरिकी टोली इक्वेडरलाई ब्राइटनका पर्भिस एस्टुपिनान र मोइसेस काइसेडोको साथ छ ।
वेस्टहमका पूर्वस्ट्राइकर इनर भ्यालेन्सियाले अग्रपंक्तिको नेतृत्व गर्नेछन् । प्रशिक्षक गुस्ताभो अल्फारोले आफ्नो रणनीति ४–३–३ बनाएका छन् । अल्फारो अर्जेन्टिनाका पूर्वफुटबलर हुन् । उनको प्रशिक्षणमा इक्वेडरले पछिल्लो ६ मध्ये ४ खेल बराबर नतिजा निकालेको छ । इक्वेडर दुई खेलमा पराजित भएको छ । इक्वेडरले विश्वकपमा १० खेल खेलेको छ । जसमा चार खेलमा जित निकाल्दा पाँच खेलमा हार बेहोरेको छ । सन् २०१४ मा इक्वेडरले फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको थियो ।

दुई टोलीबीच हालसम्म तीनपटक प्रतिस्पर्धा भएको छ । दुवै टोलीले एक–एक खेलमा जित निकालेका छन् । एक खेल बराबरीमा सकिएको थियो । सन् २०१८ अक्टोबरमा भएको अन्तिम खेलमा कतारले इक्वेडरलाई रोमाञ्चक खेलमा ४–३ ले हराएको थियो ।

यस्तो छ समूह ‘ए’ 
कतार र इक्वेडरको खेलसँगै समूह ‘ए’का खेलहरू सुरु हुनेछन् । खेलमा जित निकाल्दै दुवै टोली राउन्ड १६ मा प्रवेश बलियो बनाउन चाहन्छन् । आजको खेलपछि दुवै टोलीले समूह ‘ए’का बलिया टोली नेदरल्यान्ड्स र सेनेगलको सामना गर्नेछन् । कतार र इक्वेडरभन्दा नेदरल्यान्ड्स र सेनेगल बलिया टोली हुन् । पहिलो खेलमा कतारलाई पक्कै घरेलु मैदान र मौसमले साथ दिनेछ । यस समूहबाट नेदरल्यान्ड्स र सेनेगललाई अन्तिम १६ को रूपमा हेरिएको छ ।

उद्घाटन खेलअघि नै फिक्सिङ ?
इतिहासकै महँगो कतार विश्वकपको उद्घाटन खेलअघि नै सनसनी समाचार बाहिर आएको छ । २२औँ विश्वकपको उद्घाटन खेलमा आयोजक कतारले दक्षिण अमेरिकन टोली इक्वेडरको सामना गर्दै छ । यो खेलमा कतारले इक्वेडरलाई पराजित हुन रकम दिएको अन्तर्राष्ट्रिय मिडियाहरूले आरोप लगाएका छन् । बेलायतको मध्यपूर्वी क्षेत्र इस्ट सेन्टर फर स्टडिज एन्ड रिसर्चले पहिलो खेल नै फिक्सिङ हुन सक्ने दाबी गरेको छ । सो रिसर्चका निर्देशक अमजद ताहाले कतारी खेलाडीले इक्वेडरलाई ठूलै रकमको प्रस्ताव पठाएका छन् ।

उनका अनुसार इक्वेडरका आठ खेलाडीलाई ७.४ मिलियन डलर प्रस्ताव आएको छ । ‘उद्घाटन खेलमा कतार १–० ले विजयी हुन लाखौँ मिलियन डलरको प्रस्ताव छ,’ रिचर्सका निर्देशक अमजदले भने, ‘पहिलो हाफ गोलरहित बराबरी हुनेछ, दोस्रो हाफमा कतारले १–० को जित निकाल्नेछ ।’

फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा सम्भावित फिक्सिङ रोक्न अमेरिकाको एफबिआईको सहयोग लिएको छ । फिफाकै पदाधिकारीका अनुसार एक महिनासम्म चल्ने विश्वकप फुटबल प्रतियोगितामा संसारभरि नै सय बिलियन डलरको चलखेल हुन सक्छ । फिफाले खेल मिलेमतो हुन नदिन पहिलोपटक टास्क फोर्स समिति गठन गरेको छ । यस कमिटीले खेलका दौरान हुने बेटिङको मोनिटरिङ गर्नेछ । फिफाले समितिमा अन्तर्राष्ट्रिय फर्म स्पोर्टरडार, इन्टरपोल, अन्तर्राष्ट्रिय बेटिङ इन्टिगिटी एसोसिएसन तथा एफबिआईलाई सदस्यका रूपमा समावेश गरेको छ । यो कमिटीले विश्वकपको ६४ खेलकै निरीक्षण गर्नेछ । एफबिआईले विश्वकपमा फिक्सिङ गर्न सक्ने सन्दिग्धहरूलाई पक्राउ गरेको छ ।

प्लेयर्स टु वाच
हसन अल हैदुस (कतार)

दोहामा जन्मिएका ३१ वर्षीय हसन अल हैदुस अनुभवी स्ट्राइकर हुन् । उनले सन् २००८ बाट राष्ट्रिय टोलीमा नियमित खेलेका छन् । हसनले एक सय ६९ खेलमा ३६ गोल गरेका छन् । देशका लागि सर्वाधिक खेल खेल्ने हसन पहिलो खेलाडी हुन् । हसनले कतारको यू–२० र यू–२३ टोलीबाट समेत खेलिसकेका छन् । हाल उनी कतारी क्लब अल साद स्पोर्टस् क्लबमा आबद्ध छन् । विश्वकपको उद्घाटन खेलमा प्रशिक्षक फेलिक्स सान्चेजले हसनबाट अग्रपंक्तिमा ठूलो आस गरेका छन् ।

इनर भ्यालेन्सिया (इक्वेडर)
इक्वेडरका इनर भ्यालेन्सिया ३३ वर्षका भए । स्ट्राइकर र विंगर दुवै पोजिसनमा सहजै खेल्न सक्ने पाँच फिट १० इन्चका इनरसँग इक्वेडरले ठूलो आशा गरेको छ । यी फरवार्ड टर्किस क्लब फेनरवाचमा रहेका छन् । इंग्लिस प्रिमियर क्लब वेस्टहममा २०१४ देखि २०१७ सम्म खेलेपछि उनी टर्किस क्लब पुगेका हुन् । उनले इक्वेडरबाट ७४ खेल खेल्दा सर्वाधिक ३५ गोल गरेका छन् । सन् २०१२ मा डेब्यु गरेका उनले २०१४ को विश्वकप, कोपा अमेरिका (२०१५, २०१६, २०१९ र २०२१) खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation