शिक्षालाई नैतिकतासँगै कला, संस्कृति र प्रविधिमा जोड्नुपर्छः पौडेल

देशको शैक्षिक अवस्था कसरी गुज्रिरहेको छ, नेपालको शैक्षिक उपब्धि किन गन्तव्यमा पुग्न सकेको छैन ?

शिक्षामा समानता छैन । दिगो शिक्षा नीति राज्यसँग पनि छैन । शिक्षा किन र केका लागि भन्नेमा हाम्रो प्रष्ट सोचाइ बनेको छैन । जागिरका निम्ति शिक्षा भन्ने मानसिकताबाट सम्बन्धित पक्ष उम्कन सकेको छैन । शिक्षामा चरम राजनीति छ । शिक्षकहरु पार्टीको राजनीतिबाट माथि उठ्न खोज्दैनन् । राज्यसँग त्यसको ठोस तरिकाले व्यवस्थापन गर्ने सामथ्र्य तथा सोच दुबै देखिदैन । निजि क्षेत्रले शिक्षालाई केही हदसम्म उठाउने प्रयास गरेको छ । तर त्यहाँपनि विद्यार्थी राजनितिले समयसमयमा संगठनात्मक गतिविधि सञ्चालन गर्न खोज्छ । जसको कारण शिक्षा नै अस्पष्ट छ । यही कारण नेपालको शैक्षिक उपलब्धि गन्तव्यमा पुग्न सकेको छैन ।

शैक्षिक नीतिको कार्यान्वयनमा एकरुपता नदेखिने किन होला, राज्यको विरोधाभाष शिक्षा प्रणालीले गर्दा नेपालको शिक्षाक्षेत्र व्यापारीको चङगुलमा फसेको छ, यसलाई कसरी मुक्त गर्न सकिएला ?

नेपालमा शिक्षा निति दुइ खालको छैन । कार्यान्वयनको पक्षमा भिन्न भिन्न स्वरुप देखा परेको मात्र हो । सामुदायिक र नीजि विद्यालयहरुले नेपालको शिक्षा नीतिलाई अगाडि बढाउने काम गरिरहेका छन् । यस अर्थमा हामीले शिक्षा नीति भिन्न छ भनेका हौ । सामुदायिक तथा निजि क्षेत्रले राज्यको परीक्षा नीति अनुरुप नै परीक्षा दिन्छन् । सामुदायिकको नतिजा सोचे अनुसार देखिदैन । राज्यको लगानीमै शिक्षामा ठुलो छ तर सानो लगानी मै नीजि विद्यालयहरुले राम्रो नतिजा बनाएका छन् । यसबाट राज्यले सामुदायिक विद्यालयको पठनपाठनमा सुधार ल्याउन के गर्नुपर्छ भन्ने कुरा खोज्नु पर्छ । सबै नागरिकलाई अनिवार्य शिक्षा राज्यको दायित्व हो । निजी विद्यालय राज्यको शिक्षा नीतिलाई सही तरिकाले कार्यान्वयन गर्नमा सहयोगी मात्र हुन् । सहयोगीलाई राज्यले सहयोगीकै रुपमा हेर्नु पर्छ । समस्या मान्नु हुन्न ।

विद्यार्थीले विद्यालय छोड्ने दर बढिरहेको छ, सबै तह तप्कामा गहन प्रकारको पठन संस्कृति लोप भइरहेको छ यसलाई कम गरि विद्यार्थीको समग्र नैतिक अनुशासन वृद्धि विकासको लागि केहि पहल गर्नुभएको छ कि ?

देशमा बढिरहेको शैक्षिक बरोजगारका कारण विद्यार्थीहरुले विद्यालय छोड्नेदर बढिरहेको हो । शिक्षालाई संस्कृति, कला तथा प्रविधिसंग जोड्नु पर्छ । नैतिकताका कुरा, राष्ट्रियतालाई वैज्ञानिक तरिकाबाट शिक्षाको माध्यमबाट विद्यार्थी समक्ष सम्प्रेषण गर्न सकियो भने यो समस्या आफै हराएर जान्छ । प्रविधिको आवश्यक तथा उचित प्रयोगमा ध्यानदिनु पर्छ । परीक्षा प्रणाली कसिलो हुन जरुरी छ । यसका लागि हामीले परीक्षा प्रणालीलाई नै बलियो बनाउने अभ्यास गरिरहेको छौँ ।

निजी शिक्षण संस्थामा चर्को शुल्क तिरेर पठनपाठन गरेका विद्यार्थीमा पनि अनुशासनहिनता भएको अभिभावकको गुनासो चौतर्फि छ, तपाइँहरुले नैतिक अनुशासनयुक्त र देशभक्ति शिक्षण सिकाइबारे केहि प्रयास गर्नुभएको छैन ?

महंगो शुल्क तिरेको भरमा आफ्ना बच्चा बच्चीमा नैतिकता खोज्नु अभिभावकको बुझाइमा समस्या हो । नैतिकता र शिक्षा फरक कुरा हुन् । नैतिकवान् बन्नलाई पढ्नै पर्छ भन्ने छैन । एउटा विद्यार्थी नैतिकवान बन्नका लागि घर परिवार, समाज तथा विद्यालयको वातावरणले महत्वपूर्ण भूमिका खेल्छ । तसर्थ यसमा विद्यालयको मात्र भूमिका हुन्छ भनेर अरु पक्ष चुप लागेर बसन मिल्दैन ।

श्रम उत्पादनसँग प्रत्येक्ष जोडिएको व्यवहारिक शिक्षाको महत्व खड्किएजस्तो लाग्दैन, के नेपालमा त्यो प्रकारको शिक्षा पद्धति ल्याउन सम्भव होला ?

तपाइँको यो प्रश्न निकै जोडदार छ । अब सहि तरिकाबाट देशको प्रगति सोच्ने हो भने शिक्षालाई श्रम र उत्पादनसँग जोड्नै पर्छ । अहिलेको हाम्रो शिक्षाले विद्यार्थीलाई श्रम गर्नुपर्छ भनेर सैद्धान्तिक तथा व्यवहारिक दुवै रुपमा सिकाउन सकेको छैन । यसबाट हामी निकै पछाडि परेका छौ । शिक्षामा देश अनुरुप राष्ट्रिय नीति तय गर्नुपर्छ । माटो अनुसारको शिक्षा नै बलियो शिक्षा हो । दातृ निकायको प्रभाव हाम्रो शिक्षा नीतिमा देखिनु हुँदैन ।

निजी शिक्षण संस्थाहरुमा लिने गरेको चर्को शुल्क तथा मनपरि विरुद्ध लामो खालखण्डदेखि चलेका संघर्षहरुले शुल्क लगायतका विषयमा एकरुपता ल्याउन सकेन, नेपालको शैक्षिक अवस्था रुपान्तरणको दिशामा प्याब्सन तथा एनप्पाब्सन किन मौन छ ?

शिक्षा राज्यको दायित्व हो । शिक्षा नीतिदेखि कार्यान्वय सबैमा साकारको प्रभाव देखिनु पर्छ । राज्यको नीतिनियम निजी क्षेत्रले मान्नै पर्छ । शुल्कको मापदण्ड राज्यले तोक्ने हो । लागु गर्ने पनि राज्यले हो । यसका लागि राज्यले निजी क्षेत्रसंग सहकार्य गर्नु पर्छ । सहकार्य गरेर तय गरिएका नीति नियम नमान्नेलाई कारवाही गर्ने अधिकार त राज्यमा रहन्छ नै । यसमा अन्य संघर्षका कुराहरु उठ्दै उठ्दैन । राज्य मौन बसिदिदा अनावश्यक रुपमा झमेला खडा हुन्छन् ।

. पेशागत ज्ञानको अनुभवसंगै शैक्षिक धरोहर सिद्धार्थ एकेडेमीको समग्र शैक्षिक पृष्ठभूमि सहित नमुना विद्यालय निर्माणको प्रयासबारे प्रकाश पारिदिनुस् न

हामीले दाङ जिल्लामै सबैभन्दा पुरानो मेरीगोल्ड आवासीय विद्यालयलाई वि.स. २०६१ आषाढ ६ गते नयाँ व्यवस्थापनका साथमा सिद्धार्थ एकेडेमीका रुपमा सञ्चालन गरेका हौँ । विभिन्न शैक्षिक संस्थासँग आवद्ध लामो समयसम्म शिक्षण पेसामा रही शैक्षिक उन्नयनमा योगदान पु¥याएका व्यक्तिहरुको सामूहिक उपस्थितिमा यो विद्यालय यतिखेर घोराही उपमहानगरपालिका–१५, रत्तनपुरमा सञ्चालित छ । शिक्षाको क्षेत्रमा यस विद्यालयको जिल्लामा विशिष्ट योगदान छ । हामी ०६५ मा उच्च शिक्षा अन्तरगतका कक्षा ११ मा व्यवस्थापन र शिक्षा विषय सञ्चालन ग¥यौ भने ०७० देखि विज्ञान विषयमा पनि कक्षा सञ्चालन गरेका छौ । अनुसाशित र चरित्रवान् विद्यार्थी सृजना गर्नु हाम्रो मुख्य लक्ष्य हो । विद्यार्थीले पढाइलाई आफ्नो रुचि बनाओस् भन्नका लागि हामी हरवखत कार्यरत छौ । आधुनिक विज्ञान प्रयोगशाला, उचित संख्यामा कम्प्युटर सहित कम्प्युटर प्रयोगशाला, पुस्तकालय, स्वच्छ खानेपानी खेल मैदान, उपयुक्त कक्षा कोठा, सुविधा सम्पन्न यातायात आदि विद्यालयका विशेषता हुन् । अभिभावकको चाहना अनुरुप विद्यार्थी पठनपाठन सहित चरित्र निर्माणमा आगामी दिनहरुमा पनि विद्यालयले सचेतताका साथ आफ्ना क्रियाकलाप अगाडि बढाउदै लैजाने छ ।

शिक्षा जस्तो संवेदनशील विषयलाई झन्पछि झन् व्यापारिक केन्द्रको रुपमा लैजानु मुलुकको समग्र विकासको लागि लज्जास्प्रद र खेदजनक होइन र ? शिक्षालाई अंग्रेजी भाषाको नाममा कहिलेसम्म मुनाफाको केन्द्र बनाउने हो ?

शिक्षा, स्वास्थ्य, पत्रकारिता, राजनीति सबै संवेदनशील विषयहरु हुन् । विषयको गहनतालाई बुझेर राज्यले व्यवस्थित गर्नुपर्छ । अनावश्यक रुपमा विषयलाई गम्भीर बनाइनु हुँदैन । राज्यको अभिभावकीय भूभिका सबै क्षेत्रमा उत्तिकै हुनुपर्छ । कही कतै कुनै गतल देखिएको छ भने त्यसलाई सुधार्नु राज्यको कर्तव्य हो । यसमा कुनै विवाद छैन । शिक्षा कुनै पनि नाममा मुनाफाको केन्द्र बन्नुहुन्न । त्यसमा राज्य स्पष्ट हुनुपर्छ । तर निजी विद्यालयलाई हेर्ने मानसिकता अब बदल्नुपर्छ । यसले पु¥याएको योगदानको प्रशंसा पनि गर्नुपर्छ । अग्रेजी भाषा वा कुनैपनि बाहानामा गरिने शैक्षिक व्यापारिकरणको समुल अन्त्य हुनुपर्छ भन्ने मेरो प्रमुख धारणा हो

शैक्षिक विकृति विसंगतिलाई कम गर्ने कुनै दिर्घकालिन योजनाहरु अगाडि सार्नुभएको छ कि ?

शिक्षा विकृति तथा विसंगतिमुक्त हुनुपर्छ । शिक्षालयहरु विद्याका मन्दिर हुन् । त्यसप्रति सबैको सम्मान हुनुपर्छ । शिक्षा पाउने अधिकारबाट बालबालिकाहरु बाँञ्चित हुनुहुदैन । राज्यको शिक्षालयप्रति न्यायपूर्ण दृष्टि हुनुपर्छ । शिक्षक तथा विद्यार्थीमा राजनीतिको प्रभाव पर्नुहुँदैन । विद्यालयलाई पूर्णरुपमा शान्ति क्षेत्र घोषणा गरिनुपर्छ । विद्यार्थीलाई विद्यालयमा पारिवारिक वातावरण सृजना गरी उनीहरुको मनोविज्ञान बुझेर पढाउन तथा परामर्श गर्न सकियो भने धरै हदसम्म शैक्षिक विकृति विसंगतिलाई कम गर्न सकिन्छ । यसबाहेक राज्यको दीर्घकालीन सकारात्मक शिक्षा नीतिको पानि यसमा प्रभाव पार्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation