प्रचण्डको चीनलाई अपिल ‘अब ठुला परियोजनामा लगानी गर्नुस्’

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ रेल निर्माण प्रक्रिया चाँडो सम्पन्न गर्न चीन सरकारसमक्ष अपिल गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटनपछि प्रधानमन्त्री दाहालले चीनको लगानीका ठूला परियोजनाहरुले नेपाली युवाहरुको रोजगारी र समृद्धिको आकांक्षा पूरा हुने बताए ।

‘अहिले चीनले नाकाहरु खोल्ने र रेलवे निर्माणका लागि सर्वे प्रक्रिया अघि बढाएको छ । अन्य ठूला परियोजना अघि बढेको छ,’ दाहालले भने, ‘म चीन सरकारसँग अपिल गर्न चाहान्छु यसलाई गति दिएर सम्पन्न गरेर नेपाली युवाहरुका लागि रोजगारी सिर्जना गर्ने र नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्ने सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्न चाहान्छु ।’

प्रधानमन्त्री दाहालले कार्यक्रममा अब पोखरा धेरै राष्ट्रसँग सिधै सम्पर्क गर्ने केन्द्र बनेको पनि बताए । यसले कास्की, गण्डकी प्रदेश र नेपालकै अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने सुनिश्चित रहेको उनको भनाइ थियो ।

दाहालले आफ्नो चीन भ्रमणको स्मरण गर्दै चिनियाँ नेतृत्वसँग पहिलो पटक चीन जाँदा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग र महासचिव तथा राष्ट्रपति सी चिनफिङसँग पनि पोखरा विमानास्थल निर्माणबारे चर्चा गरेको बताए ।

पोखरा विमानस्थल चिनियाँ ऋणमा निर्माण भएको परियोजना हो । योसहित नेपालमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल भएका छन् ।

 

७५ प्रतिशत ऋण पनि अनुदानमा परिणत गरिदिनुस्ः मुुख्यमन्त्री

 

 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई यहाँ आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब रु. २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गरे। ‘म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछु,’ उनले भने।

विमानस्थल निर्माणका लागि कुल लगानी करिब रु. २२ अर्बमध्ये  २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत ऋण लिइएको थियो। मुख्यमन्त्री पोखरेलले ४७ वर्षदेखिको पोखरावासीको सपना बल्ल साकार भएको बताए। सो अवसरमा उनले सम्पूर्ण पोखरेली, परिकल्पनाकार शंकरराज पाठक तथा विमानस्थल निर्माणमा खट्ने सबैलाई हार्दिक धन्यवादसमेत दिए।

विमानस्थलबाट पहिलो चरणमा दक्षिण एसिया र दोस्रो चरणमा पश्चिमी देशमा हवाई उडान हुनुपर्ने उहाँको भनाइ थियो।

विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकको संख्या उल्लेख्य मात्रामा बढ्ने मुख्यमन्त्री पोखरेलले विश्वास व्यक्त गरे। ‘पोखरामा अब कम्तीमा दुई साता बस्ने र दुई हजारभन्दा बढी डलर खर्च गर्ने पर्यटक ल्याउन सक्नुपर्छ,’ उनले भने।

मुख्यमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय सभाहल र क्रिकेट मैदान पनि पोखराका लागि आवश्यक भएको उल्लेख गर्दै यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आवश्यक बजेट विनियोजनका लागि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation