बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले बताए ।
घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
बाजुराकै हिमाली गाउँपालिकाको बिच्छ्याँ केन्द्रबिन्दु बनाएर गएको ५.९ रेक्टरको भूकम्पले जिल्लाभर थुप्रै घरहरुमा आंशिक र पूर्ण क्षति भएको खबर आएको र विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाजुरामा केन्द्रबिन्दु बनाएर ५. ९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।
भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन । यद्यपि बाजुरा, बझाङ लगायत जिल्लामा भूकम्पको धक्काबाट कतिपय भौतिक संरचना भत्किएका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।
भूकम्पको धक्का सुदूरपश्चिमका अधिकांश जिल्लासँगै छिमेकी भारतका कतिपय स्थानमा पनि महसुस गरिएको बताइएको छ ।
यसअघि कात्तिक तेस्रो साता सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । केही मानिस घाइते भएका थिए । त्यसबेला सयौं परकम्प पनि गएका थिए ।