![](https://pranmancha.com/wp-content/uploads/2023/01/Picsart_23-01-25_21-32-45-640.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2023/01/Picsart_23-01-25_21-32-45-640.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2023/01/Picsart_23-01-25_21-32-45-640.jpg)
धनकुटा/ नेकपा (बहुमत) ले बुधबार यातायात व्यवस्था कार्यालयका प्रमुख बाबुराम लुइँटेललाई कालोमोसो लगाएर कारबाही गरेको छ ।
पार्टीले विज्ञप्ति जारी गरी ‘दलाल परिचालन गरी कार्यालयबाट प्रदान गरिने सेवामा चरम घूस लिएको भनी सेवाग्राही जनताको गुनासो आएपछि धनकुटा जिल्ला यातायात व्यवस्था कार्यालयका प्रमुख बाबुराम लुइँटेललाई साङ्केतिक कारबाही गरेको’ जनाएको छ ।
पार्टी जिल्ला संयोजक मोहनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) आमनेपाली श्रमजीवी वर्ग तथा उत्पीडित वर्गको न्यायका लागि र मुक्तिका लागि निरन्तर सङ्घर्षरत छ ।
सङ्घर्षकै सिलसिलामा धनकुटा जिल्ला यातायात व्यवस्था कार्यालयका प्रमुख बाबुराम लुइँटेलले आफूमातहतका दलाल परिचालन गरी कार्यालयबाट प्रदान गरिने सेवामा चरम घूस लिएको भनी सेवाग्राही जनताको गुनासो जिल्ला सङ्गठन समितिअन्तर्गत न्यायिक समितिमा निजविरुद्ध जाहेरी आएको हुँदा व्यापक छानबिन तथा अनुसन्धान गर्दा यातायात व्यवस्था कार्यालय प्रमुख बाबुराम लुइँटेलले कार्यालयका कर्मचारी र बाहिरका केही व्यक्ति प्रयोग गरी सरकारी नीतिअनुसार प्रक्रिया पूरा गरेर कार्यालयबाट उपलब्ध गराइने ड्राइभिङ लाइसेन्स प्रतिगोटा बाह्र हजारदेखि अठार हजारसम्म आमसेवाग्राहीलाई बाध्य बनाई घूस लिँदै आएको प्रमाणित भएको हुँदा निज घूसखोरी बाबुराम लुइँटेललाई चेतावनीसहित साङ्केतिक कारबाही गरिएको बेहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘धनकुटामा यस्ताखाले कुनै पनि भ्रष्टाचार, घूसजस्ता अन्य गतिविधि भएमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठनअन्तर्गत न्यायिक समितिसमक्ष गुनासो तथा जाहेरी गर्न आमजनसमुदायमा अपिल गर्दछौँ ।’