टुकुचा भत्काउन अदालतकाे अंकुश

काठमाडौं महानगरलाई टुकुचा क्षेत्रका संरचना भत्काउन अदालतले रोक लगाएको छ । बुधबार अन्तरिम आदेश जारी गर्दै उच्च अदालत पाटनले हात्तीसार क्षेत्रमा पर्ने टुकुचा क्षेत्रको उत्खननमा रोक लगाएको हो ।

उच्च अदालत पाटनका रजिस्ट्रार ठगीन्द्र कट्टेलका अनुसार न्यायाधीशहरू महेश पौडेल र राज्यलक्ष्मी ब्रजाचार्यको इजलासले टुकुचा उत्खननमा रोक लगाउने आदेश जारी गरेको हो । हात्तीसार क्षेत्रका किरणप्रकाश साख, शारदा मानन्धर, भोलाविक्रम थापा, उत्तरमान लामासहित १८ जना घरधनीले ३१ भदौमा उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उनीहरूले आफ्नो निजी घरजग्गामा महानगरले डोजर चलाउन लागेको भन्दै रोक्न मागसहित रिट हालेका थिए । रिट दिने अधिकांशले ०३२, ०३८, ०४२, ०४५ सालमा महानगरबाट घर निर्माण इजाजतपत्र लिएर घर निर्माण गरेको अदालतले जनाएको छ । उनीहरूले महानगरबाट नक्सापास र निर्माण सम्पन्नपत्र पनि लिइसकेका छन् ।

पुरातत्व विभागले गरेको अध्ययनले टुकुचा लुकाउन बनाइएको डुँड प्राचीन रहेको जनाएको छ । विभागका पुरातत्व अधिकृत भास्कर ज्ञवालीले जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्मको करिब चार सय ५० मिटर डुँडलाई मौलिक शैलीमै यथावत् राख्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको थियो । जय नेपालदेखि काठमाडौं प्लाजासम्म भूमिगत रहेको टुकुचा खोलालाई महानगरले उत्खनन गर्न थालेपछि विभागले अध्ययन गरेको थियो । सात स्थानमा महानगरले डोजर चलाउँदा टुकुचाको तीन स्थानमा डुँड फेला परेको थियो । अन्य स्थानमा भने टुकुचा फेला परेको थिएन ।

सहरी विकास मन्त्रालयले टुकुचा खोला मिचेका घरको सूची दुई वर्षअघि नै तयार पारेको थियो । मन्त्रालयले ०७७ सालमा मिचिएको कित्ता नम्बर र घरधनीको नामसहितको सूची तयार पार्ने जिम्मा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई दिएको थियो । त्यसलगत्तै समितिले टुकुचाको अध्ययनका लागि निजी बोनाफाइड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिलाई विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने जिम्मा दिएको थियो । कन्सल्टेन्सीले तीन महिना लगाएर गरेको अध्ययनपछि डिपिआर रिपोर्ट ४ असोज ०७७ मा समितिलाई बुझाएको थियो । सोही आधारमा महानगरले गत भदौदेखि टुकुचा उत्खनन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation