सहिदका मुर्ति फुटाउनु प्रतिक्रियावादकै निरन्तरता हाे, घटनामा संगलग्नलाई तुरुन्त कारबाही गरियोस् – नेकपा

जङ्ग रेउले, दाङ

 नेपाल कम्युनिस्ट पार्टीले देश र जनताकाे आमूल परिवर्तनको लागि आफ्नो अमुल्य जीवनकाे बलिदान गर्ने महान सहिदहरुकाे अपमान तथा ताेडफाेडकाे घाेर निन्दा गरेकाे छ ।

पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सविनले सहिदका सालिक तोडफोड गर्ने  अपराधीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् । आज शनिबार बिहान घोराही उपमहानरपालिका–१४ झिंगौरामा रहेको सहिदका सालिक तोडफोड भएको घटनाको स्थलगत अनुगमन गर्न पुगेका उनले सो कुरा बताएका हुन् ।

पार्टीका राप्ती ब्युरो इञ्चार्ज सविनले सहिदको सालिक तोडफोड गम्भीर अपराधिक घटना भएको र उक्त घटनाले आफ्नो पार्टीलाई दुःखी र स्तब्ध बनाएको बताए । उनले नेपालमा भएको प्रतिक्रान्तिकै सिलसिलाकाे रुपमा यो घटनालाई बुझ्नुपर्ने स्मरण गराउँदै सहिदहरु भनेका राष्ट्रिय सम्पत्ति भएको र यस्ता सम्पत्तिमाथि अतिक्रमण गर्ने अतिक्रमणकारीहरु राष्ट्रिय अपराधी भएको जिकिर गरे । स्थानीय प्रशासनले यी अपराधीहरुको गम्भीर्यतापूर्वक अनुसन्धान गर्ने र न्यायको कठघरामा उभ्याउनुपर्ने उनको भनाइ छ ।

‘यस्तो अपराध कार्यमा संलग्न तत्वहरु जो सुकै भएपनि प्रशासनले कडा कारबाही गरोस्,’ उनले भने ‘हामी/हाम्रो पार्टीको तर्फबाट कसले अपराध गरेको हो ? किन अपराध गरेको हो ?भन्ने विषयमा गम्भीर अनुसन्धान सुरुवात भइसकेको छ । र, यो अपराधमा संलग्न अपराधीहरुको कडा कारबाही गर्ने सन्दर्भमा पार्टीले विशेष ध्यान पुर्याउने छ ।’

इञ्चार्ज सविनले ओम भक्त चौधरी लगायतका तीन जना सहिदका सालिकको टाउको फुटाउने अपराधीहरु समाजको गतिशीलतालाई अवरुद्ध गर्ने र समाजको अग्रगमनकारी अभियानलाई अवरुद्धपार्ने तत्व भएको बताए ।

‘यी तत्वहरुको विरुद्ध हामीले निरन्तर संघर्ष गर्नुपर्छ,’ उनले भने ‘ यो सामान्य सुरक्षाको कुरामात्र होइन् । यो तारबार लगाउने कुरासँग सम्बन्धित कुरामात्रै छैन् । यो अग्रगमनका विरुद्धमा, क्रान्तिकारी आन्दोलनका विरुद्धमा र जनयुद्धको विरुद्धमा गरिएको आक्रमण हो । यस्ता आक्रमणकारी तत्वहरुलाई हामीले ठिक ढंगले कारबाही गर्नुपर्दछ । यस्ता अपराधीहरुलाई न्यायको कटघरामा उभ्याउनु नै पर्दछ । सालिकको पुनः निर्माण गर्न, सालिकलाई मर्मत गर्न र अपराधीहरुलाई कडाभन्दा कडा कारबाही गर्न म प्रशासनसँग जोडदार माग गर्दछु । हाम्रो पार्टीको तर्फबाट यो सालिक निर्माण गर्न विशेष पहल गर्नेछौं ।’

नेता सविनले आज समाज एउटा ठूलो विश्रृंखलतामा अगाडि बढिरहेको र यो पार्क गाँजा खाने गजडीहरुको आश्रय स्थलको रुपमा विकास भइरहेको बताए । गाँजा खाने गजडीहरुको आश्रय स्थल रुपमा यो पार्कलाई बनाउने होइन् कि यो सहिदहरुको संरक्षण गर्ने पार्कको रुपमा विकास गर्नुपदर्छ उनले भने । यो पार्कलाई एउटा युद्ध  पर्यटकीय स्थलको रुपमा विकास गरिनु पर्ने र गाँजा खाने गजडीहरुलाई यो पार्कभित्र निषेध गर्नुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङ जिल्लाकी इञ्चार्ज सम्झाना सीले सहिदका सालिक तोडफोडप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताइन् । उनले सहिदहरुको रगत र पसिनाले आज देश यो स्तरसम्म पुगेको स्मरण गराउदै समाजको आमूल परिवर्तन हुन नसके पनि देशमा जे जति परिवर्तन भएका छन्, त्यो जनयुद्धले भएको कुरामा जोड दिइन् । जनयुद्धको परिवर्तनमाथि बसेर राजगर्नेहरु नै सहिदका सालिकसम्म देख्न नसक्नेले यो घटना घटाएको कुरामा जोड दिँदै इञ्चार्ज सम्झनाले यो दर्दनाक र अमानविय घटना कतै न कतैबाट परिचालितहरुबाट भएको ठोकुवा गरिन् ।

घोराही उपमहानरपालिका– १४ का पूर्व वडा अध्यक्ष शक्तिराम डाँगीले सहिद पार्कमा भएको घटनाले आफूलाई निकै स्तब्ध बनाएको बताए । उनले अहिले सहिद सप्ताह चलिरहेको हुँदा सहिदका सालिकका मुर्तिहरुमात्र निर्माण गरेर भएपनि सहिदको सम्मान गर्नुपर्ने कुरामा जोड दिँदै सालिक निर्माणको काममा लाग्न सम्बन्धित वडाका वडा अध्यक्षहरुले चासो लिइदिन अनुरोध गरे ।

‘सार्वजनिक सम्पत्तिहरु नेतृत्व जसले गरेपनि, जसका पालामा बनेपनि ती सम्पत्ति साझा हुन्,’ उनले भने ‘ ती सम्पत्ति देशको गहना हुन् र इतिहास हुन् भन्ने कुरामा हामीले आत्मासाथ गर्नुपर्छ । त्यसकारण कसका पालामा बने, कसले बनाए भन्ने कुराहरु सहायक हुन् । मुख्य कुरा यिनी इतिहास हुन् । यिनीलाई बचाउनुपर्छ । संरक्षण गर्नुपर्छ, भन्ने कुरा मुख्य हुन् ।’

पूर्व अध्यक्ष डाँगीले यो घटनाको घोर भर्सना गर्दै यस्ता हर्कत, यी कार्यहरु पुनः नदोहोरियन् र कहीँ कतै कसैले गर्न नहुने भन्दै सबै सार्वजनिक सरोकारहरुका महत्वका, चाँसोका विषयहरुलाई बुझ्ने र हेर्नुपर्ने बताए । सहिदका सालिकहरु तोडफोड गरेर ढले पनि इतिहास ढलेको छैन् र यसलाई हामीले पुनः निर्माण गछौं उनले भने । पुनः निर्माण गर्नका लागि सरोकारवालाले नै गर्नुपर्ने र सरोकारवालाले नै नगरेर आफूहरुले निर्माण गर्ने वातावरण सिर्जन नहोस भन्ने स्मरण गराउदै राज्यले नै दायित्व ग्रहण गर्नुपर्ने अध्यक्ष डाँगीको भनाइ थियो ।

त्यस्तै स्थानीयवासी सहदेव थारुले परिवर्तनमा होमिएका जनताहरुको भावनाप्रति ठेस पुग्नेगरी यो घटना घट्नु साह्रै निन्दनीय  भएकाे बताए । उनले यो घटना सुनियोजित तरिकाले घटाइएको र घटनामा संलग्न जो कोहीलाई पनि दण्डित गर्नुपर्ने कुरामा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation