उपाध्यक्षमा उर्मिला अर्याल निर्बिराेध, काे हुन् निर्वाचित अर्याल ?

राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । यद्यपि, राष्ट्रिय सभाले औपचारिक घोषणा गर्न बाँकी छ । आइतबार तोकिएको समयमा उपाध्यक्ष पदमा अर्यालको एकल उम्मेदवारी परेको थियो । कांग्रेससहित विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिएर अर्याललाई समर्थन गरेसँगै निर्विरोध भएकी हुन् ।

माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेकी अर्याललाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि प्रस्ताव गरेका थिए, एमाले प्रमुख सचेतक देवेन्द्र दाहाल र एकीकृत समाजवादीका खिमलाल देवकोटाले समर्थन गरेका थिए । अर्याललाई सोमबार बस्ने राष्ट्रिय सभाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ । राष्ट्रिय सभामा तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि भन्डै एक वर्षदेखि यो पद रिक्त थियो ।

पर्साको वीरगन्ज महानगरपालिका– २३ निवासी अर्यालले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । ०२६ मा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गरेकी उनले ०३५ मा कम्युनिस्ट पार्टीको संगठित सदस्यता पाएकी थिइन् । ०४६ मा एमालेमा प्रवेश गरेर उनी ०५० मा पर्सा जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी थिइन् । ०४८, ०५१ र ०५६ मा पर्सा ४ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेकी थिइन् । ०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

०५९ माघको सातौँ महाधिवेशनबाट एमालेको वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित अर्याल ०६३ मा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनेकी थिइन् । ०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्यमा निर्वाचित अर्याल ०६७ मा स्थानीय विकासमन्त्री बनेकी थिइन् ।

विभिन्न समयमा एमाले पार्टी स्कुल विभाग, महिला विभाग, कृषि विभागको जिम्मेवारीका साथै निर्वाचन विभाग र समावेशीकरण तथा सामाजिक सुरक्षा विभागको प्रमुख भई जिम्मेवारी निर्वाह गरेकी अर्याल ४ जेठ ०७० मा तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरेकी थिइन् । हाल उनी  माओवादी स्थायी कमिटी सदस्य छिन् । १२ माघ ०७८ राष्ट्रिय सभा सदस्यमा निर्वाचित अर्यालले एक वर्षपछि उपाध्यक्ष बन्ने अवसर पाएकी हुन् ।

 संसद्मा राष्ट्रपतिले सम्बोधन गर्ने 
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले २७ माघमा संयुक्त बैठकलाई सम्बोधन गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ । संघीय संसद्को अधिवेशन आह्वान भएपछि राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिको सम्बोधनका लागि २७ माघ दिउँसो ३ बजे संयुक्त बैठक आह्वान गरिएको छ । त्यसलगत्तै साँझ ५ बजे प्रतिनिधिसभा बैठक बस्ने सचिवालयले जनाएको छ ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि थपेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको दफा ४२ ले दिएको बाधा अड्काउ फुकाउ आदेशमार्फत सरकारले दुवै आयोगको अवधि आगामी असार मसान्तसम्म थप गरेको हो । असोजमा सकिएको दुवै आयोगको अवधि थप्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार बाधा अड्काउ फुकाउ आदेश प्रतिनिधिसभामा पेस गरेको छ । नयाँ पत्रकाकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation