जनयुद्ध : उत्सव कि आतंक ?

हामी १ फागुनको संघारमा छौँ । ०५२ सालको १ फागुनबाट नेपाली इतिहासमा जनताको सबैभन्दा ठूलो संघर्ष ‘जनयुद्ध’ सुरु भएको थियो । सो संघर्ष देखिने गरी पूरा दश वर्ष चल्यो । तर, त्यसपछि पनि जनयुद्धकै जगमा १९ दिने जनआन्दोलन भयो । मधेस आन्दोलन र थारू आन्दोलनहरू भए । विभिन्न अधिकार र पहिचानका आन्दोलन आजपर्यन्त जारी छन् ।

यस अवधिमा सत्र हजार मान्छेको ज्यान गयो । हजारौँ बेपत्ता पारिए । दसौँ हजार घाइते भए । कैयौँ संरचना ध्वस्त भए । ठूलो बबन्डर मच्चियो । यही पेरिफेरीबीच जनयुद्धबारे विभिन्न कोणबाट बहस हुने गरेको छ । वास्तवमा जनयुद्ध के थियो त ?

जनयुद्ध उत्सव थियो
०५२ सालसम्मको समाज आजको अवस्थामा थिएन । निरंकुश राजतन्त्रात्मक सामन्ती व्यवस्थाले बहुसंख्यक जनता चरम उत्पीडनमा थिए । नागरिकलाई सामान्य हकसमेत दिइएको थिएन । उनीहरूमाथि कठोर परिश्रम, गरिबी, रोगव्याधि, बेरोजगारी, अन्धकार र अशिक्षाजस्ता दुर्दशा मात्रै लादिएका थिए ।

त्यसअघि ०४७ सालमा बहुदलीय व्यवस्थाअन्तर्गत जनताको प्रतिनिधित्व गर्न राज्य व्यवस्थामा दलहरू आएका थिए । तर, ती राजनीतिक दलहरूले सत्तास्वार्थको सिनाझप्टीबाट बाहिर निस्केर जनताको प्रतिनिधित्व गर्न सकिरहेका थिएनन् । उल्टो दलहरू पनि राजासँगै जनताको शोषण र दमनमा सहभागी थिए । अभाव बढिरहेकै थियो । दलित, महिला, जनजाति, मधेसी, मुस्लिम, गैरहिन्दू र पिछडिएको क्षेत्र संकटको भुमरीमा थिए । विकृति, व्यभिचार र अन्धविश्वासबाट सिर्जित समस्याले मानवजीवन पशुतूल्य थियो । जनतालाई राज्यका तर्फबाट कुनै सुविधा थिएन, कुनै विकास थिएन । केवल असीमित अत्याचार थियो, शोषण र दमन थियो ।

जनयुद्ध स्वयं जनताको थियो । जनताले जरुर जनयुद्धका लागि आफ्नो नेतृत्व खडा गरेका थिए, त्यो पनि अन्त कतैबाट होइन, आफ्नै बीचबाट ।

त्यसवेला वास्तवमा सर्वसाधारण जनता अन्धकारमा निसास्सिएका थिए । त्यही स्थितिबीच जनयुद्ध सुरु भयो । त्यतिन्जेल सर्वसाधारण जनता, सोझासीधा गरिब, मजदुर, किसान, उत्पीडित भूगोल र सम्प्रदायका मानिस शासकीय अत्याचारको जाँतोमा पिल्सिरहेको अवस्था थियो । अब उनीहरू जनयुद्धमा लामबद्ध भए । विचार, सिद्धान्त, हतियार र तालिमले सशस्त्र भएर अधिकारको खोजीमा निस्के । राजा र राजनीतिक दलको आडभरोसामा आफूमाथि हैकम चलाइरहेका फटाहालाई गाउँगाउँबाट लखेटे । राजतन्त्रको निरंकुश सिकन्जा तोडे । आफूमाथिको शोषण फाले । उत्पीडन फाले । मुक्त भए । आफ्नै जनवादी सरकार चलाए । न्यायालय चलाए । न्याय, अधिकार र सम्मानको उपभोग गरे ।

त्यसैले पिल्सिएका बहुसंख्यक जनताका लागि जनयुद्ध उत्सव थियो । त्यसले जनतालाई मुक्त मात्रै गरेन, उनीहरूलाई बन्धक बनाइरहेको राजतन्त्रात्मक व्यवस्था नै ध्वस्त पारिदियो । जनताको गणतन्त्रात्मक व्यवस्थाको बीजारोपण गरिदियो । एक भाषा, एक भेष, एक देश, एक नरेशको ठाउँमा जनताको समानुपातिक प्रतिनिधित्वसहित संघीयता, धर्मनिरपेक्षता र बहुपहिचानलाई सशक्त रूपले स्थापित गरिदियो ।

जनयुद्ध आतंक पनि थियो
जसैजसै जनयुद्ध सुरु भयो, समाजबाट जनविरोधीहरूको उठिबास लाग्न थाल्यो । जनयुद्धपूर्व जनता जुन स्तरको दोहनमा थिए, शासकहरू त्यही स्तरको अमनचैनमा थिए । जनयुद्धको लहरले जनताको दोहनसँगै शासकको अमनचैन पनि खोसियो, कतै खोसिने डर पैदा भयो । अनि जनविरोधी शासकहरू आतंकित बन्न पुगे ।

जनयुद्ध जरुर आतंक हो, यो लुकेको वा लुकाइनुपर्ने कुरा होइन । जनताको करबाट जनतालाई सेवासुविधा दिनुपर्ने ठाउँमा बन्दुक किनिए । हेलिकोप्टर किनिए । देशमा संकटकाल थोपरियो । जनताविरुद्ध सेना परिचालन भए । जनताको नेतृत्वको टाउकाको मोल तोकियो । जनयुद्धबाट कोही आतंकित नभई यो सब भएको थिएन ।

विकट गाउँबस्तीका जालीझेली र फटाहाहरू मात्र होइन, जनयुद्धले काठमाडौंकै निरंकुश राजाको पनि उठिबास लाग्यो । राजाको पाउ मोलेर राज्य व्यवस्थामा सयर गरिरहेका कांग्रेस, एमालेलगायत दल जनयुद्धकै बलमा राजतन्त्र छाडेर गणतन्त्र स्विकार्न बाध्य भए । यसर्थ, समाजका जाली–फटाहा, देशका राजा–रजौटा र दरबारको जुठोपिरो खान पाइरहेका कांग्रेस–एमालेलगायत दलका लागि जनयुद्ध भयानक ठूलो आतंक थियो । अमेरिकाले त झन् जनयुद्धको नेतृत्वदायी पार्टी माओवादीलाई शान्ति प्रक्रियाको धेरैपछि मात्र आतंककारीको सूचीबाट हटाएको हो ।

पिल्सिएका बहुसंख्यक जनताका लागि जनयुद्ध उत्सव थियो । त्यसले जनतालाई मुक्त मात्रै गरेन, उनीहरूलाई बन्धक बनाइरहेको राजतन्त्रात्मक व्यवस्था नै ध्वस्त पारिदियो । जनताको गणतन्त्रात्मक व्यवस्थाको बीजारोपण गरिदियो ।

वस्तुतः जनयुद्ध स्वाभाविक थियो

आज पनि धेरैजसो मान्छेलाई लाग्छ, माओवादीका दुई–तीनजना शीर्ष नेताले नचाहेको भए जनयुद्ध हुने थिएन । मानौँ, समग्र जनयुद्ध नै नेताहरूको सनक थियो । यसै विचारलाई टेवा पु¥याउने गरी जनयुद्धविरोधी वर्ग पनि जनयुद्धलाई केवल माओवादी आतंक करार गर्न खोजिरहेछ । हुन त सारा देश नै एकजना राजाले आर्जेको मान्यता घोकाइएका मस्तिष्कहरू त्यसका लागि विवश पनि होलान् । तर, जनयुद्ध इतिहासको वस्तुगत आवश्यकताले उत्पन्न परिघटना हो ।

प्रकृतिको आफ्नै नियम छ, जनभावनाको उचित निकास र सही व्यवस्थापनविना गरिने दमन घातक रूपमा विस्फोट हुन्छ । जनयुद्ध मूलतः त्यस्तै विस्फोट थियो । खासमा जसले सर्वोच्च जिम्मेवारीमा रहेर जनतामाथि केवल अभाव र उत्पीडन लादे, जसले निजी वैभवका लागि जनतामाथि दमन र लुट मच्चाए, वास्तवमा जनयुद्धको अवस्था तिनले निम्त्याएका हुन् । माओवादीले त त्यसको सञ्चालन मात्रै गरेको हो ।

जनयुद्ध जनताको विशाल शक्तिले लड्यो । बलिदान जनताकै भयो । जनयुद्धलाई भरपूर सहयोग गर्ने पनि जनता नै थिए । जनता जनयुद्धमा त्यसै सहभागी भएका थिएनन् । उनीहरू राज्यको नियोजित अत्याचारबाट आजित थिए । अनि प्रकृतिप्रदत्त आफ्नो सचेतनाले त्यसलाई त्याग्न तम्तयार थिए । जनयुद्ध त्यसैको समुचित प्रतिक्रिया थियो ।

अतः जनयुद्ध स्वयं जनताको थियो । जनताले जरुर जनयुद्धका लागि आफ्नो नेतृत्व खडा गरेका थिए, त्यो पनि अन्त कतैबाट होइन, आफ्नै बीचबाट । जनयुद्ध पूरा जनताको त्याग, बलिदान र लगानीमा चलेको जनताको वस्तुगत माग थियो । इतिहासको अनिवार्य आवश्यकता थियो ।
अन्त्यमा, जनयुद्धका मूल कारणहरूको सम्बोधन अझै हुन सकिरहेको छैन । जनताको संकट यथावत् छ । शासकको रबैया यथावत् छ । यसको बदलावका लागि सबैको ध्यान जान आवश्यक थियो । तर, आवश्यकताविपरीत कोही जनयुद्धको बलिदान बेचेर फाइदा उठाउनेतिर तल्लीन छन् । कोही जनयुद्धलाई अपराधीकरण गर्न तम्सेका छन् । जनयुद्धका कारणतिर कसैले ध्यान दिएको पाइँदैन ।

जनयुद्ध दिवस साक्षी छ, जनचाहना र आवश्यकताको सम्बोधन राज्यको पहिलो प्राथमिकता बन्नुपर्छ । अन्यथा, जनभावनामाथिको उपेक्षा र खेलबाडले १ फागुनको विस्फोट अनिवार्य बन्छ । अतः यो जनयुद्ध दिवसबाट जनयुद्धका कारणको समीक्षा जरुर गरियोस् । अनि अनुभवी चेतना, विज्ञान र प्रविधिले तिनको सही व्यवस्थापनमा ध्यान दिइयोस् । ताकि समाजले अब कहिल्यै विस्फोटको रूप लिनु नपरोस् । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation