देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ फल्कापुरस्थित माध्यमिक विद्यालय फल्कापुरको आफ्नो स्थापनाको ४२ औं वार्षिकोत्सब एक भव्य समारोहबीच आइतबार सम्पन्न भएको छ । शैक्षिक जगतमा लामो इतिहास बोकेको विद्यालयको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवानजंग चौधरीको अध्यक्षता र लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथिको आशनबाट बोल्दै मन्त्री थारुले गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक,विद्यार्थी र अभिभावकहरुको बीच त्रिकोणात्मक सहकार्य एवं समन्वय हुन जरुरी रहेको बताउनु भयो । त्यस्तै मन्त्र थारुले अब बैज्ञानिक र जीवन उपयोगी ज्ञान प्रदान गर्न तर्फ सबै तहका सरकारले ध्यान दिनुपर्ने बताउँदै भौतिक पुर्वाधार मन्त्रालयको तर्फबाट विद्यालयलाई हुने हरेक किसिमको साथ र सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
त्यस्तै लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले नगरपालिकाबाट छिट्टै कक्षा १ देखि १० सम्म निस्शुल्क र निजी शिक्षकलाई पनि नगरपालिकाको मातहतमा राखेर आगामी दिनमा शैक्षिक नीति ल्याउन लागेको बताउनु भयो ।
यसैगरी लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले गुणस्तरीय शिक्षाका लागि घरमा पनि अभिभावकले आफ्ना बालबच्चाहरुलाई सस्कार सहितको अभिभावकत्व दिनुपर्ने बताउनु भयो । कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ३ का पुर्व वडा अध्यक्ष बाबुराम थारु, पत्रकार केपि घिमिरे, बाल जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण केसी लगायतकाले बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका सस्थापक जग्गादाता, अक्षयकोष दाता सहित उत्कृष्ट शिक्षकका रुपमा अर्जुन कुमार पौडेल सम्मानित हुनु भएको थियो । यसैगरी विद्यालयमा प्रथम,दुतिय र तृतीयका साथै कक्षा १ देखि १२ सम्म कक्षा प्रथम, दुतिय र तृतीय र खेलकुद तर्फबाट पनि पुरस्कार बितरण गरिएको थियो ।
सो वार्षिक कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य कला प्रस्तुत गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक सुरेश शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सम्झना शर्माले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन कम्प्युटर शिक्षक जय प्रकाश पौडेल गर्नु भएको थियो ।
त्यस्तै विद्यालयको वार्षिकउत्सबको पुर्वसन्ध्यामा एक दिने निस्शुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको थियो । साझा अस्पताल प्रा.लि.बुटवलका वरिष्ठ महिला रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, नाक,कान, घाटी रोग विशेषज्ञ,फिजिसियन,सर्जन तथा स्टाफ नर्सहरुबाट स्वास्थ्य परीक्षण भएको थियो । वेलकेयर फार्मेसी लमही १ कौडियाको निस्शुल्क औषधि वितरण तथा डाक्टरको संयोजनमा करिब ४०० जना बिरामीहरूको निस्शुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।