रोहितको कप्तानी इनिङ्स, नेपालको क्लिन स्विप

काठमाडौँ — कप्तान रोहित पौडेलले जिम्मेवारी इनिङ्स खेलेपछि नेपालले विश्वकप लिग-२ मा स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण विजय हात पारेको छ । रोहितले अविजित ९५ रन बनाएपछि नेपालले २ सय १३ रनको लक्ष्य ४४.१ ओभरमा पूरा गर्‍यो ।

 

रोहित र करण केसीले नवौं विकेटमा अविजित ७५ रनको साझेदारी गर्दै नेपाललाई स्मरणीय विजय दिलाए । नेपालले लिग-२ को शृंखला क्लिन स्विप गरेको यो पहिलो पटक हो । नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पार्यो ।

सातौं ओभरमा नेपाल १९–२ को अवस्थामा ब्याटिङ गर्न आएका रोहितले अविजित ९५ रन बनाए । उनले १ सय १ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । करणले अविजित ३१ रन बनाउँदा ३७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

नेपालको सुरुवात राम्रो थिएन । कुशल भुर्तेल १ रनमै आउट भए । अर्का ओपनर आसिफ शेखले १२ रन बनाए । ज्ञानेन्द्र मल्लले २१ रन जोडे । रोहितले एउटा छेउमा टिकिरहे पनि अर्को छेउटबाट निरन्तर विकेट झरिरह्यो ।

कुशल मल्लले एउटा लामो छक्का प्रहार गरे पनि उनी धेरैबेर टिकेनन् । उनले २८ बल खेली १ चौका प्रहार गर्दै २७ रन बनाए । सन्दीप जोरा १, दीपेन्द्र सिंह ऐरी ७, सोमपाल कामी २ र सन्दीप लामिछाने ९ रनमा आउट भए ।

 

स्कटल्यान्ड यस शृंखलाको पहिलो खेलमा नामिबियामाथि विजय हात पारी लिग-२ को विजेता बनिसकेको थियो । टोलीले सबै ३६ खेलमा ५० अंक जोड्यो । नेपालले २८ खेलमा २६ अंक जोडेको छ ।

 

यसअघि टस हारेपछि ब्याटिङको निम्ता पाएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अलआउट भयो । जर्ज मुन्सी र काएल कोएटजरले स्कटल्यान्डलाई सानदार सुरुआत दिलाएका थिए ।

पूर्वकप्तान कोएटजरलाई सन्दीप लामिछानेले २२ रनमा आउट गरी नेपाललाई पहिलो सफलता दिलाए । सन्दीप आफ्नो पहिलो ओभरमा आ देखि नै स्विप सट खेलेर आक्रामक देखिएका मुन्सीले ५० बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरी ६० रन बनाए । उनको लेग स्टम्प सन्दीपले उडाइदिएका थिए ।

नामिबियाको पहिलो खेलमा अविजित शतक बनाएका मुन्सीले त्यसपछिका दुई खेल खेलेका थिएनन् । नेपालविरुद्धको खेलमा नखेलेका मुन्सीसहित कोएटर र साफियन सरिफलाई आजको खेलमा खेलाएको थियो । कप्तान रिची बेरिङटनलाई एलबीडब्लु आउट गरी सन्दीप ह्याट्रिक विकेटको नजिक पुगेका थिए ।

म्याथ्यु क्रसले ४२ रन बनाए । दीपेन्द्रसिंह ऐरीद्वारा सिधा थ्रोमा रनआउट हुनुपूर्व उनले ६३ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । टोमस म्याकिन्टोसलाई १ रनमा आउट गरी सन्दीपले चौथो विकेट लिए । सन्दीपले १० ओभरमा ४५ रन खर्चे ।

माइकल लिस्कलाई बोल्ड गर्दै करण केसीले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने उनी सन्दीप र सोमपालपछिका तेस्रो खेलाडी हुन् । करणले ब्रेन्डन म्याकमुलेनलाई ३१ रनमा आउट गरी आफ्नो दोस्रो विकेट लिए । म्याकमुलेनले ४८ बल खेली ३ चौका प्रहार गरे । करणले ३ विकेट लिए । उनले ८.१ ओभरमा ४२ रन खर्चे ।

तीव्र बलर गुलशन झाको स्थानमा मौका पाएका देव्रेहाते स्पिनर ललित राजवंशीले क्रिस ग्रेभ्सलाई ७ रनमा एलबीडब्लू आउट गरी नेपाललाई नवौं सफलता दिलाए । ललितले आफनो १० ओभरको कोटामा १ मेडन राख्दै ३३ रन खर्चे । अर्को एक विकेट कुशल मल्लको नाममा रहयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation