सिद्धबाबा सुरुङमार्गकाे काम थालियो, दैनिक ८ घण्टा सडक बन्द रहने

१२ फागुन, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय मिटर लामो सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ रकममा ठेक्का पाएर काम सुरु गरिरहेको छ ।

सिद्धबाबा सुरुङ मार्ग योजना बुटवलले शुक्रबार सूचना प्रकाशित गरी सडक डाइभर्सनको काम शुरु भएको र सवारी साधन चल्दा दुर्घटनाको जोखिम देखिएकाले फागुन १३ देखि २७ गतेसम्म दुई पटक गरेर दैनिक ८ घण्टा राजमार्ग बन्द गर्न लागिएको जनाएको छ ।

‘डाइभर्सन निर्माण स्थलमा माथि पहराबाट ढुंगाहरु खसिरहेकाले कुनै पनि बेला दुर्घटना हुन सक्ने संभावना रहेकाले ढुंगाहरुलाई पूर्णरुपमा व्यवस्थित गर्नका लागि वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन आवागमनलाई पूर्णरुपमा बन्द गरिने छ’ योजना प्रमुखले निकालेको सूचनामा उल्लेख छ ।

उक्त अवधिभर पाल्पातर्फबाट आउने सवारी साधनहरु जडिबुटीचोक, सत्यवती जाने बाटो र पाल्पाको तिनाउ गाउँपालिका– ३ मा रोकेर राख्ने व्यवस्था मिलाइएको छ । यस्तै बुटवलतर्फबाट जाने सवारी साधनहरु चिडियाखोला र तल्लो सिद्धबाबा मन्दिरनेर रोक्न कार्यालयले आग्रह गरेको छ । अत्यावश्यक सेवाका साना तथा मझौला सवारी साधनहरुले बेलबास–नुवाकोट–दोभान सडक प्रयोग गर्न सक्ने सूचनामा उल्लेख छ ।

उक्त अवधिमा सडक लेन अनुशासन कडाइका साथ पालना गर्न, जथाभावी ओभरटेक नगर्न आग्रह गर्दै उल्लंघन भए प्रचलित कानून अनुसार कारवाही हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation