राष्ट्रिय सभा अध्यक्षलाई लैनचौर सार्ने तयारी

सरकारले सभामुखको निवासबाट राष्ट्रिय सभा अध्यक्षलाई अन्यत्र सार्ने तयारी गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सभामुख देवराज घिमिरेको निवास व्यवस्थापनका लागि बालुवाटारस्थित सभामुखको सरकारी निवास खाली गराउने निर्णय गरेको छ ।

हाल सभामुखको निवासमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना बसिरहेका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली भएको निवासमा हतारहतारमा तिमिल्सिना सरेका थिए । तिमिल्सिना बसेको ९मुख्यसचिव० निवास तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रयोग गरेका थिए ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालुवाटारस्थित सरकारी निवास सभामुख घिमिरेलाई उपलब्ध गराउने छलफल मन्त्रिपरिषद्मा भएको बताइन् । ‘सभामुखको जुन निवास हो, त्यहाँ अध्यक्ष बसिराख्नुभएको छ । त्यो सभामुखकै निवास हुने र अध्यक्षलाई पहिले बसेकै ठाउँमा मिलाउने भन्ने भएको छ,’ उनले भनिन्, ‘बालुवाटारको निवास उपलब्ध गराउने जानकारी सभामुखलाई दिइएको छ ।’

सभामुख निवासमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना सरेपछि महरापछि सभामुख भएका अग्नि सापकोटालाई लैनचौरस्थित एक सरकारी निवासमा सारिएको थियो । नवनिर्वाचित सभामुख घिमिरेले सुविधासम्पन्न भवन नरहेको भन्दै लैनचौर जान मानेका छैनन् । राष्ट्रिय सभा अध्यक्षलाई लैनचौर निवासमै पठाउने सरकारको योजना छ । उनले बालुवाटारभित्रैको आफ्नो निवास उपलब्ध गराउन सरकारलाई ताकेता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation