राप्ती साहित्य परिषद दाङकाे आयाेजनामा एकल कविता कार्यक्रम सम्पन्न गरिएकाे छ । राप्ती साहित्य परिषद्ले गर्ने नियमित साहित्यीक गतिविधि अन्तरगत कवि तथा साहित्यकार क्षितिज मगरले कविता वाचन गरेका हुन् । नेपाली भूमिमा संचालित दस वर्षे जनयुद्धमा जनमुक्ति सेनामा काम गरेका उनका प्रतिभामा नेपाली जनताले भाेगेका दु:ख, पीडा, अभाव र राेदनलाई टिपेर क्रान्ति र विद्राेहकाे विम्वात्मक कला देख्न सकिन्छ ।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर भिम खतिवडाले राेल्पाकाे कुनामा फुलेकाे सुन्दर फूललाई क्षितिजमा पुर्याउने जरुरी रहेकाे बताए । क्षितिज मगरका प्रतिभाले नेपाली समाजका आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका यथार्थलाई निकै सहज, अनुशासित र बेजाेड ढंगले पश्कन सफल रहेकाे बताए । उनले कुनैपनि साहित्यकारले समाजमा रहेका हरेक पाटापक्षलाई अनुशासित ढंगले मृदभाषामा व्यक्त गर्दा साहित्यीक कलाकाे उचाइ झनै बढ्ने बताउँदै क्षितिज मगरका कविताले त्यसकाे शिखर चुम्न सफल भएको बताए ।
कविले तिमीले छाेडेपछि, प्याराे काेइलावास, सहिद दिवस, फूल, चप्पल, कान्छीकाे पसल, भुतपुर्व प्रेमिकाकाे नाउँमा, भ्यालेन्टाइन डे लगायत एक दर्जन कविता वाचन गरेका थिए ।
उनका कविता माथि साहित्यकार टिकाराम उदासीले टिप्पणी गरे । उनले क्षितिज मगर देशकै समकालीन कवि/ साहित्यकारकाे रुपमा उदाएकाेमा खुसी व्यक्त गर्दै आजकाे मानवकाे चेतना र भावनासँग समिनरी खेल्न सफल भएकाेमा धन्यवाद व्यक्त गरे । कवितामा सुन्दर सिर्जनाकाे अलावा अभिव्यक्ति कलामा अझ तिखारिन अनुराेध गरे ।
त्यस्तै वाचकका कवितामा वरिष्ठ साहित्यकार पुरुसाेत्तम खनालले हिजाे पड्किएका बन्दुकका बन्दु र पिसिएका बम बारुदकाे भट्टीबाट कविले कलम पनि सँगै पड्काएकाे बताए । “याे कविताकाे सबैभन्दा शक्तिशाली प्रतिभा हाे जहाँ युद्धमाेर्चाकाे कमान्ड सम्हालेर पनि साहित्यका अन्तरकुन्तर छिर्नसक्नुभयाे र हामीलाई सुन्दर एवम् ऐतिहासिक कृतिहरुमार्फत जनयुद्धलाई साक्षात तवरले अनुभुति गराउनुभयाे” पुरुषाेत्तमले भने ।
राप्ती साहित्य परिषद दाङका अध्यक्ष दिपक शर्माकाे अध्यक्षता रहेकाे कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा . भिम खतिवडाकाे प्रमुख आतिथ्यता रहेको थियाे भने कार्यक्रमकाे सहजिकरण राप्ती साहित्य परिषद दाङका सचिव प्रकाश केसीले गरेका थिए ।
यहाँ प्रस्तुत छ उनका कवितासंग्रहमध्यकाे
चप्पल: कविता
भूपिले भनेको
यो चार भञ्ज्याङ खाल्डोको
चिसो एस्ट्रेमा आइपुगेको छु म- हजुरको चप्पल ।
नयाँ जुता लाएर हजुर सहर पस्दा
गाउँको कुनै झुपडी आंगन कुनामा छाड्नु भएथ्यो मलाई,
हो, त्यही चप्पल हुँ म
आज हजुरको खोजीमा सहर पसेको छु ।
बैँशका सारा जोशभरि
हजुरको नरम पाइतलाको सुरक्षामा खर्चेको छु मैले
भएजतिका सारा खुशी पनि
हजुरको खुशीको लागि निशंकोच अर्पेकाे छु मैले
तीखा कांडामाथि मेरो छाती थापेर
हजुरलाई शिखर उकालेको त्यो समय !
चट्टानका करौटीमा म आफैलाई रगडेर
हजुरलाई गन्तव्य पुऱ्याएको त्यो समय !
साँच्ची, मेरा तन मन खियाएर
हजुरलाई भरिपूर्ण बनाएको त्यो समय !
एकादेशको कुनै कहानीमा पनि किन भेटिन्न अचेल ?
रंगीन दुनियाँको कुनै विहानीमा पनि किन भेटिन्न अचेल ?
यही प्रश्नको उतर खोज्न
आज हजुरको सहर पसेको छु म ।
सिंहदरवारको ठीक सामुन्ने उभिएर
एकोहोरो हेरिरहन मन छ
हजुरको उचाईमा मेरो शिर देखिन्छ कि देखिन्न ?
हजुरको हाँसोमा मेरो हाँसो देखिन्छ कि देखिन्न ?
अथवा, हजुरको विपनामा
मेरो सपनाको कुनै हिस्सा बांचेको छ कि छैन ?
यी गगनचुम्बी महलका जंगलबीच
झुपडीका अस्तित्व र गरीबका भोक
कसरी अपमानित भइरहेको छ ?
यी सारा प्रश्नको उतर खोज्न
आज हजुरको सहर पसेको छु म
भूपिले भनेको
यो चार भञ्ज्याङ खाल्डोको
चिसो एस्ट्रेमा आइपुगेको छु म- हजुरको चप्पल ।