लथालिङ्ग शिव मावि जहाँ ६ वर्षदेखि अभिभावक भेला हुदैन

प्यूठान ।उत्तरी प्यूठानको सुदुर गाउँमा अवस्थित शिव माध्यमिक विद्यालय लथालिङग र भताभुङघ स्थितिमा पुगेको पाइएको छ । जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउलिवाङमा रहेको उक्त विद्यालयमा विगत ६ वर्षदेखी एकपटक पनि अभिभावक भेला बोलाइएको छैन भने सार्वजनिक लेखा परिक्षणको हिसाबकिताब पनि डामाडोल रहेको पाइएको हो ।

मनलाग्दि शुल्क असुली

विद्यालयले कक्षाका विद्यार्थिहरुबाट मनलाग्दी शूल्क असुलेको पाइएको छ । कोभिडको समयमा विद्यालय बन्द रहँदा पनि विद्यार्थीबाट विभिन्न शिर्षकमा रकम असुलेको, विद्यार्थीको दिवा खाजावापतको रकम तथा कक्षा १० का विद्यार्थीबाट पनि मनपरी शुल्क उठाइएको पाइएको हो । त्यस्तै विद्यालयका प्रधानाध्यापक भीमप्रसाद गौचनले खेताला शिक्षक राखेर लामो समयसम्म निजि काममा लाग्ने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । प्रअले विद्यालयमा लामो समयदेखि आर्थिक अपचलन गरेको तथा प्रशासनिक कामकारबाही लथालिङ्ग पार्दा त्यहाँ अध्ययनरत विद्यार्थीलाई ठुलो मर्का परेको छ भने शैक्षिक बेथितिले सिमा नाघेको छ । स्रोतका अनुसार विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुसँग माध्यमिक शिक्षा परिषदले तोकेको परीक्षा फारम शुल्क ५ सयको सट्टा ८ सय पचास उठाइएको लेखाले जनाएको छ । यसो त देशभर सार्वजनिक विद्यालयहरुले विभिन्न बहानामा शुल्क असुली गरिनैरहेका छन् तर विद्यालय व्यवस्थापन समिति र अभिभावको समझदारीमा चन्दा वा अन्य सहयोगको सिमा कायम गरिएको हुन्छ तर यहाँ त ६÷६ वर्षसम्म अभिभावक भेला नबोलाई मनोमानि ढंगले रजाइँ गरिएको छ । विद्यालयमा दिवा खाजावायपतको कक्षा ६ का विद्यार्थीको रकम निकासा साउन महिनाबाट भएको भएपनि मंसिरबाट मात्रै खाजा खुवाइएको पाइएको हो । यसमा तीन महिनाको खाजा नखुवाउने तर खुवाइएको नाटक गरी र गाउँपालिकामा फर्जी भर्पाइ पेस गरेर रकम निकासा गरिएको र पछि घटना बाहिर आएपछि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक तथा अन्य स्टापको गोप्य भेलाले पहिलेकै मिति राखेर माइन्युट उठाइएको विद्यालयका शिक्षकले नाम नखुलाउने सर्तमा प्राणमञ्च व्यूरोलाई जानकारी गराएका छन ।

स्थानीय अभिभावकका अनुसार सो विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, लेखापाल र प्रधानाध्यापक एकै परिवारको भएकोले लामो समयदेखि सो समस्या दोहोरिरहेको दाबी गरे । नाम नखुलाउने सर्तमा एक शिक्षकले भने “हेडसरको मनोमानिले सिमा नाघेको छ, समयमै विद्यालय नआउने, परिवारको त्रिकोणात्मक सेटिङमा आर्थिक हिनामिना गर्ने, कसैले संस्थागत गुनासो गरेमा व्यक्तिगत रुपमा हेडसरले गालीगलोज गर्ने र धम्क्याउने, कैयौं समय आफू स्कुल नआएर खेताला शिक्षक राख्ने आदि थुप्रै समस्या छन्, हेडसरकै डरले सबै ’तै चुप मै चुप‘ को अवस्था सिर्जना भएको छ। यसलाई सुधार कसले गर्ने ?“ उनले विद्यालयमा देखिएका यावत् समस्याले नियमित पठनपाठन र शैक्षिक सुधारका सुचकहरुमा ठुलो समस्या आएका बताए ।

स्थानीय समाजसेवी पूर्ण बुढाले विद्यालयमा राजनीतिक र पारिवारिक स्वार्थ हाबी हुँदा ठुलो समस्या भएको बताए । प्राणमञ्चसँगको कुराकानीमा उनले भने “हामीले लामो समयदेखि विद्यालयमा उत्पन्न समस्याको रचनात्मक समाधान गर्न सुझायौँ, खबरदारी पनि ग¥यौँ तर न विद्यालय प्रशासनले सुन्यो न त विद्यालय व्यवस्थापन समितिले । ६ वर्षदेखि अभिभावक भेला भएको छैन, आर्थिक विषय पनि डामाडोल पारेर लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिँदैन, अभिभावक पनि जागरुक हुन सकेको अवस्था छैन, अनि पठनपाठन कसरी व्यवस्थित हुन्छ त ?“ उनले विद्यालय प्रशासनले विद्यार्थीलाई स्तरीय पठनपाठन गराउनुको सट्टा चिटिङ गरेर विद्यार्थीलाई कक्षा पास गराउने प्रवृत्ति रहेकोसमेत दावी गरे ।

उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथबहादुर बुढाले बाहिर हल्ला भएजस्तो विद्यालयमा समस्या नभएको बरु कतिपय व्यक्तिहरुको स्वार्थ र मनमुटावले अनेक आरोप प्रत्यारोप गरेर विद्यालयमा भाँजो हाल्न खोजिएको जिकिर गरे । ६ वर्षदेखि अभिभावक भेला नभएको, समयसमयमा लेखापरीक्षण गर्ने र सार्वजनिक पनि नभएको÷नगरिएको, नियमित पठनपाठन र हेडसरको प्रशासनिक क्षमताको कमजोरी रहेकोसमेत स्विकारेका उनले अरु समस्या नभएको दाबी गरेका हुन् । उनले प्राणमञ्चसँगको कुराकानीमा कमजोर नियामक राज्य, न्युन चेतनास्तरको अभिभावक र जिज्ञासु विद्यार्थीको अभावमा पनि यस्तो समस्या बल्झिरहने गरेको बताए ।

उता शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शिव पण्डितले कानुनविपरित कार्य गर्ने अधिकार कसैलाई नभएको बताउँदै सो विद्यालयको बारेमा जिल्लामा पनि पटक–पटक गुनासो परिरहेका तर त्यहाँको विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन समस्या समाधान गर्ने भन्दापनि झनै बल्झाउनेतिर लाग्नु दुखद भएको बताए । उनले स्थानीय निकायको गठनसँगै शिक्षा क्षेत्रमा झन समस्या थपिएको पनि जिकीर गरे । यता नौबहिनी गाउँपालिकाले सो विद्यालयको मुद्दा अख्तियारमा भएकोले सोहिबमोजिम किनारा लाग्ने तथा पालिकाभित्रका कैयौँ अन्य विद्यालयहरुमा पनि समस्या देखिएकोले आफुहरु तुरुन्त समस्या समाधान गर्न लाग्ने बतायो । यो समाचार तयार पार्दासम्म सो विद्यालयका प्रधानाध्यापक हाम्रो सम्पर्कमा आउन चाहेनन् । हामीले उनलाई पटक–पटक फोन गर्न खोज्दा नउठाउने, फोन कटाउने तथा मोबाइल अफ गर्नेजस्ता हर्कत गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation