उपभोक्तामाथि व्यवसायीकाे चरम लापरबाही, फ्रिजमा कुहिएको मासु !

 

गुल्मी : तम्घासमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सोमबार बिहान गरेको मासु पसल अनुगमनका क्रममा दूध र मासु एकै ठाउँ राखेर बेचेको, धेरै दिनको बासी मासु सडेको अवस्थामा फेला परेको र व्यवसाय दर्ता नगरी चलाएको पाइएको केन्द्रका सूचना अधिकारी भरत गिरीले जानकारी दिए।

मानव जीवनको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी मासु पसल सञ्चालनमा रहँदा अनुगमन गर्ने निकायले हालसम्म कुनै कारवाही नगरी सुझावमात्रै दिएर आउने गरेको यहाँका उपभोक्ताहरुले गुनासो गर्दे आएका छन्।

तम्घासमा रहेको रेसुंगा मिट सपमा धेरै दिनदेखिको बासी मासु फ्रिजमा कुहिएको अवस्थामा फेला परेको र फ्रिज पनि बन्द अवस्थामा रहेको अनुगमनका क्रममा पाइएको गिरीले बताए।

यस्तै झिल्के दुग्ध डेरी तथा मासु पसल, साकुरा दूध डेरी र मामा भान्जा मासु पसलमा दूध र मासु नजिकै राखेर बिक्री गरेको पाइएको छ।

मासु पसल अनगमनका क्रममा धेरै त्रुटि पाइए अब के गर्नुहुन्छ भन्ने प्रश्नमा केन्द्रका प्रमुख भरत काफ्लेले तत्कालै पत्र काटेर सुधारका लागि केही दिनको समय दिइने र दिइएको समयमा सुधार नभए जरिवाना र कानुनअनुसार कारवाही गरेरै छाड्ने दावी गरे।

अनुगमनलाई निरन्तरता दिने र जनताको स्वास्थ्यमा असर गर्ने गरी काम गर्ने अधिकार कसैलाई नभएको भन्दै कारवाही गर्न पछि नहट्ने कार्यालयले जनाएको छ।

अनुगमनमा उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, रेसुंगा नगरपालिकाको पशु सेवा शाखा, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन र पत्रकारहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation