छोराको शुल्क तिर्न आमाको तिलहरी धितो

भनिन्छ–आमा महान् हुन्। कोहलपुर–२, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन्। उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन्। शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी हुन्।

कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राखेकी छिन्। ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न सकेकी थिइनँ,’ उनले भनिन्, ‘शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन। अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाएँ।’

शुल्कका लागि पैसा जुटाउन उनले घरमा पालेको खसी बेच्ने सोच बनाएकी थिइन्। तर गाउँमा मान्छे मरेकाले उनले सोचे अनुसार हुन सकेन। उनले भनिन्, ‘गाउँमा मान्छे बितेपछि खसी काट्ने कुरा भएन। खसी बिक्री भएन। अनि छोराको परीक्षा नरोक्न तिलहरी धितो राखेर पैसा लिएँ।’

उनका दुई छोरा समावेशी माध्यमिक विद्यालय, तिलकपुरका विद्यार्थी हुन्। एउटा छोरा नवीनबहादुरको स्वास्थ्य अवस्था कमजोर छ। कस्तुराले तिलहरी धितो राखेर शुल्क तिरेपछि अर्का छोरा पृथीबहादुरले भने एसइई दिन पाउने भएका हुन्। ‘विद्यालयबाट छोराको शुल्क बुझाउन भनेर बेलाबेला खबर आउँथ्यो,’ उनले भनिन्, ‘तर के गर्नु गरिबीले गर्दा तिर्न सकेकी थिइनँ।’

अन्तिममा परीक्षा नै छुट्ने भएपछि तिलहरी धितोमा राखेर शुल्क तिरेको उनले बताइन्। ‘छोराको खुसी नै मेरो खुसी हो,’ उनले भनिन्।

मासिक ३ प्रतिशत ब्याज दिने गरी तिलहरी धितोमा राखेको उनले बताइन्। उनका पति रोजगारीका लागि भारत पुगेका छन्। सम्पत्तिका नाममा एउटा जस्तापाताले बनाएको सानो घर छ। एक मुठी उब्जनी हुने जग्गा छैन। कस्तुरा पनि दैनिक ज्यालादारीको काम गर्छिन्। ‘तिलहरी धितो राखेर छोराले एसइई दिन त पाउने भयो। यसमा खुसी लागेको छ,’ उनले भनिन्, ‘तर एसइई पासपछि के पैसाले छोरालाई पढाउने भन्ने चिन्ता लागेको छ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation