इम्यानुएल म्याक्रों र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता हुँदै


फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आज चिनिया समकक्षीसँग भेट्दैछन्।

 

 

चीनको तीनदिने राजकीय भ्रमणका लागि उनी बुधबार बेइजिङ पुगेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन पनि  बेइजिङ पुगेकी छन्। ​म्याक्रों र लेयनले राष्ट्रपति सीसँग युक्रेनमा जारी युद्धबारे कुराकानी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

दुवै नेताले रुस–युक्रेन युद्ध अन्त्यका लागि मस्कोमाथि दबाब दिनमा सीको समर्थन प्राप्त गर्ने प्रयास गर्ने आकलन गरिएको छ। तर उनीहरु आफनो प्रयासमा सफल होलान् भन्ने अपेक्षा गरिएको छ।

बेइजिङ ओर्लेको केही समयपछि त्यहाँ रहेका फ्रान्सेली समुदायलाई सम्बोधन गर्दै म्याक्रोंले मस्कोसँगको घनिष्ठतम् सम्बन्धका कारण युक्रेन युद्ध अन्त्यमा बेइजिङले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने जनाएका छन्।

बेइजिङ जानुअघि म्याक्रोंले समकक्षी सीलाई युक्रेनविरुद्धको युद्धमा मस्कोलाई हतियार आपूर्ति गरे त्यो युरोपलाई स्वीकार्य नहुने कुरामा जोड दिने बताएका थिए। साथै उनले दुवै देशबीच व्यापार तथा आर्थिक सम्बन्ध सुदृढीकरणबारे पनि वार्ता हुने जनाएका थिए।

रुस–युक्रेन युद्धमा चीनले औपचारिक रुपमा तटस्थ भूमिका निर्वाह गर्दै आएको छ। यद्यपि पश्चिमा देशले लगाएको प्रतिबन्धको सामना गर्न उसले रुसलाई आर्थिक तथा कूटनीतिक रुपमा पृष्ठपोषण भने गर्दै आएको छ।

राष्ट्रपति सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच एक दशकभन्दा लामो समयदेखि निकटतम मित्रता रहँदै आएको छ भने अघिल्लो महिना सी मस्को भ्रमणमा गएका बेला दुवै देशबीच रणनीतिक साझेदारीपत्रमा हस्ताक्षर समेत भएको थियो।

रुस–युक्रेनयुद्ध अन्त्यका लागि चीनले युद्धविराम र शान्तिवार्तालगायत १२ बुँदे अवधारणापत्र अघि सारे पनि त्यसमा ठोस प्रगति हुन सकेको छैन। पश्चिमा देशले चीनको उक्त प्रस्तावलाई शंकाको दृष्टिले हेर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation