प्रहरी कार्यालय हटाउन महानगरको निर्देशन

नेपाल प्रहरीकै भवनले फुटपाथ तथा सडक अवरोध गरेको भन्दै काठमाडौं महानगरले हटाउन चेतावनी दिएको छ । शनिबार महानगरका मेयर बालेन्द्र साह बालेनले फुटपाथ र बाटो मिचेर बनाएका संरचना हटाउन चेतावनी दिएका हुन् ।

साहले फुटपाथ सधैँ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर फुटपाथमा व्यापारलाई समेत निषेध गरेको बताउँदै यो नियम सबैका लागि रहेको बताएका छन् । ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ, त्यो संरचना प्रहरी आफैँले हटाउनुहोला,’ मेयर साहले सामाजिक सञ्जाल फेसबुकमार्फत चेतावनी दिएका छन्, ‘नत्र समतामूलक कानुनको प्रयोगका लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’

                                       

यस्तै, सडक विभागले पनि चक्रपथ सुधार आयोजनाका क्रममा पर्ने चक्रपथ क्षेत्रमा प्रहरी कार्यालयहरू हटाउन निर्देशन दिइसकेको छ । आयोजनाका क्रममा सडक क्षेत्रभित्रै पर्ने चौकीहरूलाई सार्न एक महिनाअघि नै निर्देशन दिए पनि नेपाल प्रहरीले अझै सारेको छैन । माछापोखरी, बालाजु सडक, वसुन्धरालगायत क्षेत्रमा पर्ने प्रहरी चौकीहरू हटाउन विभागले निर्देशन दिएको थियो । तर, ठाउँ अभावका कारण ती प्रहरी कार्यालयलाई अन्यत्र सार्न कठिन भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

महानगरले दियो यी ठाउँका प्रहरी कार्यालय हटाउन निर्देशन

मेयर साहले सडक र फुटपाथ ओगटेका प्रहरी कार्यालयको किटान गरेर हटाउन निर्देशन दिएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय अगाडि रहेको प्रहरी बिट, सामाखुसी, जडीबुटी चोक, सिनामंगल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सिपाखा, रुद्रमती मैतीदेवी, असन चोक, न्युरोड पीपलबोट, धोबीचौर, देउराली क्लब, रातोपुल, बौद्ध, ताहाचल, पेप्सीकोला, माछापोखरी र त्रिभुवन विमानस्थलअगाडि रहेको प्रहरी बिट हटाउन निर्देशन दिइएको छ । यदि प्रहरी आफैँले यी बिट नहटाए डोजर चलाउने चेतावनी महानगरले दिएको छ ।

सरकारी र दूतावासका भवनलाई पनि सडक अवरोध नगर्न पत्राचार

उपत्यकाका सडक र फुटपाथलाई सरकारी र दूतावासका भवनले समेत अवरोध गरेका छन् । महानगरका अनुसार बागबजार, दरबारमार्ग, लाजिम्पाट, नयाँ बानेश्वर, त्रिपुरेश्वरलगायत क्षेत्रमा रहेका सरकारी र दूतावासका कार्यालयले फुटपाथ र सडक मिचेका छन् । त्यसलाई हटाउन पनि महानगरले दूतावासलगायत विदेशी नियोगसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गरेको छ । सडक र फुटपाथमा हिँड्डुल सहज बनाउन मेयर साहले यसअघि फुटपाथ व्यापारलाई कडाइ गरेका थिए ।

जग्गा नहुँदा प्रहरी बिट सार्न समस्या : नेपाल प्रहरी 

नेपाल प्रहरीले विगतदेखि नै बस्दै आएको ठाउँबाट बिट अर्को ठाउँमा सार्न प्रहरीसँग जग्गा नभएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता पोषराज पोखरेलका अनुसार हाल उपत्यकाभित्र सडकआसपास रहेका प्रहरी बिट सार्न सरकारले नै जग्गा उपलब्ध गराउनुपर्ने हुन्छ । तर, तत्काल सडकछेउछाउका प्रहरी बिट सार्नलाई जग्गा नभएकाले यसबारे अन्योलता रहेको प्रवक्ता पोखरेलले बताए । ‘नेपाल प्रहरी साबिकदेखि नै बस्दै आएका ठाउँहरूलाई सार्ने तयार भएको छैन,’ उनले भने, ‘यसमा सरकारले नै ध्यान दिनुपर्छ, किनभने हाल जहाँ–जहाँबाट प्रहरीले सुरक्षा दिइरहेको छ, ती ठाउँमा बिट र चौकी हटाउन मिल्दैन ।’

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले गृह मन्त्रालय वा स्थानीय सरकारले प्रहरी बस्ने ठाउँ व्यवस्था गर्नुपर्ने बताए । उनले हाल उपत्यकामा धेरै स्थानमा प्रहरी भाडाकै घरमा बसिरहेकाले हाल सडकछेउछाउका बिट भाडाकै भवनमा भए पनि सारिने जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीका पाँच सय ६२ वटा प्रहरी कार्यालय भाडाका घरमा बस्दै आएका छन् । त्यसबापत नेपाल प्रहरीले वार्षिक १० करोड २८ लाख ३३ हजार रुपैयाँ भाडा तिर्दै आइरहेको छ । हाल कोसी प्र्रदेशमा रहेका ६३, मधेस प्रदेशमा रहेका ४१, बागमती प्रदेशका ८२, गण्डकीका ८३, लुम्बिनीका ९४, कर्णालीका ९८, सुदूरपश्चिमका ६५ वटा प्रहरी कार्यालय भाडाको भवनमा बस्दै आइरहेका छन् । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation