मन्त्री बन्दै हुनुहुन्छ ? २ करोड जम्मा गर्नुस्ः सांसद ढाकाकुमार श्रेष्ठको खुलासा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद ढकालले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको बताएका छन् ।

प्रचण्ड सरकारमा सहभागी रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गर्दै आएको थियो ।

३ माघमा मन्त्रिपरिषद् विस्तार हुनुअघि भएको यो सम्वादमा सांसद ढाकाकुमार श्रेष्ठले भनेका छन्, ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर !’

उनले अगाडि भनेका छन्, ‘मन्त्री पनि बन्नुपर्‍यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरुको सहयोग पनि चाहियो ।’

सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको सांसद ढाकाकुमारले बताएका छन् । उनले भनेका छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २/३ जना साथी हुनुहुन्छ । उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन् ।’

उनले मेडिकल व्यवसायी प्रसाईंलाई रकम दिए आफूले मिलेर काम गर्ने समेत बताएका थिए ।

ह्वाट्सएपमा भएको भनिएको संवादमा व्यवसायी प्रसाईंले पनि २ करोड सहयोग गर्ने, तर त्यसका लागि केही समय लाग्ने बताएका छन् । ‘तपाईँलाई मैले २ करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ’, प्रसाईंले भनेका छन्, ‘उनीहरुसँग टाइम माग्नुस्, म दिन्छु भन्नुस् ।’

सम्वादका क्रममा प्रसाईंले तोसिमा कार्कीले लडाईँ गर्दिनन् नि भन्ने प्रश्न गरेका छन्, जसमा रास्वपा सांसद ढाकाकुमारले मन्त्री छान्ने जिम्मा रवि लामिछानेलाई दिइसकेका कारण कुनै समस्या नहुने बताएका थिए ।

त्यो बेलामा स्वास्थ्यमन्त्रीका लागि रास्वपामा ढाकाकुमारसँगै डा. चन्दा कार्की र डा. तोसिमा कार्की आकांक्षी थिए । ३ माघमा भएको मन्त्रिपरिषद विस्तारका क्रममा स्वास्थ्य मन्त्रालय एमालेले पायो । स्वास्थ्य राज्यमन्त्री भने रास्वपाकी तोसिमा भइन् ।

यद्यपि २२ माघमै रास्वपाले सरकार छाड्यो । तर त्यसको दुई महिनापछि अडियो सार्वजनिक भएको छ ।

निलम्बन गरेर छानबिन गर्छौं

आफ्नो सांसदले मन्त्री बन्नका लागि पार्टीमा बुझाउनुपर्‍यो भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने बताएको छ ।

सांसद श्रेष्ठलाई निलम्बन गरेर छानबिन लागि समिति बनाउन लागिएको रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation