शैक्षिक विकासमा स्थानीयता र सिर्जनशीलताको आयाम थप्दै रमना पाठशाला

 

शैक्षिक जगतमा केही नयाँपनको संज्ञा दिन खोजिरहेको रमना पाठशालाले हिजोआज रचनात्मक र शिर्जनात्मक कार्यमा व्यस्त देखिन्छ । दाङको घोराही उपमहानगरपालिका १२ मा रहेको सो पाठशालाले वार्षिक परिक्षाको समाप्त भएपछिको बिदाको समयमा विद्यार्थीहरुलाई नृत्य तथा गायन विधामा पनि अब्बल बनाउने गरी साँस्कृतिक कार्यक्रमहरु गरिरहेको छ ।

पूर्वाधारको उचित व्यवस्थापन तथा शैक्षिक गुणस्तरलाई उचाइ दिनेगरी नयाँ व्यवस्थापनका साथ अगाडि बढिरहेको सो निजी विद्यालयको अभिभावक तथा वरपरका समुदाय र सामाजिक संजालमा यतिबेला निकै चर्चा परिचर्चा देखिन्छ ।

रचनात्मक कार्यको सिलसिलामा आज सो विद्यालयले एक समारोहबिच पत्रकार सम्मेलन गरी विद्यालयको विगत, वर्तमानको समीक्षा गर्दै आगामी गन्तव्यका विषयमा आफ्ना शैक्षिक कार्यक्रमको सार्वजनिक गरेको छ । सो अवसरमा विद्यालयले विद्यार्थीको मानवीय विकास र नैतिकतालाई ध्यान दिँदै सांस्कारिक र सीपमूलक शिक्षालाई आफ्नो प्राथमिकता राखेको बताएको छ ।

शैक्षिक पाठ्यक्रमको सिर्जनात्मक अध्यापनको अलावा बढदो विज्ञान प्रविधि र माटोको आवश्यकतालाई बोध गर्ने खालको पठनपाठनलाई प्राथमिकता दिइएको बताएको हो । नयाँ शैक्षिक सत्रका योजनाबारे जानकारी दिँदै पाठशालाका शैक्षिक निर्देशक कृष्णदेव थापाले खेलकुद, कला, संगीतलगायतका क्षेत्रलाई प्राथमिकता दिइएको बताए । उनले नयाँ शैक्षिक सत्रमा कक्षा १० सम्मको पठनपाठन सुरु गर्न थालेको पाठशालाले कम्प्युटर, साइन्स ल्यावलगायतका सुविधा विद्यार्थीहरुलाई दिएको बताए ।

अब राम्रो शिक्षा लिनकै लागि घोराही बजार पुग्नुपर्ने बाध्यताको अन्त्य गरिने बताउदै उनले दक्ष शिक्षकहरुबाट गुणस्तरीय शिक्षा उपलव्ध गराइने बताए । विद्यालयले ३ सय विद्यार्थीमध्ये ६० जना दलित, जेहेन्दार, गरीव, जनजाति तथा विपन्नलाई निःशुल्क पठन पाठन गराइरहेको जनाएको छ । विद्यालय जानै नसक्ने निमुखा परिवारका बालबालिकाहरुका लागि निःशुल्क पठनपाठनको व्यवस्था गरेको पाठशालाका शैक्षिक निर्देशक थापाले जानकारी दिए ।

विद्यालयले सरकारले निर्धारण गरेको नियमित पाठ्यक्रमसँगै स्थानीय पाठ्यक्रम लागु गर्न लागेको जनाएको छ । थापाले घोराही र दाङको चिनारी र यसक्षेत्रको प्राकृतिक सम्पदा, ऐतिहासिक स्थान, भुगोललगायत संस्कार, संस्कृतिलाई स्थानीय पाठ्यक्रममा समेटिएको र विद्यालयमा नियमित स्वास्थ्य जाँच गर्न एक जना हेल्थ असिष्टेन्टको व्यवस्था गरिएको बताए ।

मल्टिमिडियामा आधारित अध्यापन रहेको रमना पाठशालामा होली, माघी, दशैँ, धान दिवस, तीजलगायत सांस्कृतिक पर्वमा विद्यार्थीहरुकै सहभागितामा मनाइने र रमणीय क्षेत्रमा रहेको पाठशाला आगामी वर्ष पूर्ण वातावरणमैत्री बनाउने योजना रहेको प्रिन्सिपल विष्णु हमालले जानकारी दिए ।

कार्यक्रम पाठशाला सञ्चालक समितिका अध्यक्ष बलबहादुर बुढाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष सविन प्रियाशनको प्रमुख आतिथ्यतामा भएको थियो । प्रिन्सिपल विष्णु हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका योजना र शैक्षिक गतिविधिबारे शैक्षिक निर्देशक कृष्णदेव थापाले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation