कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका स्वर्णिम वाग्ले तनहुँ-१ को उपनिर्वाचनमा भारी मतसहित विजयी भएका छन् । पार्टी सुधारको एजेन्डा बोकेर गत प्रतिनिधिसभाको चुनावमा कांग्रेसभित्रै संघर्ष गर्ने भन्दै बसेका वाग्ले उपनिर्वाचनमा दल त्यागेर रास्वपामा प्रवेश गरेका थिए ।
नयाँ चुनावी लहरप्रति सुषुप्त रुपमा झाँगिएको वाग्लेको लोभलाई तनहुँका मतदाताले भारी मतले अनुमोदन गरिदिएका छन् । उनी कांग्रेसभित्र सुधारको सम्भावना नरहेको निष्कर्ष निकाल्दै बाहिरिएका थिए । वाग्लेको विजय मार्फत् २०४८ सालदेखि कांग्रेसले आफ्नो गढ ठान्दै आएको तनहुँ-१ मा रास्वपाको प्रवेश भएको छ ।
यही क्षेत्रमा २०७४ सालको चुनावमा एमालेका कृष्णकुमार श्रेष्ठले एकपटक जितेको बाहेक अन्य सबै जितको इतिहास कांग्रेसको खातामा थियो । कांग्रेसभित्रको विरासत समेत आफूमा रहेको भन्दै चुनावी अभियानमा लागेका वाग्लेले निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार ३४ हजार ९ सय १८ मत ल्याएका छन् । उनले कांग्रेसका स्थानीय नेता गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९६ मतले हराए । भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे । आयोगको अन्तिम मतपरिणाम आउँदा यो तथ्यांक झन् बढ्न सक्छ । जबकि गत प्रतिनिधिसभाको चुनावमा यही क्षेत्रबाट कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मतसहित जितेका थिए । पौडेल राष्ट्रपति भएपछि खाली भएको सिटमा गरिएको उपचुनावमा वाग्ले फराकिलो मतान्तरसहित निर्वाचित भए ।
चुनावी परिणामले तनहुँमा र एमाले दुवैको परम्परागत मतको आधारभूमि पनि भत्काएको छ । गत चुनावमा निकटतम प्रतिद्वन्द्वी एमालेले त्यसबेला पाएको मत समेत जोगाउन सकेन । पाँच महिनाअघिको चुनावमा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए । अहिले एमालेका उम्मेदवार सर्वेन्द्र खनालले आफ्नै पुर्ख्यौली थलोमा ८ हजार ४ सय ८८ मत मात्र पाए ।
सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारको रुपमा खडा गरिएका कांग्रेसका भट्टराईलाई नयाँ चुनावी लहरले पाखा लगाइदिएको छ । उनलाई मत माग्न प्रधानमन्त्री पुष्पकमल दाहालसहित गठबन्धनका नेताहरू तनहुँ पुगेका थिए । राष्ट्रपति पौडेलले छाडेको स्थानमा भट्टराईको पराजयले कांग्रेसभित्र खैलाबैला मच्चाएको छ । सभापति शेरबहादुर देउवाले सोमबार पार्टी संसदीय दलको बैठकमा नै कांग्रेसभित्र सुधारको आवश्यकता रहेको बताएका छन् । जबकी वाग्लेले कांग्रेसमा रहँदा यही मुद्दा उठाउँदा कुनै सुनुवाइ नभएको भन्दै पार्टी नै छाडेका थिए ।
वाग्लेले कांग्रेस छाड्नुअघि भनेका थिए- ‘पछिल्ला वर्ष कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको छ, जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजू–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ । अब कुरेर बस्ने; कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान, ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ प्रयोजनमा जान चाहें ।’
पार्टी छाडेको एक महिना नपुग्दै वाग्ले कांग्रेसलाई हराउँदै संसद् छिर्दैछन् । गत चुनावमा वाग्ले कांग्रेसको चुनावी घोषणापत्र तयार गर्ने समितिमा पनि थिए । त्यसबेला उनले महामन्त्री गगन थापासँग निकट रहेर उनलाई सघाएका थिए । वाग्ले अब कांग्रेस नेताहरूको राजनीतिक प्रतिस्पर्धीको रुपमा संसद्मा रहनेछन् । वाग्लेको यो जित कांग्रेसका लागि एउटा निर्वाचन क्षेत्रको पराजयमात्र होइन, दलभित्र झाँगिदै गएको निषेधको राजनीतिमाथि मतदाताले दिएको झापड पनि हो । नसुध्रिए आगामी दिनमा पार्टीले भोग्दै जानुपर्ने असफलताको जनाउ घण्टी पनि हो ।
अन्तर्राष्ट्रिय दातृ संघसंस्थाका आकर्षक सेवा-सुविधा र अवसर छाडेर कांग्रेस राजनीतिमा सक्रिय भएका वाग्ले गत मंसिर ४ कै निर्वाचनमा उम्मेदवार बन्न चाहेका थिए । उनको नाम चितवन-१ बाट सिफारिस भएको पनि थियो । उनलाई टिकट दिलाउन कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लागिपरेका थिए । थापा वाग्लेका लागि काठमाडौं–४ छाडेर सर्लाही–४ मा जान तयार थिए । गोरखा र काठमाडौंबाट पनि उनको नाम चर्चामा थियो तर सभापति देउवा र आरजु राणाले नै वाग्लेलाई नियतवश रोकेको चर्चा कांग्रेस वृत्तमा छ ।
कांग्रेसबाट टिकट नपाएपछि उनलाई एमालेले काठमाडौं–७ र राष्ट्रिय स्वतन्त्र पार्टीले देशको कुनै पनि क्षेत्रबाट उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । तत्काल केही परिर्वतन गरौँ भन्ने राजनीतिक ‘हुटहुटी’ का साथ सक्रिय बनेका वाग्लेले ती दुवै प्रस्तावलाई अस्वीकार गर्दै पाँच वर्ष प्रतीक्षा गर्ने उद्घोष गरेका थिए । तर उनी उपचुनाव हुने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा गए ।
विषय विज्ञताका कारण धेरै अन्तर्राष्ट्रिय फोरमहरूमा वाग्ले सुपरिचित छन् । उनले मुलुकका आर्थिक सूचकहरू कमजोर भएको बेलामा आफूले कुनै न कुनै भूमिका खेल्न सक्ने बताउँदै आएका छन् ।आफूमा देश परिवर्तनको ‘हुटहुटी’ भएको भन्दै वाग्लेले चुनावी अभियानका क्रममा पनि यस्तै मुद्दाहरूलाई आफ्नो मन्तव्यको मुख्य विषय पनि बनाएका थिए ।
वाग्लेको ‘विज्ञता’ को चर्चा नै सानदार जितको आधार बनेको हो । तर यो जितभित्र उनको व्यक्तित्वप्रतिको आकर्षण मात्र होइन, परम्परागत दलहरूको कार्यशैलीप्रतिको असन्तुष्टिको मत पनि पोखिएको छ । निश्चित कालखण्डमा नयाँप्रतति आशा र भरोसा राख्दै मत बदल्ने इतिहास यो उपनिर्वाचन्मा तनहुँमा पुनरावृत्ति भएको छ । यस्तै लहर २०४८ सालमा कांग्रेस, २०५१ सालमा एमाले, २०६४ सालमा माओवादी र मधेसीकेन्द्रित दल र २०७४ सालमा नेकपामा देखिएको थियो । यसपटक मतदाताले रास्वपालाई भरोसा गरेर परम्परागत मत बदलेका छन् । वाग्लेले नै सार्वजनिक रुपमा चुनावी अभियानका क्रममा भनेझैं ‘परम्परागत मतको जमिनदारी भत्केको छ ।’
बूढानीलकण्ठबाट हाई स्कुलसम्म पढेका वाग्लेले त्यसपछि लन्डन स्कुल अफ इकोनोमिक्स, हार्वर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा अध्ययन गरेका छन् । वाग्ले तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारका पालामा राष्ट्रिय योजना आयोगका सदस्य थिए । त्यतिबेला उपाध्यक्ष गोविन्द पोखरेल थिए । सदस्यका रूपमा दुई कार्यकाल बिताएका वाग्ले शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री भएका बेला उपाध्यक्ष बनेका थिए ।
विगतमा विज्ञको हिसाबले जोडिए पनि सक्रिय राजनीतिको मैदानमा वाग्लेको यो पहिलो प्रवेश हो । पहिलो प्रयासमै उनले संसदीय चुनावको परीक्षा उच्च अंकसहित पास गरेका छन् । उनी अब परम्परागत दल र सांसदहरूकै पदचाप पछ्याउँदै हिँड्छन् कि फरक देखिन्छन्, सांसदको रुपमा प्रतिनिधिसभाको नयाँ कक्षामा उनको अब्बलताको अर्को परीक्षा हुनेछ । कान्तिपुरको सहयोगमा