

काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघका संयाेजक खेम थपलियाद्वारा लिखित नाट्यकृति कमरेड फिप्टी पर्सेन्ट राजधानीमा आज एक कार्यक्रमकाबीच सार्वजनिकीकरण तथा परिचर्चा गरिएको छ । संवाद डबलीमा आयोजित सो कार्यक्रममा आधा दर्जन समिक्षकहरुले ‘कमरेड फिप्टी पर्सेन्ट’माथी चर्चा/परिचर्चा गरे । सो नाट्यपुस्तकमाथी चर्चा गर्दै साहित्यकार तथा नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले साहित्य नै समाज रुपान्तरणकारी चेतना पैदा गर्ने हतियार भएको बताए ।
दार्शनिक कार्ल मार्क्स र हेगेलको उदाहरण पेस गर्दै बास्तोलाले भने,‘कार्ल मार्क्सले हेगेलले इतिहास बारेको परिभाषालाई थप व्याख्या गर्दै इतिहास उही रुपमा दोहोरिँदैन बरु यो पहिलोचोटी वियोगान्तको रुपमा र दोस्रोचोटी मजाकको रुपमा दोहोरिन्छ भन्नु भएको कुरा सत्य हो ।’ दार्शनिक हेगेलले इतिहास दोहोरिन्छ मात्र भनेका थिए । उनले साहित्यकार खेम थपलियाको नाटक संग्रह ‘कमरेड फिप्टी सर्पेन्ट’ ले पनि इतिहासमा भएका घटनाहरुको नयाँ तरिकाले जीवन्तता उजागर गरेको बताए ।
सो कार्यक्रममा अर्का वक्ता बद्री चौलागाईंले प्रगतिशील साहित्यले समाजमा रहेका वर्गहरुबीचको संघर्ष र त्यसको समाधान दिनेगरी साहित्य सिर्जना गर्नुपर्नेमा जोड दिए । त्यस्तै पुस्तक परिचर्चा कार्यक्रमका अर्का लेखक तथा साहित्यकार वक्ता अशोक सुवेदीले माओवादी जनयुद्धले स्थापना गरेको साहित्यिक चेतना माओवादी युद्धकै मुल नेतृत्वको आन्दोलनबाट भएको पलायनताका कारण स्खलित भएकोले अब फेरि त्यसलाई नयाँ तरिकाले उठाउनु पर्ने बताए ।
उनले ‘कमरेड फिप्टी पर्सेन्ट’ नाटकमार्फत् खेम थपलियाले त्यसको सुरुवात गरेको बताए । साथै उनले नाटक मञ्चनीय विधा भएकोले कृतिको समिक्षा द्वन्द्ववादी तरिकाले गरिनुपर्नेमा जोड दिए । उनले कृतिको समिक्षा गर्दा कि पूजा गर्ने, किन खेदो खन्ने तरिकाले गर्न नहुने धारणा राखे । अर्का समिक्षक विजय विष्फोटले थपलियाले नाट्यकृति ‘कमरेड फिप्टी पर्सेन्ट’मार्फत् विगतका कम्युनिष्ट आन्दोलन र युद्धहरुको समिक्षा गरेको बताए । उनले नाटकको संवादमा आन्दोलनबाट आएको कार्यकर्ता आफ्नो नेताको सामु आत्महत्या गर्छु भन्न किन बाध्य भयो ? भन्ने प्रश्न गरे ।
नाटक लेखक स्वयम् खेम थपलियाले आफूले साहित्यको माध्यमबाट समाज र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा विकास भएका गलत तत्वहरुलाई उठाउन खोजेको बताए ।
कार्यक्रममा मन्तब्य राख्दै सबै बक्ताले थपलियाकाे कमरेड फिप्टि पर्सेन्ट नाट्य कृति समाजवादी यथार्थमा आधारित समकालीन परिवेशलाई जाेडेर माओवादी आन्दोलनमा आएकाे पछिल्लो विचलनका विविध सन्दर्भलाई उजागर गरेकाे र माक्र्सवादी विश्वदृष्टिकाेण अनुसार समसमायिक बिषयमा नाट्य कलाले भरिएकाे कुरा व्यक्त गरे । लेखक थपलियाले : कमरेड फिप्टि प्रर्सेन्ट , उज्यालो भएकाे छैन र बद्री अखडामा नामक शिर्षकमा ३ वटा नाट्यक्रमलाई जाेडेर कृति निर्माण गरेका छन ।