लोकसेवा आयोगको वेबसाइटमा परीक्षार्थीले भरेका अनलाइन आवेदनको डकुमेन्टहरु सरकारी डाटा सर्भरबाटै हराएपछि आयोगले पुन: विज्ञापन खोल्ने भएको छ । केन्द्रका अनुसार डाटा सेन्टरबाट झन्डै ६० वटा सरकारी निकायका डाटा हराएको छ ।
लोकसेवा आयोगले अनलाइनबाटै आवेदन लिने गरेको छ । आयोगको वेबसाइटमा दर्ता भएका आवेदनहरु सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमातहतको डाटा सेन्टरमा सेभ थियो ।
लोकसेवा आयोगलगायतका डाटाको ब्याकअपसमेत नभएकाले केन्द्रले डाटा रिकभर गर्न नसकेको हो । नयाँ १८ हजार आवेदकले फेरि फाराम भर्नुपर्नेछ । दस्तुर तिरेको तथ्यांक आयोगमा सुरक्षित रहेकाले त्यसै आधारमा फेरि नयाँ दरखास्त भर्न लगाउने आयोगको तयारी छ । २०७९ मंसिर, पुस, माघ र फागुन महिनामा आह्वान गरिएका दरखास्तहरुको डाटा हराएको लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीको भनाइ छ ।
दुई महिनाको अथक प्रयासपछि पनि केन्द्रले डाटा रिकभरी गर्न सकेको छैन । आयोगले वैशाख १२ गते आयोगले पत्राचार गरेर डाटा रिकभरीको प्रयास जारी रहे पनि कहिले कति मात्रामा रिकभरी हुने हो त्यो यकिन नभएको जनाएको छ । केन्द्रका प्राविधिकहरुले एक सातामा रिकभर गर्न सकिने भन्दै प्रयास थालेका थिए । तर दुई महिना बितिसक्दा पनि खासै डाटा रिकभर नभएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका उप-निर्देशक सफल श्रेष्ठले जनाए ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौंको सिंहदरबारमा एकीकृत डाटा सेन्टर र हेटौंडामा डिजास्टर रिकभरी सेन्टर सञ्चालन गरेको छ । तर कहिले सर्भर डाउन हुने त कहिले सरकारी वेबसाइटका डकुमेन्टहरु हराउने भएपछि केन्द्रको सेवामाथि प्रश्न उठ्ने गरेको छ ।