सुनिताकाे जीवन रक्षा गरिदिने अठाेटमा राजेश, जटिल राेगले चरम आर्थिक समस्या

शुक्रबार दिउँसाे जिल्ला प्रशासन कार्यालय सल्यानमा एउटा अनाैठाे कहालीलाग्दाे दृश्य देखियाे । प्रशासनकाे बाहिरी प्राङ्गनमा कुमाख गाउँपालिका ७ जिमालीका राजेश पुनले आफ्नी १७ वर्षकी श्रीमती सुनिता बाेहरालाइ अटाेमा राखेर ल्याउछन् ।

उनले प्रमुख जिल्ला अधिकारीलाइ आफ्नाे श्रीमतीकाे अवस्था देखाउन र सहयाेग माग्न पत्रकार सहित प्रजिअकाे कार्यकक्षमा पुग्छन् । र समस्यकाे बारेमा भावुक बन्दै सबैकुरा सुनाउछन् ।

गत असोज १५ गते कुमाख गाउँपालिका जिमाली देखि खैराबाङ जाँदै गरेको जिप दुर्घटनामा परि सुनिताकाे टाउकोमा गहिरो चोट लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाइ त्यहाँबाट उद्दार गरि उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकाे थियाे । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाकाे हेलिकप्टरमार्फत खलंगाबाट नेपालगन्ज रिफर गरिएकाे थियाे ।

नेपालगञ्जमा पनि उपचार नभएपछि उनलाइ भारतकाे लखनउ लगियाे । भारतकाे लखनउमा करिब ३ महिना उपचार गरियाे तर सुनिताकाे हाेस् आउन सकेन् । तीन महिना लखनऊ बस्दा आफूसँग भएको पैसा सकिएपछि उनले आफन्त र छिमेक गुहारे, साहुसँग ऋण मागे । १९ लाखभन्दा बढी रुपैयाँ खर्च गरे । तर थप पैसा जुटाउन सकेनन्। अर्धचेत अवस्थाकी सुनितालाई उनले सल्यान ल्याए।

एक महिना घर राख्दा सुनिताको समस्या बल्झिन थाल्यो । फेरि ऋण सापट गरी उनी गत पुस अन्तिमतिर नेपालगञ्जस्थित न्युरो स्पेसियालिटी ट्रमा सन्टेरमा पुगे। एक महिना उपचार गर्दा साहुबाट ऋण मागेर ल्याएको दुई लाख रुपैयाँ सकियो । चौबीसै घन्टा अस्पतालको रेखदेखमा राख्नुपर्ने बिरामी श्रीमतीलाई फेरि त्यहाँबाट निकाल्न उनी बाध्य भए ।

सुनिता अरूको सहयोगबिना यताउति फर्किन पनि सक्दिँनन्। अरूले जता पल्टाइदियो, त्यतै पल्टिरहन्छिन्। दिसा-पिसाब ओछ्यानमै हुन्छ। त्यही भएर उनको शरीरमा घाउ आउन थाल्याे । शरीर पाक्न थालेपछि अर्धचेत अवस्थाकी सुनितालाई राजेशले जिल्ला अस्पताल सल्यानमा डेढ महिना अघिदेखि ल्याएर राखेका छन् ।

तर जिल्ला अस्पताल सल्यानमा उनकाे उपचार सम्भव नभएकाेले बाहिर लैजान डाक्टरहरुले उनलाइ सुझाव दिइरहेका छन्। अहिलेसम्म उपचारमा घरकाे सबै सम्पति सकिएपछि आर्थिक अवस्था कमजाेर भएकाे कारण राजेशले सुनितालाइ बाहिर लिन सकेका छैनन् ।

 

गाडी साहु र यातायात समितिले उनलाइ उपचारका लागि अहिलेसम्म एक रुपैया पनि दिएकाे छैन् । प्रहरीकाे सुचिमा गाडी साहु फरार रहेका छन् भने चालक जिल्ला कारागार सल्यानमा छन्, गाडी प्रहरीकाे नियन्त्रणमा छ ।

दुर्घटनामा परेकाे जीपकाे समिति नमस्ते सल्यान यातायातले उपचार खर्च दिन मानिरहेकाे छैन् । गाडी साहु र समितिले उपचार खर्च नदिएपछि शुक्रबार न्याय माग्दै राजेशले अर्धचेत अवस्थाकी सुनितालाइ बाेकेर जिल्ला प्रशासन कार्यालयमा ल्याएका हुन् ।

‘उपचार गर्ने रकम अभाव छ । सल्यानबाट बाहिर लिने पैसा छैन् । यातायात समितिले पैसा दिदैन्, ‘राजेशले लेकाली अनलाइनसँग भने, ‘त्यसैले अर्धचेत अवस्थाकी श्रीमतीलाई अस्पतालबाट निकालेर न्याय पाइन्छ कि भनेर यहाँ ल्याएकाे हुँ ।’

प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले सुनिताकाे अवस्था देखेपछि उपचारकाे अवस्थाबारे जिल्ला अस्पतालका डाक्टरहरुलाइ बाेलाए । डाक्टरले सल्यानमा उपचार सम्भव नभएकाे तर काठमाडाैंमा उपचार हुने बताए । सुनिताकाे मस्तिष्क फर्काउन सकिने । सामान्य रुपमा बाहिरभित्र गर्न सक्नेसम्म हुनसक्ने डाक्टरले राय दिएका छन् ।

उपचारकाे खर्च भराउन नमस्ते सल्यान यातायत समितिका पदाधिकारीलाइ फाेन गरेर बाेलाइ पनि उनिहरु आएनन् । उनकाे उपचारका लागि काठमाडाैं पठाउने र खर्चकाे व्यवस्थापनका लागि विभिन्न निकायमा आह्वान गर्ने प्रजिअ खरेलले आश्वसन दिएपछि राजेशले सुनितालाइ पुनः जिल्लामा लिएका छन् ।

खरेलले उपचारको अभावमा छट्पट्टाइ रहेकी घाइते सुनितालाई उपचारको लागि वीर अस्पताल काठमाण्डौँमा लैजानको लागि सहजीकरण गर्ने बताए । उनले भने, ‘घाइतेलाई तत्काल उपचारको लागि काठमाण्डौँ लैजाने व्यवस्था मिलाउँछु, आर्थिक जोहोका लागि सबैसँग समन्वय गर्छु । दुर्घटनाका घाइतेको उपचार गर्नबाट पन्छिरहेका यातायात समिती, विमा समिती लगाएतका सँग बसेर यसलाई टुंगोमा पुर्याउँछु ।

जिल्ला अस्पताल सल्यानका डा. जितेन्द्र भण्डारीले लखनउको रिपोर्टमा हेर्दा मष्तिस्कमा समस्या भएको बताए । ‘अब सुनितालाई विशेषज्ञ सहितको उपचार चाहिन्छ, आफै खाने, हिडडुल गर्ने र बोल्न सक्ने बनाउनको लागि सर्जन र फिजियोथेरापि आवश्यक छ’, उनले भने ।  लेकाली अनलाइनबाट……

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation