तपाईं आफै विचार गर्नुस्, विद्यार्थीलाई पढाउने कि सिकाउने ?

शनिबार भनेपछि साताभरिको सबै थकान र तनाव मेट्ने दिन हो। बिहान अलिक ढिलो उठ्नु, ओछ्यानमै ढल्केर पत्रपत्रिका एक फेरा मार्नु र अलिक ढिलो गरी खाना खानु, दिउँसो एक झप्को निदाउनु बेलुकीपख टहलिन बाहिर निस्कनु; यस्तै छ उसको वर्षौंदेखिको शनिबार राज।

त्यस दिन पनि ढिलो गरी खाना खाने तयारी हुँदै थियो। त्यो समय राइस कुकर भनिने बिजुली कसौँडीमा खाना बन्थ्यो। महादेवीले खाना पस्कन अह्राइन्। थालमा खाना राख्दै जाँदा मकैको दानो जस्तो सानो डल्लो टलक्क टल्क्यो।

विज्ञानको विद्यार्थी उसले थाहा पाइहाल्यो, यो त मर्करी हो। अचम्म भयो, पाकेको खानामा मर्करी कसरी पर्‍यो! उसले महादेवीलाई बोलाएर देखायो। के थाहा कसरी यस्तो भयो!

उसको तेस्रो नेत्रले काम गर्‍यो। सानो छोरालाई बोलाएर सोध्यो– छोरा, हिजो तिमीले स्कुलमा के के पढ्यौ?

फटाफट जवाफ आयो तर शंका गरेको कुरा आएन।

फेरि सोध्यो– विज्ञानमा के पढाइ भएको थियो?

छोरो अलमलमा पर्‍यो, पाँच कक्षामा पढ्थ्यो। छोराको प्रत्युत्पन्नमतिले काम गर्‍यो, प्रश्न सोध्नुको कारण थाहा पाइहाल्यो। अलिक हडबडायो। केही बोलेन।

उसले छोरालाई ढाडस दिँदै मायालु भावले सोध्यो– हिजो थर्मोमिटर पढाइ भएको थियो हो?

‘हो।’

‘अनि तिमीले घर्राबाट थर्मोमिटर झिकेर राइस कुकरमा प्राक्टिकल गरेको हो?’

‘हो।’

‘अनि के भयो?’

‘थर्मोमिटर फुट्यो।’

‘फुुटेको थर्मोमिटर खोइ त?’

‘ढोकामा छ।’

‘देखाऊ त।’

भान्साकोठाबाटै भित्र पस्ने गरी शयनकक्ष थियो। छोराले ढोकाको एउटा पल्लामुनि कुनाबाट टिपेर फुटेको थर्मोमिटर देखायो।

अनुहारमा भयको भाव थियो।

उसले छोरालाई ढुक्क बनाउँदै भन्यो– केही पनि भएको छैन, तिमीले राम्रै काम गरेको हो, आफ्नो बाबासँग किन डराउनु र!

यति कुरापछि छोराकी मामुलाई पनि घटनाको झल्को आयो। मामु भान्साकोठामा पस्दै गर्दा सानो छोरो हतपत् गर्दै भित्रपट्टिको कोठामा पसेको थियो। मामुले ‘यो केटो किचन (भान्साकोठा) मा के गर्छ हँ’ भन्दा ‘केही पनि होइन’ भनेको थियो।

छोराले खाना उम्लिँदै गरेको कसौँडीभित्र ज्वरो नाप्ने थर्मोमिटर छुवाउनासाथ प्याट्ट फुटेको र हातमा बाँकी रहेको जति ढोकाको कुनामा फ्याँकेको घटना विवरण सुनायो।

उसले सोध्यो– कक्षामा पढाउँदा उम्लेको पानीमा थर्मोमिटर डुबाउनु हुँदैन भन्नुभएन?

‘अहँ, भन्नुभएन।’

‘भन्नुभयो होला!’

‘भन्नुभएन के! भनेको भए म किन डुबाउँथेँ त? नपत्याए स्कुल गएर सोध्नू न!’

कुरा प्रष्ट भयो। शिक्षकले थर्मोमिटर पढाए तर सिकाउनु पर्ने कुरा सिकाएनन्। सम्भावित दुर्घटनाबारे ख्याल गरेनन्।

थर्मोमिटरमा राखिने मर्करी विषालु तत्त्व हो। खाइयो भने मानिसको ज्यान जान सक्छ। धन्य! दुर्घटना भएन।

उसले करेसामा एउटा खाडल खन्यो, कसौँडी नै लगेर घोप्ट्यायो र माटोले पुर्‍यो।

ऊ यहाँ अर्को एउटा प्रसंग समावेश गर्छ।

विक्रमाब्द सत्तरी दशकको मध्यतिरको कुरा, नयाँ शैक्षिक वर्ष सुरू हुँदै गर्दा प्रधानाध्यापकले शिक्षक बैठक राखे। अनेक शीर्षकहरूमा छलफल भयो। अन्त्यतिर प्रधानाध्यापकले उसलाई सोधे– सर, छुटपुट केही भन्नुहुन्छ कि!

उसले मौकाको उपयोग गर्ने सोच्यो र बोल्यो– सबै कुरा आइसक्यो, हेडसरले मौका दिनुभयो, थोरै कुरा भन्छु। यहाँ हामी धेरै वर्ष पढाएका अनुभवी शिक्षकहरू छौं। तीस वर्षभन्दा बढी पढाउने पनि हुनुहुन्छ। मैले नै पनि तीस पुर्‍याउन आँटिसकेँ।

ऊ बोल्दै गयो– आजसम्म हामीले पढायौं, धेरै पढायौं, पढाएरै कपाल फुलायौं। यस वर्षदेखि हामी सबै जना पढाउन छाडौं। अब पढाएर हुँदैन, हामी पढाउने काम बन्द गरौं।

ऊ अलिक घुमाउरो बोल्दै थियो। शिक्षकहरूले मुखामुख गरे। सबैको अनुहारमा यो मान्छे के भन्छ भन्ने भाव झल्क्यो। खासमा ऊ यस्तै चाहन्थ्यो।

एक शिक्षक बोलिन्– तपाईंले के भन्न खोज्नुभएको? अब नपढाएर के गर्ने त?

उसले यस्तै प्रश्न अपेक्षा गरेको थियो।

उसले भन्यो– पढाउने काम छाडेर भोलिदेखि नै सिकाउन थालौं। हामी धेरै पढाउँछौं तर साह्रै थोरै सिकाउँछौं अथवा सिकाउँदैनौं। पढाउँछौं, पढाउँछौं, फगत पढाउँछौं। अब मेरो भनाइको आशय अवश्य प्रष्ट भयो। हेडसर, मेरो कुरा सकियो।

हँसिमजाक भयो। बैठक सकियो।

बैठकपछिको गफमा केही शिक्षकसाथीले पढाउनु र सिकाउनुमा के फरक छ र! बोलीमा पढाउने भने पनि कक्षामा सिकाउने काम नै त गरेका हुन्छौं नि भन्ने मत प्रकट गरे। केहीको धारणा शिक्षकले पढाउनु र सिकाउनु भन्नु प्रकारान्तरले एउटै हो, तिमीले आफ्नो वाक्पटुता देखाएका मात्र हौ भन्ने आयो।

ऊ प्रष्टीकरणतिर लागेन। भन्यो– साथीहरूले जेजे अर्थ लगाउनुभयो, ठिक लगाउनुभयो भन्ने मेरो विश्वास छ।

भोलिपल्ट एक शिक्षक साथीले बडो गम्भीर भावमा सोधिन्– सर, खासमा तपाईंले हिजो पढाउन छाडेर सिकाउन थालौं भनेको कुरा बुझिनँ। पढाउनु र सिकाउनुमा के फरक छ?

‘फरक छ मिस।’

‘मैले धेरै सोचेँ तर फरक फेला पार्न सकिनँ, मलाई प्रष्ट पारिदिनुपर्‍यो।’

‘फरक देखाउने सीमारेखा पातलो झिल्लीजस्तो हुन्छ, सामान्य आँखाले फेला पार्दैन।’

‘लौ, आज त्यो सीमारेखा देखाइदिनू।’

उसले २०४० सालको एउटा प्रसंगबाट कुरा सुरू गर्‍यो।

त्यस वर्ष ऊ कक्षा दसको अन्तिम परीक्षा एसएलसीको परीक्षार्थी थियो। ऊ उम्दा विद्यार्थी थिएन तर औसतभन्दा केही माथिको थियो, राम्रै अंक ल्याएर उत्तीर्ण हुने। यसो भए पनि गणितमा अलिक कमजोर थियो, ज्यामिति चाहिँ कालो अक्षर भैंसी बराबर।

उसले कहिल्यै पनि ज्यामिति जानेन, साध्य प्रमाणित गरेर देखाउन सकेन। अंकगणित र बीजगणितका भरमा उत्तीर्ण हुन्थ्यो। दुबैतिरबाट पचास अंक हाराहारी प्राप्त गर्ने आँट गर्थ्यो र ज्यामिति छाडिदिन्थ्यो।

दस कक्षामै हुँदा एकपटक आफ्नै शिक्षकसँग ट्युसन पढ्न पनि गयो। सोधेका कुनै पनि प्रश्नको जवाफ दिन सक्दैनथ्यो। एक दिन शिक्षकले हकारे, उसलाई नरमाइलो लाग्यो। एक साता गएर छाडिदियो।

तीस अंकको ज्यामिति नजानेर फेल हुँदिनँ भन्ने आत्मविश्वास जगायो।

परीक्षा दिन घर छाडेर डेरा बस्नु पर्थ्यो। एक महिनाअघि ऊ डेरामा गयो। परीक्षा आउन बीस दिनजति बाँकी हुँदा थोरै भए पनि ज्यामिति सिक्न पाए हुन्थ्यो भन्ने लाग्यो। एसएलसी परीक्षाको मुखमा अंग्रेजी, गणित र विज्ञानको ट्युसन मारामार चलेको हुन्थ्यो।

साथीको सिफारिसमा एक जना शिक्षककहाँ गयो। सुकुलमा दस जनाजति बसेका र शिक्षकले कालोपाटीमा लेखेर पढाउँदै गरेको देख्यो। उसलाई लाग्यो, यसरी पढेर त पार लाग्दैन।

अर्का शिक्षकको खोजीमा लाग्यो। अर्का एक साथीको सिफारिसमा साँझतिर शिक्षक भेट्न गयो। झट्ट हेर्दा भरखरका केटा थिए। केही विद्यार्थी सुकुलमा थिए, उनी सिकाउँदै थिए।

त्यो टोली बिदा भएपछि शिक्षकसँग कुरा भयो। बेलुकीपख अर्को एउटा टोलीमा राखेर पढाउँछु भने। ट्युसनका लागि पन्ध्र दिनमात्र समय थियो।

ऊ एक्लै र ज्यामिति मात्रै पढ्न चाहन्थ्यो। आफ्नो कुरा भन्यो। शिक्षक राजी भए। कुरा मिल्यो।

भोलिपल्टदेखि ऊ साँझको अन्तिम विद्यार्थी भयो, एक्लै। शिक्षकले केही प्रश्न गरे, उसले नगन्य मात्रै जवाफ दिन सक्यो।

शिक्षकले दुई वटा समानान्तर रेखालाई एउटा छेदकले काटेर देखाए। त्यसरी बन्ने सबै कोणहरू र आपसी सम्बन्ध चिनाए। कोण लेख्ने तरिका सिकाए। भोलिपल्ट पढ्न जाँदासम्ममा ऊ सबै कोण छुट्याएर लेख्न र चिन्न सक्ने भयो।

अर्को दिन उनले त्रिभुज सिकाए। त्रिभुजमा समानान्तर रेखा कोरेर पनि कोणहरू चिनाए। त्रिभुजका दुई भुजाले बनाएका छेदक र त्यसरी बनेका कोणहरू पनि सिकाए। तेस्रो दिनको कक्षामा पनि शिक्षक सन्तुष्ट भए।

यसपछि उनले त्रिभुजको एउटा साध्य सिकाए। अर्को एउटा साध्य गृहकार्यमा दिए। ऊ शिक्षकले भनेअनुसार गर्दै गयो।

अर्को दिन वृत्त सिकाए। वृत्तभित्र त्रिभुज बनाएर त्यसलाई पनि पर्गेलिदिए।

यति सिक्दा यस्तै पाँच–छ दिन भयो। बाँकी दिनमा उनले त्रिभुजका र वृत्तका साध्य सिकाए।

सबै अभ्यास एकसरो पूरा गर्दा पन्ध्र दिन बित्यो। पाँच दिनमा परीक्षा सुरू हुनेवाला थियो। अरू विषयको तयारी गर्दै हरेक दिन ज्यामितिमा पनि केही न केही गर्‍यो। गणितको परीक्षामा ऊ सन्तुष्ट भयो। ज्यामितिका सबै प्रश्न हल गरेको विश्वास भयो। बरु ज्यामितिको धुनमा अंकगणितका केही प्रश्न हल गर्न सकेन।

नतिजा आयो। गणितमा कहिल्यै नपाएको अनपेक्षित अंक पाएर फुरुंग पर्‍यो। परीक्षा दिइसक्दा ऊ ज्यामिति सिकाउन सक्ने भएको थियो। उसले त्यही समयमा थाहा पाएको हो पढाउनु र सिकाउनुको फरक र सिकाउनुको महत्त्व। खासमा उसलाई स्कुलमा शिक्षकले पढाएका थिए, सिकाएका थिएनन्। उसले सिकेको थिएन। ट्युसनका शिक्षकले पढाएनन्, सिकाए। उसले सिक्यो।

प्रष्ट पारिदिनुपर्‍यो भन्ने शिक्षक गणितकै थिइन्। उसले सोध्यो– कुरा बुझ्नुभो त मिस?

‘बुझेँ तर कक्षामा प्रत्येक विद्यार्थीलाई अलगअलग सिकाउन सकिन्न। केहीले सिकिरहेकै हुन्छन्। विद्यार्थीको सिकाइ क्षमतामा पनि भर पर्छ।’

‘मिसको कुरा ठिक हो। समस्या कहाँ छ भने जुन उमेरमा, जुन कक्षामा जेजति सिकेको हुनुपर्थ्यो त्यति नसिकी कक्षोन्नति भएको हुन्छ। यो समस्याको समाधान सिकाउनुमा छ, पढाउनुमा छैन।’

स्कुलको कक्षा कोठामा फरकफरक सिकाइ क्षमताका धेरै विद्यार्थीलाई एकै पटकमा सिकाउन र जान्ने बनाउन सजिलो छैन। पढाउन सजिलो छ, सिकाउन कठिन। शिक्षक पाठ्यक्रम पूरा गर्नुपर्ने दबाबमा हुन्छ। शिक्षकलाई थाहा हुन्छ, सिकाइ पूरा भएको छैन, विद्यार्थीले सिकेको छैन तर अर्को पाठ सुरू गर्नुपर्ने बाध्यता भइदिन्छ।

हाम्रो शिक्षण–सिकाइले फरकफरक सिकाइ क्षमताका विद्यार्थीहरूलाई एउटै डालोमा हाल्छ र सबैले एकसाथ सिक्नुपर्छ भन्छ। मूल्यांकन प्रणालीले उही समयमा सबैले बराबर सिक्न सक्दैनन् भन्ने तथ्य स्वीकार गरेको छ। यसैअनुसार सुविधा दिएको छ।

हाल नेपालको स्कुल शिक्षामा न्यूनतम सिकाइ पैंतीस प्रतिशत हुनुपर्छ भनिएको छ। यसको अर्थ सय वटा समस्यामा कम्तीमा पैंतीस वटा हल गर्न सक्ने हुनुपर्छ भन्ने हो।

शिक्षक साथी! तपाईं कक्षामा पृथ्वीले सूर्यलाई घुम्छ, पृथ्वी आफ्नो अक्षमा चौबीस घण्टामा एक फन्को घुम्छ र आफ्नो कक्षमा ३६५ दिनमा सूर्यलाई एक फन्को घुम्छ भन्नुहुन्छ। विद्यार्थीलाई पृथ्वी अक्ष र कक्षमा कसरी घुम्छ, त्यो पनि देखाउनुहुन्छ होला। यसो गर्न फुटबल प्रयोग गर्नुहुन्छ होला।

तपाईंले यसरी नदेखाएरै पनि पाठ पूरा गर्नुभएको छ कि!

देखाउनुभयो भने तपाईंले सिकाउनुभयो, देखाउनुभएन भने पढाउनुभयो।

तपाईं विद्यार्थीलाई कुनै वस्तुको क्षेत्रफल र आयतन निकाल्न लगाउनुहुन्छ र यससँग सम्बन्धित हिसाब पनि गराउनु हुन्छ। यो पाठमा तपाईं एउटा इँटा र रुलर बोकेर जानुहुन्छ होला। त्यसको लम्बाइ र चौडाइ नापेर क्षेत्रफल निकाल्न लगाउनुहुन्छ होला। उचाइ पनि नापेर आयतन निकाल्न लगाउनुहुन्छ होला। अनि यति क्षेत्रफलको पर्खालमा कतिवटा इँटा चाहिन्छ भनेर संख्या निकाल्न लगाउनुहुन्छ होला।

यसो गर्नुहुन्छ भने तपाईं सिकाउनुहुन्छ। भित्ताको पाटीमा चित्र बनाएर हिसाब गराउनुहुन्छ भने तपाईं पढाउनुहुन्छ।

शिक्षक साथी! मानौं, तपाईं भाषाको व्याकरणसम्बन्धी कक्षामा हुनुहुन्छ। व्याकरण भनेपछि विद्यार्थीहरू झ्याउलो मान्छन्। व्याकरणमा नियम हुन्छ, कति नियम सम्झिनु, नियम सम्झेर साध्य चल्छ र!

अब तपाईं नियम बताउनुहुन्छ होला र नियमअनुसार गराउनुहुन्छ होला।

यसो गर्नुहुन्छ भने तपाईं पढाउनुहुन्छ। विद्यार्थीहरुले बोल्ने गरेका शब्द वा वाक्य जस्ताको तस्तै लिएर काम गराउनुहुन्छ र त्यसको आफ्नो नियम बताउनुहुन्छ भने तपाईं सिकाउनुहुन्छ। विद्यार्थीले व्याकरणको नियम बनाइएको ठान्यो भने तपाईंले पढाउनुभयो। भाषाले आफ्नो नियम आफैं बनाएको हुन्छ, त्यो नियम नै व्याकरण हो भन्ने बाटो हिँडाउनुहुन्छ भने तपाईं सिकाउनुहुन्छ।

तपाईं कक्षामा थर्मोमिटर त अवश्य देखाउनुहुन्छ। विद्यार्थीका हातमा दिएर शरीरको तापक्रम नापेर देखाऊ भन्नुहुन्छ भने तपाईं सिकाउनुहुन्छ। त्यसभित्र पारो हुन्छ, यो विषालु हुन्छ, खाइयो भने ज्यान जान सक्छ, धेरै तातो पानीमा डुबाउँदा फुट्छ भनेर व्यावहारिक ज्ञानको पक्ष पनि बताउनुहुन्छ भने तपाईं सिकाउनुहुन्छ।

सिद्धान्त र नियमसँगै दैनिक वा अक्सर भइरहने व्यवहारमा, जीवनशैलीमा जोडियो भने शिक्षामा सिकाइ हुन्छ। सिद्धान्त र नियममा सीमित भयो भने पढाइ हुन्छ।

उसले यहाँ पढाउनु र सिकाउनुको फरक देखाउन थोरै दृष्टान्तहरू प्रस्तुत गर्‍यो।

शिक्षक साथी! यी दृष्टान्त र विचारमा तुक फेला पार्नुभयो भने तपाईं पनि थप्न सक्नुहुनेछ। बेतुकको ठान्नुभयो भने तपाईं ऊभन्दा धेरै अग्रगामी र वैज्ञानिक हुनुहुन्छ भन्ने उसले मान्नेछ।

अब ऊ एउटा प्रसंगबाट यो आलेखको बिट मार्छ।

केही वर्षअघि उसले नेपालको एक प्रख्यात दैनिक पत्रिकामा ‘फूलजस्ता केटाकेटी’ शीर्षकको समाचारीय आलेख पढेको थियो। त्यसले उसलाई खुब घत पार्‍यो। त्यसको मजबुन उसको स्मरणमा गाढा भएर बसेको छ।

कुरा हो नेपालगञ्जको एक निजी माध्यमिक विद्यालयको। शिक्षकलाई तालिम दिने कुनै संस्थाले एक महिनाको तालिमका लागि एक जना प्राथमिक शिक्षक पठाइदिन अनुरोध गरेर पत्र लेखेको रहेछ। प्रधानाध्यापकले शिक्षकहरूलाई बोलाए, तालिममा जान को इच्छुक हुनुहुन्छ भनेर सोधे। कोही पनि इच्छुक भएन। प्राथमिक तहका शिक्षकहरूले कुनै न कुनै कारण देखाएर आफू जान नसक्ने बताए।

के विचारले हो, माध्यमिक तहका एक शिक्षकले म जान्छु भनेछन्। प्रधानाध्यापकले माध्यमिक शिक्षकलाई पठाउने कुरै भएन। ती शिक्षकले जान्छु भनेर ढिपी कसेछन्। आखिर प्रधानाध्यापकले लौ त भनेर तिनलाई अनुमति दिए।

तालिम सकेर फर्केपछि तिनले प्राथमिक कक्षामा जान्छु भनेछन्। नौ-दस कक्षामा अंग्रेजी विषय पढाउने शिक्षक, एक-दुई कक्षामा जान्छु भन्छ, प्रधानाध्यापकले हुन्छ कसरी भनून्!

तिनले ढिपी छाडेनन्। अन्ततः प्रधानाध्यापकले लौ हेरूँ त भन्ने ठानेर माग पूरा गरिदिए।

ती शिक्षकले तालिममा सिकेको सबै सिप प्रयोग गरे। केही दिनमा उनले चाहेअनुसारको परिणाम देखापर्‍यो। प्रधानाध्यापक प्रशन्न भए।

तिनै शिक्षकले भनेका हुन्– केटाकेटीहरू फूल जस्ता हुन्छन्, तिनलाई जतनले फुलाउनु र फलाउनु पर्छ!

सेतो पाटीबाट……………….

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation