सरकारी जग्गा हिनामिना गरेका वडाअध्यक्षलाई कारबाहीकाे माग !

सामाजिक विकास समाज, अनामनगरले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका– २९ का अध्यक्ष कुश ढकाललाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन माग गरेको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाजले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, सिआइबी, काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको हो।

वडाध्यक्ष ढकालमाथि साबिक बानेश्वर महादेवस्थान वडा नम्बर नम्बर ५ कित्ता नम्बर १४३ को जग्गामध्येकै स्थानीय समुदायको हितमा प्रयोग हुँदै आएको साबिक धोबीखोलाको सरकारी जग्गालाई नक्कली गुठियार र मोही खडा गरी गुठीको नाममा दर्ता गरी झन्डै दुई अर्ब मूल्य पर्ने धोबीखोलाको १२ रोपनीभन्दा बढी सरकारी जग्गा बिक्री गरी खाने योजनाका साथ सर्जमिन मुचुल्का खडा गरी कालमोचन गुठी शाखा कार्यालय त्रिपुरेश्वरमा दर्ताका लागि ०७७ साल फागुन ९ गते सिफारिस गरी आफ्नो पदीय मर्यादा भुलेको आरोप छ ।

 

धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न संलग्न हुनु भ्रष्टाचार भएको भन्दै वडाध्यक्ष ढकाललाई तत्काल निलम्बन गरी छानबिन गर्न आग्रहसमेत गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष ओमप्रसाद उप्रेतीले धोबी खोला क्षेत्रको २३ रोपनी सरकारी जग्गा भूमाफियाहरूले बेच्दै हिँडेको भन्दै त्यसको खबरदारीस्वरूप पत्रकार सम्मेलन गर्नुपरेको बताए । उनले सरकारको जग्गा सरकारकै नाममा रहनुपर्ने र स्थानीय सरकार संविधानअनुसार चल्नुपर्ने बताए। उनले स्थानीय सरकारले सार्वजनिक जग्गा संरक्षण गर्ने भएकाले बेचेर खाने अधिकार नरहेको बताए।

त्यस्तै, समाजका महासचिव रक्षबहादुर रैकामगरले सार्वजनिक सरकारी जग्गा संरक्षण गर्ने दायित्व बोकेका जनप्रतिनिधिहरूले नै सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्नु आपत्तिजनक भएको बताए । सार्वजनिक सरोकारको यो विषयलाई प्रतिनिधिसभामा समेत स्थान दिन समाजले आग्रह गरेको छ ।

२९ नम्बर वडाको आफ्नै भवन नभएकाले आफ्नै वडामा भवन बनाउनु उचित रहे पनि अध्ययनविना काम गर्नु राम्रो नहुने समाजको बुझाइ छ । कित्ता नम्बर ९ मा वडा भवन बनाउन उपयुक्त हुने प्रतिवेदन आइसकेकाले सोही प्रतिवेदनबमोजिम वडा भवन कार्यालय निर्माण गर्न पनि समाजले आग्रह गरेको छ । nayapatrika…

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation