बाढी पहिरोमा ९ जनाकाे शव भेटियाे २७ जना अझै बेपत्ता

सडक सञ्जाल नभएकाले बेपत्ताको खोजी गर्न कठिनाइ, मेची राजमार्ग र तमोर करिडोर ठप्प

मनुसनको सुरुवातमै आएको बाढी र पहिरोमा परी शनिबार रातिदेखि हराइरहेका २७ जनाको अवस्था अझै अज्ञात छ । कोसी प्रदेशको संखुवासभा, पाँचथर र ताप्लेजुङबाट हराएका २७ जनालाई हालसम्म फेला पार्न नसकिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

भौगोलिक विकटता र ठूलो बाढीका कारण बेपत्ताको खोजीमा समस्या भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । बेपत्तामध्ये संखुवासभाका मात्र २१ जना छन् । प्रहरीका अनुसार हेवा खोलास्थित सुपर हेवा खोला जलविद्युत् आयोजनामा कार्यरत १७, अपर हेवा खोला जलविद्युत् आयोजनामा कार्यरत तीनजना स्थानीय अझै बेपत्ता छन् । पाँचथरमा हालसम्म तीनजना बेपत्ता रहेको प्रहरीले जनाएको छ । ताप्लेजुङको सिदिङवा– ६ मा एकै परिवारका तीनजना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

स्रोतसाधन अभावमा प्रहरीले बेपत्ताको प्रभावकारी रूपमा खोजी गर्नसकेको छैन । कतिपय ठाउँमा सडक सञ्जाल पनि नभएका कारण बेपत्ताको खोजी गर्न नसकिएको प्रवक्ता कँडेलले बताए । ‘कतिपय ठाउँमा सडक सञ्जाल छैन । बाढीले ठूलो क्षति पुग्दा खोलाले लेदो ल्याएको छ । अहिले सबै लेदो झिकेर फ्याँक्ने अवस्था पनि छैन,’ उनले भने, ‘प्रहरीसँग स्रोतसाधन पनि सीमित छ । अहिले खोलामै गएर खोज्ने अवस्था पनि छैन । सोमबारसम्म त टोली उद्धारमै खटियो । अब बेपत्ताको खोजीलाई प्राथमिकतामा राखिएको छ ।’

प्रहरी उपरीक्षक कँडेलले नदीको तल्लो क्षेत्र सुनसरी, धनकुटालगायत क्षेत्रका प्रहरीसँग पनि समन्वय गरेर खोजीको काम भइरहेको बताए । भौगोलिक हिसाबले विकट रहेको पहाडी क्षेत्रमा खोजी गर्न निकै कठिन रहेकाले प्रहरीचौकीले आफ्नो क्षेत्र पर्ने ठाउँमा स्थानीयसँग समन्वय गरिरहेको बताए । ‘जोखिम अझै कम भएको छैन । नदीभित्र पसेर खोज्न सक्ने अवस्था छैन,’ उनले भने, ‘२४ घन्टा बितिसकेको अवस्थामा बेपत्तालाई जीवित भेटिने सम्भावना एकदम न्यून छ । तसर्थ, थप क्षति हुन नदिन संवेदनशील भएर बेपत्ताको खोजी गर्दै छौँ ।’

बाढीपहिरोमा परी कोसी प्रदेशमा हालसम्म नौजनाको शव फेला परिसकेको छ । जसमध्ये मंगलबार संखुवासभामा एक पुरुषको कम्मरमुनिको भाग भेटिएको प्रहरी उपरीक्षक कँडेलले बताए । तर, उनको पहिचान हुन सकेको छैन । मृत्यु हुनेमा पाँचथर र ताप्लेजुङमा तीन–तीन, संखुवासभा दुई र भोजपुरमा एकजना छन् । संखुवासभामा भेटिएको कम्मरमुनिको एउटा शवको भने पहिचान नभएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेश १ मा एक सय ८८ परिवारभन्दा धेरै बाढीपहिरोका कारण विस्थापित भएका छन् । जसमा सबैभन्दा धेरै पाँचथरमा ९३ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक दिवस कुँवरले बताए । उनका अनुसार दश घर पूर्णरूपमा विस्थापित, ६४ घर उच्च जोखिममा र १९ घरमा आंशिक क्षति भएको छ । विस्थापितहरू नजिकका सार्वजनिक भवन, छिमेकी र आफन्तका शरणमा रहेको प्रहरी निरीक्षक कुँवरले बताए । यस्तै, ताप्लेजुङमा ८० परिवार विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । संखुवासभामा १५ घरपरिवार विस्थापित भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।

ताप्लेजुङ सडक सञ्जालबाट विच्छेद
बाढीपहिरोले सडक र पुलमा क्षति पु¥याउँदा ताप्लेजुङ सडक सञ्जालबाट पूर्णतः विच्छेद भएको छ । ताप्लेजुङबाट अन्य जिल्ला जोडिने मुख्य राजमार्ग र वैकल्पिक राजमार्ग दुवै ठप्प छन् ।  ताप्लेजुङबाट तराई जोडिने मेची राजमार्ग र वैकल्पिक मार्ग तमोर करिडोर ठप्प भएको छ । मेची राजमार्गअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकखण्डको हेवा खोला पुल बगाउँदा सडक अवरुद्ध भएको छ । यस्तै, तमोर कोरिडोरअन्तर्गत पाँचथरको हेवा खोलाले पुल बगाउँदा यो राजमार्ग पनि ठप्प भएको छ । तमोर कोरिडोरमा हेवा खोलाले करिब दुई सय मिटर सडकसमेत बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक दिवश कुँवरले जानकारी दिए । यो सडक कहिले सञ्चालन हुन्छ भन्ने टुंगो नभएको उनले बताए ।

मेची राजमार्गअन्तगर्त हेवा खोलामा बेलिब्रिज निर्माण कार्य धमाधम भइरहेको प्रवक्ता कुँवरले जानकारी दिए । मंगलबारदेखि निर्माण सुरु भएको पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले समेत सहयोग गरिरहेको छ । ‘बेलिब्रिज निर्माणको काम रफ्तारमा भइरहेको छ । यहाँ सुरक्षा निकायले समेत सहयोग गरिरहेको छ,’ उनले भने, ‘एक हप्तादेखि १० दिनभित्र निर्माण सक्ने जानकारी आएको छ ।’

हेवा खोलाले राजमार्गको पक्की पुल बगाए पनि करिब दुई किलोमिटरमाथि रहेको झोलुंगे पुल भने सुरक्षित रहेको प्रवक्ता कुँवरले बताए । बेलिब्रिज निर्माण नसकिएसम्म पैदल यात्राका लागि वर्षौँदेखि प्रयोगविहीन झोलुंगे पुलबाट आवतजावत गर्न राजमार्गबाट झोलुंगे पुलसम्म जाने गोरेटोबाट मर्मतको कामसमेत गरिएको उनले बताए । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation