घाेराही तुलसीपुर फाेरलेन सडक मर्मत ठेक्का अन्तिम चरणमा

pinterest sharing button
दाङ । घोराही–तुलसीपुर फोरलेन सडक मर्मतको काम अघि बढ्ने भएको छ । मर्मतको लागि दुई निर्माण कम्पनीले जिम्मेवारी पाएका छन् ।

 

घोराहीको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको करिब २८।१९ किलोमिटर सडकअन्तर्गत दुईलेन सडक मर्मतका लागि सडक डिभिजन कार्यालय दाङले रोल्पा निर्माण सेवा र रोल्पा स्वच्छता निर्माण सेवासँग सम्झौता गरेको छ ।

करिब तीन महिनाभित्र सडक मर्मतको कार्य सक्ने गरी असार १८ गते निर्माण कम्पनीसँग सम्झौता भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख एवम् इन्जिनियर गुरूप्रसाद अधिकारीले बताए । सम्झौताअनुसार सडक मर्मतको काम आउने असोजको ३० गतेभित्र सक्नुपर्ने छ ।

कार्यालय प्रमुख अधिकारीकाअनुसार घोराहीको बबई नदीदेखि हापुरखोलासम्मको करिब १३ किलोमिटर करिब १ करोड ४२ लाख ५५ हजार रोल्पा निर्माण सेवा र हापुर खोलादेखि तुलसीपुरको हात्तीखौवासम्मको करिब १५ किलोमिटर सडक १ करोड १६ लाख ९६ हजार रूपैयाँमा रोल्पा स्वच्छता निर्माण सेवासँग सम्झौता भएको छ ।

‘घोराही–तुलसीपुर फोरलेन सडक मर्मतका लागि असारको १८ गते दुई वटा निर्माण कम्पनीसँग सम्झौता भएको छ’, कार्यालय प्रमुख अधिकारीले भने, ‘सडक मर्मतका लागि करिब तीन महिनाको अवधि दिएका छौँ ।’ अधिकारीले यातायातका साधनहरू चल्नै नसक्ने गरी सडक बिग्रिएका ठाउँमा तत्काल मर्मत हुने र कालोपत्र नै गर्नुपर्ने ठाउँहरूमा बर्सात कम भएपछि काम हुने बताए ।

करिब दुई वर्षमा फोरलेन सडक निर्माण सक्ने गरी सम्झौता भए पनि फोरलेन सडक निर्माणको काम चार वर्षसम्म पनि पूरा हुन नसकेपछि सरकारले गत जेठ महिनामा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता रद्द गरेको थियो । २०७६ पुस महिनादेखि सुरु भएको फोरलेन सडकको भौतिक प्रगति करिब १० प्रतिशत मात्रै रहेको छ ।

सडक निर्माणको जिम्मा पाएको भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले काम नगर्ने र पेटी ठेकेदारलाई सडक निर्माणको जिम्मा दिँदा फोरलेन सडकले गति लिन सकेको थिएनन् । सडक अलपत्र हुँदा घोराही–तुलसीपुर सडकखण्डमा सवारी साधन सञ्चालनमा समेत समस्या हुने गरेको छ । निर्माणका लागि सडकका दुवैतिर खनेको र बचेको सडकमा पनि खाडल परेपछि सडकको अवस्था झनपछि झन बिग्रँदै गएपछि भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता रद्द गरेर सडक मर्मत गर्न थालिको हो ।

निर्माणका लागि खनेको सडक मर्मत नहुँदा बिग्रिएका कारण दुईपाङ्ग्रे तथा ठुला सवारी साधनलाई आवागमनमा समस्या हुने गरेको छ । चार वर्षको अवधिमा फोरलेन सडक निर्माणका लागि आठ पेटी ठेकेदारहरू परिवर्तन भए पनि काम हुन सकेको थिएन । मुख्य निर्माण कम्पनी तथ्यले आफैँले काम नगरी सुरुमा सडकको जिम्मा सुवास श्रेष्ठलाई दिएको थियो ।

श्रेष्ठले काम गर्न नसकेपछि सडक निर्माणको जिम्मा दाङकै अनुप पाण्डेले पाएका थिए तर दुई वर्षमा सात प्रतिशत पनि काम गर्न नसकेपछि तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले आफैँले निर्माण गर्ने भन्दै ०७८ साल मंसिर १० गते सडक निर्माणको जिम्मा लिएको थियो । तर तथ्यले आफैँ काम नगरी सडकको निर्माणको जिम्मा फेरि पनि पेटी ठेकेदारलाई नै दियो । सुवास श्रेष्ठ हुँदै अनुप पाण्डे, जनक डाँगी, फेरि अनुप पाण्डे, एकेन्द्र खड्का, विजय पाठक र श्रेष्ठ कन्स्ट्रक्सनका रोशन श्रेष्ठले पेटी ठेक्का पाए ।

श्रेष्ठ कन्स्ट्रक्सनले पनि काम अघि बढाउन नसकेपछि पछिल्लो पटक सडक निर्माणको जिम्मा सुशीलजंग रायमाझीले पाएका थिए । २०७५ माघ १४ गते भएको सम्झौताअनुसार फोरलेन सडक २०७८ जेठ ६ गते निर्माण गरिसक्नुपर्ने थियो तर यो अवधिमा काम नभएपछि सुरुमा २०७८ साउन २७ मा सक्ने गरी दुई महिना म्याद थप गरियो ।

 

पहिलो पटक थप गरेको अवधिमा काम नभएपछि पुनः आयोजनाले दोस्रो पटक २०७८ पुस २८ गतेसम्मका लागि म्याद थप ग¥यो । दुई पटक थप गरेको म्याद पनि निर्माण कम्पनीले गुजारेपछि फेरि २०७९ बैशाख २९ गतेसम्म काम सक्ने गरी तेस्रोपटक म्याद भएको थियो । यो अवधिमा पनि काम हुन नसकेपछि चौथो पटक २०८० असार मसान्तसम्मका लागि म्यादथप गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation