एसईईमा कति जिपिएसम्मले कक्षा ११ मा भर्ना हुन पाउछन् ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कति जीपीएसम्म ल्याएका विद्यार्थीले कक्षा ११ मा भर्ना पाउलान् ? आफूले चाहेको विषय पढ्न कति जीपीए ल्याउनुपर्छ भन्ने विषयमा अभिभावक र विद्यार्थी दुबिधामा पर्ने गर्छन् । पाठ्यक्रम विकास केन्द्र र परीक्षा बोर्डले भने एसईईमा समग्रमा १ दशमलव ६ जीपीए ल्याउने विद्यार्थीले आफूले रोजेको जुनसुकै विषय अध्ययनका लागि योग्य भएको स्पष्ट पारेका छन् ।

अघिल्लो शैक्षिक सत्रसम्म कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्न एसईईमा अङ्ग्रेजी, गणित र विज्ञानमा  कम्तीमा पनि सी प्लस ग्रेड ल्याउनुपर्ने प्रावधान थियो । तर शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले ९ महिनाअघि नै एसईईमा न्यूनतम १ दशमलव ६ जीपीए प्राप्त गरेका विद्यार्थीले कक्षा ११ का जुनसुकै विषय अध्ययन गर्न पाउने व्यवस्था गरेको हो ।

१ दशमलव ६ जीपीए भनेको पूर्णाङ्कको करिब ४० देखि ५० प्रतिशत हो । त्यस्ता विद्यार्थीले कक्षा ११ मा अनिवार्य अङ्ग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित र ३ वटा ऐच्छिक समूहबाट एक-एक विषय छनोट गरी अध्ययन गर्न सक्नेछन् । यसैले औसत ग्रेड प्वाइन्टकै आधारमा अब कोही पनि विद्यार्थी कुनै पनि विषय अध्ययनका लागि वञ्चित हुनु नपर्ने पाठ्यक्रम विकास केन्द्रले स्पष्ट पारेको छ ।

२०७६ मै सरकारले कक्षा ११ र १२ बाट सङ्काय प्रणाली हटाइसके पनि अधिकांश विद्यालयहरूले अझै विज्ञान, व्यवस्थापनलगायत सङ्काय भनेर विज्ञापन गर्दै विद्यार्थी लोभ्याउने प्रयास गरिरहेका छन् । उच्च शिक्षाका लागि भविष्यमा कुन विषय अध्ययन गर्ने निधो कक्षा ११ र १२ को ऐच्छिक विषयले निर्धारण गर्ने हुन्छ । तै पनि अधिकांश विद्यार्थी र अभिभावक कुन विषय अध्ययन गराउने भन्ने दुबिधामा हुने गर्छन् ।

एसईईमा केही विषयमा डी र इ ग्रेड आए पनि न्यूनतम औसत ग्रेड प्वाइन्ट १ दशमलव ६ जीपीए आए माथिल्लो कक्षामा भर्ना हुन पाउने व्यवस्था परीक्षा बोर्डले गरेको हो । त्यसैले विभिन्न बहाना बनाएर विद्यार्थीलाई कक्षा ११ मा अध्ययनबाट वञ्चित गर्न नहुने परीक्षा बोर्डको भनाइ छ ।

एसईईमा सामेल ४ लाख ८५ हजारमध्ये ४१ हजार विद्यार्थीको न्यूनतम जीपीए १ दशमलव ६ भन्दा कम रहेको परीक्षा बोर्डको तथ्यांक छ । ती विद्यार्थीबाहेक बाँकी सबै विद्यार्थी माथिल्लो कक्षाको जुनसुकै विषय अध्ययनका लागि योग्य मानिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation