पश्चिम दाङमा बन्नेछन् ९ वटा नयाँ पुल

 

दाङ,१६ साउन ।

पश्चिम दाङका सडक बीचमा पर्ने खोलाहरुमा पुल बन्ने भएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आर्थिक बर्ष २०८०÷०८१ कालागि ९ वटा पुलमा बजेट बिनियोजन गरेका छन् । दाङको विकट क्षेत्रका रुपमा रहेको गंगट पुग्न विभिन्न खोलामा पुल निर्माण हुनेछन् । जहाँ यसअघि पुल नहुँदा बर्षादको समयमा आवतजावत ठप्प नै हुने गरेको थियो । बबई गाउँपालिकाको हापुरेदेखि गंगटे पुग्न २३ किलोमिटर मात्रै हो । तर, बर्षादमा सडकबीचका खोलाहरुमा पुल नहुँदा उपचारलगायत अन्य कार्य गर्न एक दिन पैदल हिड्नुपर्ने बाध्यता छ। त्यसलाई मध्येनजर गरि हापुरे–गंगटे सडकमा तीन वटा खोलामा पुल निर्माण हुने भएका छन् ।

 

रिम खोलीमा बेलीवृज पुलकालागि ५० लाख, तिनतलेमा बेलिबृज पुल निर्माणकालागि ५० लाख, भांगावारीमा बेलिबृजकालागि ५० लाख बजेट छुट्याएको मन्त्री मास्कीले बताए । त्यस्तै तुलसीपुर देखि हापुर जोड्ने सडक अन्तर्गत पर्ने तुलसीपुर १ भमके खोलमा पुल निर्माणकालागि १ करोड, शान्तिनगर ३ पातेटाकुरा खोलामा पुल निर्माणकालागि ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणकालागि १ करोड, बबई गाउँपालिका अन्तर्गत राजीखरे खोलामा पुल निर्माणकालागि ७५ लाख बजेट परेको छ । त्यस्तै ट्वाङखोलामा डिपीआरसहित पक्की पुल निर्माणकालागि १ करोड ५० लाख, पुरन्धारा हुँदै मलै जाने सडकको बबई नदीमा पुल निर्माणकालागि डीपीआर गर्न १५ लाख तथा बकरीया सरुवाडाँडा गोल्टाकुरी कालितारा सडकमा पुल निर्माणकालागि १ करोड २५ लाख बजेट परेको अर्थमन्त्री मास्कीले बताए ।

यी खोलामा पुल नहुँदा बर्षादको समयमा आवतजावतमा निकै समस्या हुने गरेको छ । खोलामा पानीको बहाब बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो भने सवारी नै बगाउनेसम्मका समस्या नागरिकले भोग्दै आएका छन् । तर, अब ति खोलामा पुल बनेपछि ति समस्या हटेर जाने नागरिकले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation