एक क्वीन्टल सुन प्रकरणको थप अनुसन्धानको जिम्मा सीआईबीलाई

उच्च सरकारी स्रोतका अनुसार, बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए ।

छलफलमा सहभागी महान्यायाधिवक्ता पोखरेलले प्रधानमन्त्री दाहालले अनुसन्धानको कानूनी पाटोबारे जिज्ञासा राखेपछि संगठित अपराध देखिएपछि नेपाल प्रहरीमार्फत अनुसन्धान गर्नुपर्ने राय राखेको बताए ।

‘सुन बरामद भएपछि राजस्व चुहावट देखिएकाले राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ, यसमा अन्यथा भएन । तर अनुसन्धान गर्दै जाँदा संगठित अपराधको तत्व फेला परेको रहेछ’, महान्यायाधीवक्ता पोखरेलले भने, ‘त्यसैले कानूनी व्यवस्था अनुसार संगठित अपराधको पाटोमा नेपाल प्रहरीले अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।’

लगत्तै प्रधानमन्त्री दाहालले राजस्व चुहावटको विषयमा विभागले मुद्दा अघि बढाउने र संगठित अपराधको पाटोमा सीआईबीले थप अनुसन्धान गर्न निर्देशन दिएको उनले बताए ।

सुन कुनै कुराको मोड अफ पेमेन्टका रुपमा प्रयोग भएको छ कि भन्ने शंका हो । सँगै हुण्डीदेखि अरु कुरा पनि जोडिने भएकाले वृहत अनुसन्धान हुन्छ – किरण बज्राचार्य, सीआईबी, निर्देशक

राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । यसमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परेका छन् ।

विभागले हालसम्म राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार अनुसन्धान अघि बढाइरहेको थियो । तर, सुन प्रकरणमा संगठित गिरोहको संलग्नता र यसमा भारत र चिनियाँ सुरक्षा निकायसँग समेत समन्वय गरेर विस्तृत अनुसन्धान गर्नुपर्ने भएकाले सीआईबीमार्फत अघि बढाउने निर्णय भएको स्रोतले जनाएको छ ।

छलफलमा सहभागी एक अधिकारीका अनुसार, राजश्व अनुसन्धान विभागमार्फत राजश्व छलीको कसुरमा अनुसन्धान जारी रहन्छ भने संगठित अपराधको कसुरमा सीआईबीले वृहत अनुसन्धान गर्नेछ ।

लामो समयदेखि भइरहेको सुन तस्करीको माथिल्लो तहमा एकैखाले गिरोहको संलग्नता देखिने गरेकाले पुराना अनुसन्धानहरुलाई पनि जोडेर हेर्नुपर्ने सीआईबीका पूर्वनिर्देशक पुष्कर कार्की बताउँछन् । ‘सीआईबीबाट यसमा वृहत अनुसन्धान हुनु राम्रो हो, त्यसमाथि यसमा हुण्डीदेखि अरु कसुरको पनि अनुसन्धान गर्नुपर्ने हुनाले ढिलाइ गर्नु हुने थिएन’, उनले भने ।

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले सुनका पुराना मुद्दाहरुसँग समेत जोडेर थप अनुसन्धान हुने बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘सुन कुनै कुराको मोड अफ पेमेन्टका रुपमा प्रयोग भएको छ कि भन्ने शंका हो । सँगै हुण्डीदेखि अरु कुरा पनि जोडिने भएकाले वृहत अनुसन्धान हुन्छ ।

सुन प्रकरणमा अहिलेसम्म के–के भयो ?

विभागले ३ साउनमा भन्सारबाट सुनसहितको सामग्री बरामद गर्दा सामग्री बाहिर ल्याउने ट्याक्सी चालक अशोक लामालाई पक्राउ गरेको थियो । त्यहीबेला भन्सार जाँच पासमा संलग्न एजेन्ट राजेन्द्र राई पनि पक्राउ परेका थिए ।

अर्को दिन विभागले नेपाल प्रहरीको विशेष ब्यूरोको सहयोगमा सुनसहितको सामग्री ल्याउने रेडी ट्रेड प्रा.लि.का सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, उनका साथी हर्कराज राई र तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङलाई पक्राउ गरेको थियो ।

थाप्तेनको बयानका आधारमा ४ साउनमा विभागको टोलीले बालुवाटारस्थित एक गोदाममा छापा हान्यो, जुन घर चिनियाँ नागरिकले भाडामा लिएको खुलेको थियो । घरधनीलाई बुझाएको राहदानीको फोटोकपीको आधारमा विभागले खोजी गरिदिन प्रहरीलाई आग्रह गरेको थियो ।

प्रहरी टोलीले १३ साउनमा चिनियाँ नागरिक ज्यास्याङ लिनलाई दरबारमार्ग नजिकै उत्तर ढोकामा लोकेट गरेको थियो । पछ्याउँदै जाँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेको देखियो । विमानस्थलमा प्रहरीले उनलाई पक्राउ गर्यो र अध्यागमन विभागमार्फत राजश्व अनुसन्धान विभागको जिम्मा लगायो ।

१३ साउनमा तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङ पनि पक्राउ परेपछि अनुसन्धानको दायरा थप फराकिलो बनाउनुपर्ने निष्कर्ष सरकारी अधिकारीहरुले निकालेका थिए । किनकि, दावाको नाम चिनियाँ अपराधिक गिरोहसँग पटकपटक जोडिँदै आएको थियो ।

चिनियाँ नागरिकले चलाएको कल सेन्टर ‘स्क्याम’मा प्रहरीले चार वर्षअघि उनीविरुद्ध अनुसन्धान गरेपनि जोगिएका थिए । दावाको माओवादी केन्द्रका नेताहरुसँग पनि उठबस रहँदै आएको छ ।

विभागले गिरोहको सोह्रखुट्टे, बालुवाटार, लाजिम्पाट र टोखास्थित गोदाममा पनि छापा मारेको छ । त्यहाँबाट चार वटा सुन गाल्ने उपकरण बरामद भएको छ । सुन जोख्ने र अर्कै स्वरुपमा निकाल्नलाई आवश्यक सामग्री पनि बरामद भएको छ

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation