आइतबारबाट संसदको गतिरोध हट्ने प्रधानमन्त्रीको दावी

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारबाट संसदको अवरोध हट्ने बताएका छन् ।

शनिवार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आइतबारबाट संसदको अवरोध हट्ने बताएका हुन् ।

 

उनले संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद अवरोध अन्त्यका लागि पहल गरिने बताए । उनले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सुसञ्चालन हुनेमा आशावादी रहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले निरन्तर पहल गर्दै आएको तपाईहरुलाई थाहा छँदैछ । हिजो मात्रै पनि सभामुखजी बालुवाटार नै आउनु भयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ । आशा छ भोलि सदन खुल्छ ।’

प्रधानमन्त्री प्रचण्डले संसद अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation