शनिबार धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको साधारण सभामा बोल्दै चन्दले नेपालमा क्रिकेट बाहेक धेरै खेल लोकप्रिय रहे पनि तत्कालै विश्वकपमा सहभागी भइहाल्ने अवस्था नदेखिएको बताए ।
उनले नेपाली क्रिकेटलाई विश्वले चिनिसकेको भन्दै अब उत्कृष्टताका लागि राज्यले विशेष पहल थाल्नुपर्ने धारणा राखे । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पनि विश्वास गरेर पटक पटक अवसर दिएको भन्दै उनले त्यसको उपयोग गर्न सक्नुपर्ने धारणा राखे ।
सन् २०२४ मा अमेरिका र वेस्टइण्डिजमा संयुक्त रूपमा आयोजना हुने टि-ट्वान्टी विश्वकप एसिया क्वालिफायरको खेल नेपालमा पनि आयोजना हुनु, सन् २०२७ मा यु-१७ महिला विश्वकपको सह आयोजक नेपाललाई बनाइनुले नेपाल प्रति आईसीसी सकारात्मक भएको बुझ्न सकिने उनको भनाइ छ । ‘(आईसीसीले) नेपाली क्रिकेटको क्रेजलाई नजिकबाट नियालिरहेको छ त्यसैले यो स्वर्णिम अवसरलाई समयमै हामीले सदुपयोग गर्नुपर्नेछ’, चन्दले भने ।
नेपालमा राम्रो क्रिकेट रंगशाला भएको भए धेरै अन्तर्राष्ट्रिय खेल खेलाउन सकिने पनि उनले बताए । खेल पर्यटनबाट अर्बौं कमाउन सक्ने सम्भावना रहेको देशमा खेलकुदमा कुल बजेटको ५ प्रतिशत आसपास मात्र छुट्याउनु अपुग हुने चन्दले बताए । आफू पुन: क्यानको नेतृत्वमा आए प्रधानमन्त्री, खेलकुद मन्त्री, प्रमुख राजनीतिक दलका नेतालाई कन्भिन्स गरेर पूर्वाधार बनाइछाड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । (onlinekhabar)