यसरी बनेको थियो सिंगो नेपाललाई जोड्ने महंगो कर्णाली पुल – सुनील उलक

                                             
                                             सुनील उलक
बि.सं. २०१६ सालमा नै कर्णाली परियोजना सम्बन्धी आन्तरिक रुपमा तैयारी शुरु भयो । कर्णाली नदीमा ठूलो जलबिद्युत आयोजनाको खाका बुनियो । बि.सं. २०१७ बैशाख १५ देखि १८ गते सम्म भएको राजा महेन्द्रको अमेरिका भ्रमणमा पश्चिम नेपालको बृहत्तर बिकासको साथै नेपालको पनि हितका लागि कर्णाली बहुउद्धेश्यीय परियोजना विषयमा पनि छलफल भएको थियो । विश्व बैंक र यूएनडिपी यस कार्यको तैयारीमा जुटे । बिभिन्न छलफलकै क्रममा राजा महेन्द्रको देहावसानले परियोजनाका कुरा गफै मात्र भयो ।
पूर्वी नेपालको कोशी तथा गण्डकीमा आफ्नो योजना अनुसार हात पारिसकेको भारतको बिशेष चासो पश्चिम नेपालको सबैभन्दा ठूलो नदी कर्णालीमा पनि पर्यो । बि.सं. २०३४ को मंसिरको अन्तिम सप्ताह भारतीय प्रधानमन्त्री मोरारजी देसाइको नेपाल भ्रमणको समय कर्णाली चिसापानी बहुउद्धेश्यीय आयोजनामा भारतले चासो राख्यो । जस अनुसार १०८०० मेगावाट बिद्युत तथा ३६ लाख हेक्टर जमिनमा सिचाइ गर्ने योजना बन्यो । जसमा केवल २ लाख हेक्टर जमिन नेपालमा सिचाइ उपलब्ध हुने भनिएको थियो । यसको लागि ५ खर्व लाग्ने अनुमान गरिएको थियो । यसपछि पनि बिभिन्न चरणमा बिभिन्न छलफलहरु भए तर यो त्यसै सेलायो । पश्चिम नेपालको मात्र नभइ सिङ्गो नेपालको नै पहिचान हुन सक्ने यो बिशाल परियोजना विश्व बैंक र भारत बिचको स्वार्थको लडाइले पुरा हुन नै दिइएन ।
पूर्व पश्चिम राजमार्गले देशलाई छिचोल्न थाले पनि कर्णालीमा पुल नहुँदा फेरीबाट तर्नु पर्ने बाध्यता भयो । कर्णालीमा पुल नहुदा निकै समस्या पर्न थालेको थियो । कर्णाली नदी चिसापानीमा पहाड छिचोलेर तराइ प्रवेश गर्ने बिन्दुको रुपमा रहेको थियो । झट्ट हेर्दा तराइ भूभाग झै लागे पनि यहाँको मौसम चिसो र पानी पनि चिसो हुने हुँदा यो ठाउँको नाम नै चिसापानी रहेको थियो । चिसापानीको पनि आफ्नै किंवदन्ती गाँसिएको छ ।
कुनै बेलाका जुम्लाका राजाले आफ्नो प्यारो राजकुमारीको बिबाह तराइका राजकुमारसंग गराउने पक्का गरेछ । तर जुम्लाको चिसो मौसममा हुर्केको आफ्नो छोरी अचानक बिबाह पछि तराइको प्रचण्ड गर्मीमा बस्न कठिन हुने भन्दै राजा रानीलाई ठूलो चिन्ता लाग्न थालेछ । निकै सोच विचार पछि राजाले दरवारमा ठूलो सभा बोलाएछ । सभामा राजाले राजकुमारीको विवाह तराइमा हुन लागेको तथा त्यहाँको गर्मीले जुम्लाको चिसो मौसममा हुर्किएकी राजकुमारी आत्तिन सक्ने हुँदा तराइमा राजकुमारीलाई बस्न सहज गराउन के गर्न सकिन्छ भन्ने सल्लाह मागे । धेरै का धेरै विचारहरु आए । राजाले सभामा धामीलाई पनि बोलाएका थिए । बिभिन्न किसिमका बिचार बिमर्थ भइरहदा राजाले धामीलाई मन्त्रले फुकेर दुध भर्ने बाँसको गाबुमा जुम्लाको चिसो हावा राखिदिन आग्रह गरे । नभन्दै धामीले आफ्नो मन्त्रको शक्तिले जुम्लाको चिसो हावालाई गाबुमा राखेर बिर्को बन्द गरेर राजालाई दिए । राजा तथा रानीले राजकुमारीलाई सो गाबु दाइजोको रुपमा छोरीको घर पठाउने बिचार गरे । जसै छोरीको विवाह पछि राजकुमारसंग घर फर्कने बेला आयो राजा रानीले छोरीलाई माइतको कोसेली भन्दै गाबु पतिको घर नपुग्दा सम्म नखोल्न भनेर दिइ पठाए ।
माइतबाट निस्कदा देखि नै राजकुमारीलाई खुलदुली भइरह्यो । आमाबुबाले गाबुमा के दिएर पठाएका रहेछन् भनेर हेर्न आतुर भइरह्यो । कर्णाली नदीमा डुङ्गाको यात्रा क्रममा जब बुङघाटमा राजकुमार र राजकुमारी पुगे । राजकुमारीलले मन थाम्न सकिनन् र गाबुको ढक्कन खोलेर हेर्न चाहे । जसै राजकुमारीले गाबुको ढक्कन खोले । मन्त्रको शक्तिले कोच्चिएको चिसो हावा एकैचोटी डरलाग्दोसंग बाहिरियो । हावाको बेगले ठूलो आँधी चल्यो । कर्णालीमा बाढी आयो । राजकुमार र राजकुमारी चढेको डुङ्गा बेतोडसंग पल्टियो ।
राजकुमारलाई कर्णालीको बेतोडको पानीले हुत्याएर लग्यो । त्यसपछि ठूलो ढुङ्गामा ठोक्किएर राजकुमारको देहान्त भयो । राजकुमारीलाई पनि हुत्याएर अझ पर लग्यो । अर्को केही सानो ढुङ्गामा ठोक्किएर राजकुमारीको पनि प्राण गयो । दुबै राजकुमार र राजकुमारीको देह ढुङ्गा भएर कर्णाली किनारमा रहन पुग्यो । ढुङ्गाको रुपमा रहेका राजकुमार र राजकुमारीलाई अझै पनि चिसापानीवासीले बिर्सन सकेका छैनन् । कर्णाली किनारमा अझै पनि ति ढुङ्गाको स्वरुपमा रहेका राजकुमार र राजकुमारीलाई कर्णाली किनारमा देख्न सकिन्छ ।
यहि कर्णालीको चिसापानी जहाँ कुनै बेला राजकुमार र राजकुमारीको मृत्यु भएको किंवदन्ती प्रख्यात छ । त्यहि नजिकै महेन्द्र राजमार्गको सबैभन्दा आकर्षक पुल रहेको छ । नेपालको सुदुर पश्चिम क्षेत्रलाई नेपालको अन्य भागसंग जोड्ने यो पुलको निर्माण २०५० मंसिर २८ गते सम्पन्न भएको थियो । नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो । यस पुलको बिचमा ठूलो खम्बा (pylon) ठडिएको छ जसमे स्टीलका तारहरु बाँधेर अड्याइएको । यो ५०० मिटर लामो तथा ११.३ मिटर चौडा यस पुलको दाँया बाँया मानिस हिड्ने पेटी पनि बनाइएको छ । यस पुललाई १२० मिटर अग्लो खम्बाले एक भाग तिर ३२५ मिटर र अर्को भाग तिर १७५ मिटरले छुट्याएको छ । यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको थियो । जापानको प्रख्यात कम्पनी कावासाकी हेवी इन्डस्ट्रिजले तैयार गरेको यस पुल नेपालको एक नमुना पुल हो ।
अमेरिकाको Steinman Boynton Gronquist and Birdsall, New York इञ्जिनियरिङ कम्पनीको डिजाइनमा बनेको यस झोलुङ्गे पुललाई दुबै तर्फ ३०-३० वटा मोटा तारका लट्ठाले अड्याइएको छ । पूर्णरुपमा ज्यामितीय सुत्रमा बनाइएको यस पुलमा प्रत्येक लट्ठाको भार क्षमता अलग अलग रहेको छ । स्टीलले बनेको ट्रस्टमा ९ इन्च मोटो सिमेन्टको कंक्रीट स्लावहरु राखिएको छ । ७ मिमी मोटा तारका गुजुल्टाले बनेका ३० वटा लट्ठाहरुमा तारको संख्या सबैमा भिन्न भिन्न राखिएका छन् । सबैभन्दा छेउका लट्ठाहरु सबैभन्दा मोटा छन् भने बिचका मसिना छन् ।
त्यतिबेला अर्थात २०४० सालमा करिव २३ करोड ६४ लाख रुपैया (१ करोड ५८ लाख डलर)को योजना बनेको सो पुल देशकै सुन्दर र महंगो पुलमा परेको थियो । विश्व बैंकको सहयोगमा बनेको यस पुलको सम्पूर्ण नक्सा अमेरिकी इञ्जिनियरिङ कम्पनीले बनाएको थियो भने निर्माणको काम जापानको कावासाकी हेभी लैव्सले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation