मर्स्याङ्दीमा ट्रक खस्दा पाँचको मृत्यु कमिसनमा फसेको प्रहरी ट्रकले यात्रु बोक्दा चेकजाँच गर्दैन

नियमविपरीत यात्रु बोकेर गइरहेको मालबाहक ट्रक मनाङको नासों गाउँपालिका–३ खोत्रोमा दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । तीनजना गम्भीर घाइते भएका छन् । 

लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध.१ख ५९२ नम्बरको ट्रक खोत्रोबाट करिब ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले सिमेन्ट बोकेर मनाङको सदरमुकाम चामे जाँदै गरेको ट्रक अत्यधिक भारका कारण उकालो चढ्न नसकी अनियन्त्रित भएर मर्स्याङ्दी नदीमा खसेको बताए । 

‘अत्यधिक भारका कारण उकालोमा तान्न नसकेपछि ट्रक अनियन्त्रित भएर करिब ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ डिएसपी खड्काले भने, ‘मालबाहक भए पनि ट्रकमा चालक, सहचाकलसमेत आठ यात्रु थिए । उनीहरूमध्ये पाँचजनाको मृत्यु भयो, तीनजना घाइते छन् ।’ 

तीनजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको हो । मृत्यु हुनेमा नासों गाउँपालिका–४ ओडारकी ३५ वर्षीया मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन र २६ वर्षीया जलकाशी गुरुङ छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए । 

मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भएका २१ वर्षीय सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका–४ बस्ने २८ वर्षीय धनमान भनिने राजु विश्वकर्माको उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएको हो ।

घाइते हुनेमा सवारीधनीसमेत रहेका चालक सुमन तामाङ, नासों गाउँपालिका–४ का अन्दाजी ७ वर्षका थिउन गुरुङ र सोही वडाका अन्दाजी ६ वर्षका निहल गुरुङ छन् । तीनैजना घाइतेको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई लमजुङ जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । 

घटनाको जानकारी पाएपछि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले घटनाबारे जानकारी पाएलगत्तै टोली घटनास्थल पुगेको र तत्काल उद्धार गरी घाइतेलाई जिल्ला अस्पताल पठाइएको बताए । सुरक्षाकर्मी र स्थानीय मिलेर मस्र्याङ्दी नदीबाट शव संकलन गरी अस्पताल पठाएका थिए । सबै शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । 

मालबाहक ट्रकमा थिए ६ यात्रु
ट्रकमा चामेस्थित निर्माणाधीन जिल्ला अस्पताल भवनका लागि सिमेन्ट लगिएको थियो । ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच नगर्दा त्यस रुटमा चल्ने मालबाहक ट्रकले यात्रु बोक्ने गरेका छन् ।

लमजुङको बेँसीसहर हुँदै अघि बढेको ट्रक सुरक्षाकर्मीका तीनवटा चाँजचौकी पार गरी यात्रुसहित खोत्रो पुगेको थियो । सिमेन्ट बोकिएको ट्रकमा चालक र सहचालकबाहेक ६ यात्रु थिए । सो ट्रकका चालकले बेँसिसहरबाटै ६ जना यात्रु चढाएर लगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिले–पहिले पनि सो ट्रकका चालकले मालबाहक सवारीमै यात्रु बोक्ने गरेको बुझिएको छ ।

लमजुङ सदरमुकाम बेँसीसहरबाट मनाङतर्फ जाँदा लमजुङकै मस्र्याङ्दी गाउँपालिकाको खुँदीमा चेकजाँच हुन्छ । त्यहाँबाट अघि बढेपछि मनाङको ताल र धारापानीमा पनि चेकजाँच चौकी छन् । तर, ती कुनै पनि ठाउँमा शनिबार कडाइका साथ जाँच भएको थिएन । जसका कारण ट्रकले यात्रु पनि लगेको थियो । फिल्डमा खटिएका ट्राफिक प्रहरी चालकहरूले दिने आर्थिक प्रलोभनमा पर्दा कडाइका साथ जाँच नहुने भएकाले मालबाहक सवारीसाधनले पनि यात्रु बोक्ने गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation