Pranmancha

Advertisment

SKIP THIS

सन्दीपले पेस गरेका सबैजसो कागजात शंकास्पद, आजदेखि सुनुवाइ हुने

बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।

सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए । सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए ।
सन्दीपले जिल्ला अदालतमा कागज गर्दै ‘बयानका दिन कुनै शुभचिन्तकले आफूलाई त्यो कागजात दिएकाले प्रमाण हुने ठाँनी पेस गरेको’ जवाफ दिएका थिए । थप कागजात मगाउन नपर्ने भएपछि जिल्ला अदालतले आइतबार नै पेशी तोकेको हो । फेरि इजलासले कुनै प्रमाण मगाउन आवश्यक नठानेमा आइतबारदेखि मुद्दामाथि निरन्तर सुनुवाइ हुनेछ ।
बलात्कारको दाबी र त्यतिको प्रतिवादमा मुद्दाको सुनुवाइ केन्द्रित हुनुपर्नेमा सन्दिप लामिछानेका कानुन व्यवसायीहरुले सुरुदेखि नै पीडित घटनाको दिन बालिग भइसकेको दाबी गर्दै त्यससम्बन्धी कागजात पेस गरेका थिए । सन्दीपले पेस गरेको कागजातलाई आधार देखाएर उच्च र सर्वोच्च अदालतले समेत उनलाई धरौटीमा छाड्ने आदेश दिएकोमा अहिले ती सबैजसो कागजात शंकास्पद देखिएका छन् ।
वडा कार्यालयको अभिलेख

सन्दीपले पीडितको जन्मदर्ता रहेको भनिएको वडा कार्यालयको कागजात पेस गर्दै उनको जन्ममिति १८ जेठ २०६२ भनी दाबी गरेका थिए । घटना भएको दिन पीडित १८ वर्ष पुरा गरेकी बालिग रहेको भन्ने दावी गर्न सन्दीपले उक्त कागजात पेस गरेका थिए ।

सम्बन्धित वडा कार्यालयले सन्दीपको दाबी अनुसारको विवरण त पठाएको छ, तर पीडितको जन्मदर्ताको फारम र अभिलेख आफूकहाँ नभएको दाबी गरेको छ । जब कि उसले घटनाको केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा नागरिकताको सिफारिसका लागि पठाएको जन्मदर्ताको अभिलेख अर्कै छ ।

जिल्लामा अभिलेख नै नरहेको कागजात पेश गरेकोमा गतसाता इजलासले प्रश्न उठाएको हो । सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट त्यसको प्रमाणित प्रति मगाउनु भनी अदालतले गरेको आदेशमा समेत सन्दिपले विवरण खुलाउन सकेनन् ।

‘मैले सम्मानित अदालतमा बयान दिने दिन धेरै जना शुभचिन्तकहरु मलाई भेट्न आउनुभएको थियो र सोही क्रममा मेरो एकजना खेल समर्थकले उक्त जन्मदर्ताको किताबको सम्बन्धित पृष्ठको प्रतिलिपी दिनुभएको थियो’ उनले गत आइतबार अदालतमा कागज गर्दै भनेका थिए, ‘सो कागज मलाई कसले दियो, वहाँको नाम मलाई थाह छैन, वहाँले सो कागज कहाँ र कुन निकायबाट ल्याउनुभयो सो मलाई थाह छैन ।’

नाममात्रै मिल्ने कागजात

सन्दीप लामिछानेले जिल्ला अदालत, काठमाडौंमा गौशाला-२६ जन्मदा अस्पतालको दर्ता किताब भनी एउटा कागजात पेस गरेका थिए । सन्दीपमाथिको बलात्कार आरोपको न्याय निरुपणका सिलसिलामा जिल्ला अदालतले पिडित जन्मिदाको जन्मदर्ता अभिलेख समेत मगाएको थियो । पीडित गौशालाको जन्ममिति १८ जेठ २०६१ उल्लेख गरिएको त्यो कागजात समेत शंकास्पद भेटिएको हो ।

उक्त दर्ता कितावको विवरण भिडाउदा पीडितको आमाको नाममात्रै मिल्छ, थर मिल्दैन । उक्त कितावमा गौशाला-२६ को जन्म हुँदा उनको आमाको उमेर २८ वर्ष भनी उल्लेख गरेका छन् । त्यो आधारले हेर्दा उनको आमा २०३३ सालमा जन्मिएको भन्ने विवरण खुल्छ । जुन विवरण सन्दिपले पेस गरेको थप अर्को कागजातसँग बाझिन्छ ।

एक आपसमा बाझिन्छ

पीडितले प्रहरीमा पेु गरेको जाहेरीमा ५ भदौं २०७९ मा क्रिकेटर सन्दीप लामिछानेले आफूलाई होटलमा लगेर जबर्जस्ती गरेको उल्लेख छ । लामिछानेले घटना भएको मितिमा पीडित १८ वर्ष पूरा भइसकेकी बालिग थिइन् भन्ने प्रमाणित गर्न ज्यादा मेहनत गरेका छन् ।

सन्दीपले बसाइँसराइ कागजात, कक्षा ८ को भर्ना किताब र उनी जन्मेको भनी दाबी गरिएको अस्पतालको दर्ता किताबको फोटोकपी अदालतमा पेस गर्दै त्यसको सक्कल प्रति झिकाउन माग गरेका थिए । बसाइँसराइको अभिलेख किताबसमेत शंकास्पद रहेको जिल्ला अदालत स्रोतले बताउँछ ।

परिवारको विवरण भएको उक्त दर्ता किताबमा पीडितको आमा २०५३ सालमा जन्मेको विवरण समावेश छ । जसको आधारमा आमा ९ वर्षको हुँदा पीडितको जन्म भएको अर्थ लाग्छ । ( onlinekhabar)

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation