बाढीमा बगेर बेपत्ता भएका यादवको शव फेला

बाढीले बगाएर बेपत्ता भएका शिवनारायण यादवको शव फेला परेको छ । सिरहाको लहान नगरपालिका २४ झुट्की गाउँका ३५ वर्षीय यादवको शव २४ घण्टापछि सखुवानन्कारकट्टी गाउँपालिका-५ कल्याणपुरमा फेला परेको छ ।

यादव झुट्की गाउँदेखि दक्षिण पर्ने सर्रे खोलामा आएको बाढीमा दाउरा खोज्दै मध्यभागमा पुगेका थिए । त्यसक्रममा अचानक आएको ठूलो बाढीले उनलाई बगाएको स्थानीय बासिन्दा समेत रहेका मानवअधिकारकर्मी राजकुमार राउत कुर्मीले जानकारी दिए ।

 

कुर्मीले भने, ‘खोलामा अचानक ठूलो बाढी आएकाले वारीपारी गर्न सक्ने अवस्था थिएन । यादव खोलाको मध्यभागमा बालुवा थुप्रिएको ठाउँमा केही वेर बसेका थिए । तर ठूलो भेलले उनलाई बगाएर सर्रे, खुट्टी खोला हुँदै बलान खोलासम्म पुर्‍याएछ ।’

बाढी हेर्न गएका स्थानीयले बलान खोलामा शव देखेपछि शनिबार अपरान्ह प्रहरीलाई खवर गरेका थिए । स्थानीयले दिएकाे जानकारीसँगै प्रहरीले तत्काल शव निकालेर लहानस्थित प्रादेशिक अस्पताल ल्याएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । उनका अनुसार यादवको शव शनिबार साँझ नै पोष्टमार्टम गरी सम्बन्धित परिवारलाई बुझाइएको छ ।

स्थानीय लुदर यादवका दुई भाईमध्ये कान्छा छोरा शिवनारायण अपांगता भएका व्यक्ति हुन् । उनले दु:खजिलो गरेर श्रीमती, दुई छोरा र एक छोरीसहित पाँच जनाको लालनपालन गर्दै आएका थिए । उनको मृत्युसँगै परिवारको विचल्ली भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation