“कमरेड फिप्टी प्रसेन्ट” मा उत्सर्गको सम्मान

    रसुवाली कवि

 

एउटै आन्दोलनबाट आएकाहरू कोही महलमा त कोही सडकमा छ्न् । कोहि खाडीमा छन् । कोही गाडीमा छन् ।

नेपाली प्रगतिवादी नाटक क्षेत्रमा स्थापित नाटककार खेम थपलियाको नविनतम नाटक हो कमरेड “फिप्टी पर्सेन्ट ।” तीनवटा नाटक रहेको यस संग्रहका तीनैवटा नाटक निकै रोचक र पठनीय छन् । मञ्चनीय दृष्टिकोणबाट समेत यी नाटक अब्बल छन्। कविता, नाटक, समालोचक, राजनीतिक लेख, एकाङ्की, अनुभुति आदि विविध साहित्यीक विधामा सशक्त रुपले कलम चलाइरहेका बहुप्रतिभाशाली खेमका हालसम्म २१ वटा कृति प्रकाशित भएका छन् ।

 

साहित्यीक फाँटमा खासगरी नाटक र एकाङ्कीमा उनको कलम झन सशक्त ढंगले स्थापित भएको पाइन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा आइरहेको आत्मसमर्पणवाद र विचलनका विरुद्ध प्रगतिशील लेखक स्रष्टाहरूले निरन्तर खबरदारीमा आफ्ना कलम दौडाइरहेका छन् । यस अर्थमा खेम थपलिया आफैं पनि आन्दोलनकै आँधी बेहेरीबाट आएका आमूल परिवर्तनको नारा हुँकार गर्ने स्रष्टा हुन् । जनताको पक्षमा लेखेकै आधारमा उनी कैयौंपटक प्रतिक्रियावादी सत्ताद्वारा पक्राउ परेर खोर मोर्चाको सबल नेतृत्व पनि गरिसकेका छन् ।

 

उनको चर्चित किताब खोर पढ्दा त्यहीँ अनुभुति पाउँछौँ । माओवादी जनयुद्धमा कृष्ण सेन इच्छुक नेपाली प्रगतिवादी कवितालाई बेग्लै उचाई दिए । इच्छुकका कवितामा कला र विचारको गहिरो संयोजन पाइन्छ । उनै अमर स्रष्टा इच्छुकको सम्मानमा थपलियाले प्रस्तुत कृति ‘कमरेड फिप्टी पर्सेन्ट’ नाटक लेखे । सर्वनाम नाटकघरमा मञ्चित उनको नाटक “उनी मरेका छैनन्” ले राम्रै चर्चा पाएको थियोे । यो नाटकलाई नेपाली कम्युनिस्ट आन्दोलनका शिर्ष नेता, साहित्यकार, कलाकारहरूले औधी मन पराएका थिए ।

 

  • २०५९ सालमा ‘अनुशासन हाम्रो मुटु’ शिर्षकमा कविता संग्रह प्रकाशित गरेर पुस्तकको यात्रामा लागेका थपलियाले मालेमावादी आन्दोलनलाई टेवा पु¥याउने प्रगतिशील कलम यात्रालाई रोकेका छैनन् । उनले कलम मार्फत नै प्रतिक्रियावादी सत्तालाई निरन्तर खबरदारी गर्दै आएका छन् । ‘कमरेड फिप्टी पर्सेन्ट’ त्यही भावले लेखिएको नाटक संग्रह हो ।

 

संसार बदल्छु भनेर कसम खाएका कम्युनिस्ट नेता कार्यकर्तामा चन्दा उठाउने र त्यहीँ चन्दा मार्फत घर घडेरी जोडेर आन्दोलनलाई घात गर्ने प्रवृत्ति हिजोआज ह्वात्तै बढेको छ । नेपाली आन्दोलनको यो बेग्लै कुरुप प्रवृत्ति नै बनेको छ । खेम थपलिया त्यही प्रवृत्तिलाई नाटक मार्फत उजागर गर्छन्, “कमरेड फिप्टी पर्सेन्ट” मा । शर्माजी र कमरेड फिटी पर्सेन्ट पात्र मार्फत खेमले नेपाली आन्दोलनको रोगलाई चोटिलो प्रहार गरेका छ्न् । एक ठाउँमा कमरेड फिप्टी पर्सेन्ट भन्छ– “आइसी, यहाँ अरूले पनि घर बनाएका छन् । मैले मात्र बनाएको हो र ! जाबो १० वटा डोजर । खाली ५ वटा कलेजमा मात्र लगानी गरेकोमा यत्रो डाहा ! अब यो पार्टी सिद्धीयो, सिद्धीयो, सिद्धीयो । यहाँ त नयाँ काम केही पनि गर्न नहुने भो । यसरी कसरी बन्छ नयाँ नेपाली ?” पार्टीमा कसरी कमरेड ‘फिप्टी पर्सेन्ट’हरू हावी भएका छन् र तिनले कसरी कम्युनिस्ट आन्दोलनमा धमिराको भुमिका खेलिरहेका छन् भन्ने तथ्य बोलेको छ उपर्यूक्त पंक्तिले ।

 

दोस्रो नाटक हो ‘उज्यालो भएकै छैन ।’ नाटककार थपलियाले यस नाटकमार्फत क्रान्तिकारी आशावादलाई स्थापित गराउन खोजेका छन् । नेपाली जनताले वर्गसंघर्षले दिएको त्याग, तपस्या र बलिदानको धारालाइ काव्यीक रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत कृतिमा अपेराको प्रयोग पनि गरिएको छ । एक ठाउँमा काका पात्र भन्छन्, “हिजो हामीले आदर्श मानेका हाम्रा नेताहरू भटाभट ठुलाठुला बिल्डिङ ठड्याउँदैछन् ।

 

उनीहरू गाउँ–गाउँमा, टोल–टोलमा मन्दिर र चर्च बनाउन प्रतिस्पर्धा गर्दैछन् । तँलाई यो कुरा थाहा होला नि ।” भतिज पात्रले काकालाई यसको साटो देशलाई विकास निर्माण खाँचो भएको तथ्य बताउछ । यस मानेमा जसरी माओवादी आन्दोलनका सुप्रीमो प्रचण्डलाई अचानक गेरु बस्त्र लगाउनुपर्ने बाध्यता आइलाग्यो, त्यसरी नै धेरै नेताहरू बिग्रेकोमा थपलिया चिन्तित छ्न् । एउटै आन्दोलनबाट आएकाहरू कोही महलमा त कोही सडकमा छ्न् । कोहि खाडीमा छन् । कोही गाडीमा छन् । यस नाटकमा खेम थपलियाले एउटा सांगीतिक आवाज पनि राखेका छन् नाटकको अन्तिममा । जून यस्तो छ ।

 

“उज्यालो भएकै छैन, अँधेरी रात ढलेकै छैन
मनको उज्यालो निभेकै छैन, धर्तीमा उज्यालो भएकै छैन ।”

साँच्चै यो देशमा उज्यालोको वातावरण बनेकै छैन । उज्यालो आएकै छैन । देशले काचुली फेरेकै छैन । अर्को सशक्त नाटक छ, बन्दी अखडामा कवि । लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि जसरी कवि÷ कलाकार÷स्रष्टाहरू राज्यको नजरमा अपराधी ठहरिए । त्यो कुरा एउटा प्रगतिवादी स्रष्टालाइ ठिक लाग्ने कुरा भएन । स्वयंम यस नाटकका सर्जक खेम थपलिया समेत बन्दी अखडामा परेका छन् । बन्दी अखडामा उनले आफ्नो निजत्वलाइ गिर्न दिएको उदाहरण नै छैन । एउटा स्वाभिमानी कवि पात्र बन्दी अखडाका बोशहरूसँग झुकेको छैन ।

 

उ आफ्नो लक्ष्य र उदेश्यप्रति प्रतिबद्ध छ । अन्तिममा प्रहरी अधिकृत कविबाट निकै र प्रभावित भएको छ । यसकारण पनि नाटकले वैचारिक प्रतिबद्धता र वर्गसंघर्षको ऐतिहासिकतालाई जोडदार रूपमा प्रस्तुत गरेको छ । आफ्नो समयमा बलशाली नाटक लेखेर पनि मञ्चनीय रूपमा कम नाटक मन्चन भएका सस्ट्रा हुन खेम थपलिया । प्रगतिवादी नाटय क्षेत्रमा कम मान्छे क्रियाशील रहेकाले पनि उनले यो समस्या भोग्नुपरेको हो । आगामी दिनमा उनका यी वैचारिक नाटक मन्चन होस् । नाटककारलाइ हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation