क्यामराम्यान- घनश्याम अस्तितव

हाँसीरहेछन्– तस्विरहरु भित्तामा
सम्झन्छु– फोटो खिच्दाका ती क्षंणहरु
पैंचो माग्छु– आफ्नै मनसंग एकमुठी खुशी
र फिस्स– एक हाँसो हाँस्छु

पुस्कर सर पढाउदा बारम्बार भन्थे
‘अ पिक्चर इज वर्र्थ अफ् थाउजेन्ड ओड्ज’
अहो ! आज बुझ्दै छु– झन् गहिरो अर्थ
यी प्रत्येक तस्बिरले बोकेका कथाहरु
अट्दैनन् कि झैँ लाग्छ– हजार र हजार शब्दहरुभित्र

अँध्यारै हिंडिन्थ्यो–अँध्यारै पुगिन्थ्यो
स्वर्गद्घारी, बैशाखे पूर्णीमाको दिन
थकाइ र जाडो भगाउन साँझमा
चिनी राखेर जाँड पिइन्थ्यो
र सुतिन्थ्यो– जोगीमारा मतिफुपुको घरमा
हेर्छु, लेखनाथ, ददीराम, रमेश र प्रेम उभिएको फोटो
यस्तै कथा सम्झिन्छु

कट्टु मात्रैमा उभिएर खिचिएका फोटा हेर्छु
याद आउछ– बैशाख, जेठमा
जुरढुंगाको रहमा पौड्दाका ती दिनहरु
डहरे खोलालाई पछाडि राखेर खिचिएका फोटा हेर्छु
स्कुले जीवन र लुकामारी खेल सम्झिन्छु
बारम्बार आफ्नै स्वास्नीको
झम्टाइबाट बचाएको छु– काली, मोटी केटीको यो फोटो
हररात उसैसँग हुन्छु र पनि सोध्छे शंकाले
‘यो केटी को हो ?’
म भन्दिन्छु– तिम्रा पनि त फोटाहरु छन् नि भित्तामा

अहो !
क्यामरा अगाडि सधै
हाँसीदिने यी मान्छेहरुका– खुशी र मुस्कानहरु
उस्तै छन् होला कि भागे होलान् कतै ?

सबै–सबैको प्रेमले
म त क्यामराम्यान जस्तो
सधै चिन्ता भयो– फोटो खिच्ने कुराको
तर एउटै फोटोमा देख्दिन कतै– आफू उभिएको

यो साँझ चिन्तनको खाल्डोमा खसेको छु
प्रश्नहरुसँग अन्तरक्रिया गर्न
कसै–कसैका भित्तामा झुन्डिएको
हुम्ला कि नहुम्ला म ?
यसै प्रेमले हेर्छन् कि हेर्दैनन् होला कोही ?
सम्झन्छन् कि सम्झन्नन् होला मैले जस्तै ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation