दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बमले ध्वंस मच्चाएको ७८ वर्ष पुग्दै गर्दा मानव जातिले भोग्नुपरेको त्यो कहरको प्रभाव आजसम्म स्थिर बन्न सकेको छैन । यस घटनालाई विशेष गरी मानवतामाथि क्रूरतम हमलाका रूपमा बुझ्न सकिन्छ ।
शक्तिको उन्माद कहाँसम्म पुग्दो रहेछ भन्ने ज्वलन्त उदाहरणहरूमध्येको एउटा प्रतिनिधि घटना हिरोसिमा र नागासाकीमा मच्चाइएको नरसंहार हो । बीसौं शताब्दीमा चमत्कारपूर्ण आविष्कार र नवप्रवर्तनहरू भएका हुन् तर भयावह हुने गरी विज्ञान–प्रविधिको चरम दुरुपयोग गरिएको उदाहरण हो— जापानमा गराइएको त्यो विस्फोट ।
दोस्रो विश्वयुद्धको बीजारोपण पहिलो विश्वयुद्धमै भएको थियो । हिटलरको नाजीवाद र जापानको सैन्य साम्राज्यवादलाई दोस्रो विश्वयुद्धका लागि जिम्मेवार मान्नुपर्छ । सुरुसुरुमा संयुक्त राज्य अमेरिका आन्तरिक सशक्तीकरणमा लागेकाले युद्धमा प्रत्यक्ष सामेल भएको थिएन । दोस्रो विश्वयुद्ध अगाडि बढ्दै जाँदा युरोपमा हिटलर नेतृत्वको जर्मनीद्वारा अस्ट्रिया, चेकोस्लोभाकिया, बेल्जियम, डेनमार्क र नर्वे आदिमा आक्रमणका प्रयासहरू भए । यता ‘एसिया एसियालीहरूको’ भन्ने भावना जागृत भइरहेको थियो र जापान एसियाको महाशक्तिराष्ट्र थियो । यही उन्मादमा जापानले अमेरिकाको हवाई राज्यको पर्ल हार्बरमा कल्पनातीत आक्रमण गरिदियो । त्यसपछि अमेरिका पनि दोस्रो विश्वयुद्धमा होमियो अनि त्यसले नयाँ र खतरनाक मोड ल्यायो ।
विश्वकै शक्तिराष्ट्र बन्न लालायित जापानले अमेरिकाको शक्तिशाली जल तथा वायुसेनालाई ध्वस्त पारेर एसिया–प्रशान्त क्षेत्रमा प्रभुत्व विस्तार गर्ने लालसामा पर्ल हार्बरमा हमला गरेको थियो । ७ डिसेम्बर १९४१ को त्यो आक्रमणमा अमेरिकी सेनाका ठूलठूला युद्धपोतहरू, लाखौं ग्यालन तेल भरिएका जंगी जहाजहरू नष्ट भए । आक्रमणको समयमा उल्लेख्य सैनिकहरू पर्ल हार्बरनजिक होनुलुलु सहरका रात्रिकालीन मनोरञ्जन केन्द्रहरूमा गएकाले लगभग २ हजार ४ सय सैनिकको मात्र मृत्यु भएको थियो; १ हजार जना घाइते भएका थिए । त्यो हमलापछि ८ डिसेम्बरमा अमेरिकी राष्ट्रपति फ्रेंकलिन रुजवेल्टले जापानविरुद्ध युद्धको घोषणा गरे ।
पर्ल हार्बरमा आक्रमणपछि रुजवेल्टकै निर्देशनमा अमेरिकाले बम बनाउने कामका लागि अति गोप्य रूपमा वैज्ञानिक ओपनहाइमरको नेतृत्वमा म्यानहाटन परियोजना सुरु ग¥यो जसको सुइँको उनले उपराष्ट्रपति ह्यारी ट्रुम्यानलाई सम्म दिएका थिएनन् । रुजवेल्टले २८ डिसेम्बर १९४२ मा स्विकृति दिएको त्यस महत्वाकाङ्कक्षी परियोजनाका लागि तमाम वैज्ञानिक र सैन्य अधिकृतलाई खटाइएको थियो ।
दोस्रो विश्वयुद्धमा जापानबाट घाइते भएको अमेरिका परमाणु शक्ति आर्जन गर्न दत्तचित्त भयो । यस क्रममा अमेरिकाले युरेनियम–२३५ र प्लुटोनियम–२३९ प्रयोग गरिएका बमहरू बनाउन सफलता प्राप्त गरिसकेपछि तिनको सफल परीक्षण पनि न्यु मेक्सिको राज्यको दूरदराजको मरुभूमिमा ग¥यो । युरोपतिर १९४५ को अप्रिल महिनातिरै युद्ध मत्थर भइसकेको थियो भने एसिया–प्रशान्त क्षेत्रमा जापान र अमेरिकाबीच युद्ध चर्किरहेको थियो । १२ अप्रिल १९४५ मा रुजवेल्टको निधनपछि राष्ट्रपति बनेका ट्रुम्यानले जापानलाई आत्मसमर्पण गर्न वा कुनै ठूलो क्षति बेहोर्न चेतावनी दिए । नाजी जर्मनी युद्धमा पराजित भैसकेको थियो । जापानलाई आत्मसमर्पण गराउन र भावी शक्ति सन्तुलनबारे विमर्श गर्न त्यस बेलाका विश्वशक्तिराष्ट्रहरू जर्मनीको ठूलो सहर पोस्टड्याममा १९४५ को १७ जुलाईदेखि अगस्त २ सम्म सम्मेलनका लागि भेला भएका थिए । २६ जुलाईमा सम्मेलनले जापानलाई बिनासर्त आत्मसर्मपण गर्न चेतावनी दिएको थियो । यो घोषणामा अमेरिका, बेलायत र चीनले समर्थन जनाएका थिए । त्यसको दुई दिनअघि ट्रुम्यानले सोभियत नेता जोसेफ स्टालिनलाई अमेरिकाले शक्तिशाली ध्वंसात्मक बम बनाएको जानकारी दिएका थिए । यसको अर्थ अमेरिकाले बनाएको परमाणु बमको प्रयोग एकै चोटि संसारले थाहा पाएको नभई तत्कालीन सोभियत संघले थाहा पाइसकेको थियो । पोस्टड्याम सम्मेलनबाट देशहरूबीच आपसी र बहुपक्षीय शङ्काहरूको बीजारोपण भएको बुझ्न सकिन्छ । जापानले युद्धविराम नगरेपछि विश्वइतिहासमा भयानक कालो दिन पनि आयो ।
६ अगस्ट १९४५ । जापानी समय अनुसार बिहानको आठ बजे हिरोसिमामा अमेरिकाले परमाणु बम खसाल्यो । पूरै सहरलाई आगाको लपेटाले झैं ताप र विकिरणले जकड्यो; ८० हजार भन्दा बढी मानिसले तत्कालै ज्यान गुमाए । जापानसहित विश्वभरि कोलाहल मच्चियो । त्यसको तीन दिनपछि ९ अगस्टमा नागासाकीमा अर्को बम खसालियो । बम दुई पहाडबीच खसेकाले तुलनात्मक रूपमा कम क्षति भयो ।
नागासाकीको त्यो विपत्मा ४० हजार जनसङ्ख्याको तत्कालै मृत्यु भएको थियो । मानव इतिहासकै सबैभन्दा भयंकर, नयाँ तथा क्रूर घटनाका कारण जापानी सम्राट् हिरोहितोले १५ अगस्टमा रेडियो सन्देशमार्फत आत्मसमर्पण गरेको घोषणा गरे । तापको राप र रेडियो विकिरणका कारण कालान्तरमा हिरोसिमामा १ लाख ५० हजार र नागासाकीमा ७५ हजार जनाको मृत्यु भएको थियो ।
हिरोसिमा र नागासाकीको त्यो प्रलयकारी घटना र त्यसबाट मानव जातिले चुकाउनुपरेको पीडा मानव मस्तिष्कमा कति गहिरो गरी बसेको छ भन्ने अनुमान मात्र लगाउन पनि गाह्रो छ । त्यस बीभत्स घटनाका कारण जापानी सम्राट् हिरोहितो जीवनभर दुःखी रहे । विश्वयुद्धताकाका जापानी प्रधानमन्त्री तोजो हिदेकी आत्महत्याको प्रयास गर्नुपर्ने तहसम्म पुगे र जापानको हारको कारक ठान्दै पछि उनलाई मृत्युदण्ड दिइयो । विश्वले भविष्यमा अर्को त्यस्तो घटना बेहोर्न नपरोस् भनेर संयुक्त राष्ट्र संघसहित सम्बन्धित सबै पक्ष जिम्मेवार बन्न आवश्यक देखिन्छ । विश्वमा ऊर्जाको बढ्दो माग पूरा गर्न परमाणु शक्तिको शान्तिपूर्ण उपयोग अपरिहार्य बन्दै गइरहेको छ । भारत, चीन र पाकिस्तान पनि परमाणु शक्तिसम्पन्न राष्ट्र भएकाले त्रिकोणात्मक द्वन्द्वमा जानी–नजानी हुन सक्ने सम्भावित दुर्घटनाबाट जोगिन नेपालले बढी नै सचेतता अपनाउनुपर्छ । हाल रुस–युक्रन द्वन्द्वले पारमाणविक हातहतियारको डर उब्जाइरहेको छ । यस विषयमा राष्ट्रसंघसहित पूरै विश्व चनाखो बन्नुपर्छ । मानव सभ्यतालाई नै सर्वनाश गर्ने परमाणु बम प्रयोगको त्यो महाप्रलयकारी घटना नै अन्तिम हुनुपर्छ भन्ने कामना गरौं ।
भुसाल त्रिवि, रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक हुन् । कान्तिपुरबाट…………