अर्कोदिन घरमा तीनै जना बिरामी परे । स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्न गए, अवस्था झन् गम्भीर बन्दै गएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइयो । तर दुईदिनको अन्तरालमा भीमा, उनका ११ वर्षका छोरा प्रेम र ५ वर्षका छोरा सुशीलको मृत्यु भयो ।
त्यसै गाउँकी २६ वर्षीया बिमला बिकको पनि जंगली च्याउ खाँदा ज्यान गयो । २६ असारमा जंगलबाट ल्याएको च्याउको तरकारी बिमलासहित परिवारका ४ सदस्यले खाएका थिए । रोल्पामा प्राथामिक उपचारपछि बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा लगिएका उनीहरुमध्ये बिमलाको मृत्यु भयो भने तीन जनालाई निको भए ।
साउन २९ गते घर नजिकैको जंगलमा भेटिएको च्याउ खादा दाङ बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार, उनका श्रीमान् र छोरी बिरामी परे । ११ वर्षीया छोरी अस्मिताको प्रादेशिक अस्पताल बुटवलमा साउन ३१ गते उपचारकै क्रममा मुत्यु भयो । त्यसको दुईदिनपछि आमा ई रीको पनि उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो । मृतकका श्रीमान अजय सुनार भने उपचारपछि निको भए ।
लुम्बिनी प्रदेशमामात्र पछिल्लो १३ महिनामा जंगली च्याउ खाएर ८ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । बर्दिया र रोल्पामा ३/३ जना र दाङमा २ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए ।
जंगलमा उम्रेको विषालु च्याउ खादा १३ महिनामा प्रदेशभर १ सय ६१ जना बिरामी परेको उनले बताए । उनका अनुसार दाङमा ३४ जना, बर्दियामा ३ जना, रोल्पामा ९ जना, कपिलवस्तुमा १०, बाँकेमा १९, गुल्मीमा ५, नवलपरासीमा ४, प्युठानमा २, जना र रुपन्देहीमा एक जना बिरामी परेको तथ्यांक छ ।
छैन सावधानी र सचेतना
गत असार २६ गते जंगलकै च्याउ खाँदा रोल्पाको लुंग्रीमा एकै महिनामा चार जनाको मृत्यु भयो । एउटै गाउँकै ११ जना पनि बिरामी परेका थिए ।
तर पनि गाउँमा जंगली च्याउ खाने क्रम रोकिएन । पहाडी गाउँहरु वस्तीहरुमा च्याउ खाने जंगली च्याउ खाने प्रचलन नरोकिएकाले बर्सेनी समस्या यथावत रहेको बताउँछिन्, लुंग्री गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी गुरुङ ।
उनका अनुसार पहाडी गाउँ बस्तीमा घास दाउरा गर्न जंगलमा जाने र त्यहाँ भेटिएका च्याउहरुलाई तरकारी बनाएर खाने प्रचलन छ ।
‘वर्षौंदेखि जंगलको च्याउ खाने प्रचलन गाउँघरमा चल्दै आएको छ । धेरैलाई जंगली च्याउ विषालु च्याउले ज्यान नै लिन सक्छ भन्ने पनि थाहाँ हुँदैन’, उनी भन्छिन्, ‘कुन च्याउ खाने र कुन नखाने भनेर चिन्न नसक्दा विरामी परेका र मृत्यु भएका घटना छन् ।’
उनले यसका लागि पहाडी गाउँ वस्तीमा विषालु च्याउबारे जनचेतना फैलाउनु पर्ने बताइन् ।
जंगलमा पाइने विषालु च्याउले ज्यानै लिन सक्ने भएकाले पहिचान गरेर मात्र खानुपर्ने चिकित्सकहरु बताउँछन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. अजयराज गौतमले पहिचान नखुलेका घरवरीपरी र जंगलमा भेटिने च्याउहरु खान नहुने बताउँछन् ।
‘जंगलमा भेटिएका सबै च्याउ खान उपयुक्त हुँदैनन्, ती कतिपय विषालु हुन सक्छन् र ज्यानै पनि जान सक्छ’, उनी भन्छन् ।
कुन च्याउ विषालु कुन खान योग्य भनेर चिन्न मुश्किल हुने भएकाले घरमै बनाएका र व्यवसायिक रुपमा पालिएका च्याउ बाहेक नचिनेका च्याउहरु खानै नहुने उनी सुझाउँछन् ।
उनले विषालु च्याउले ज्यानै नलिए पनि स्वास्थ्यमा असर पुग्ने बताए । ‘मृत्यु नै नभए पनि च्याउको प्रकृति र बिरामीको अवस्थामा हेरेर शरीरमा असर हुन सक्छ’ उनले भने, ‘विषालु च्याउले कलेजो र फोक्सो, मष्तिष्कमा असर गर्छ । (onlinekhabar)