पर्यटन, पूर्वाधार विकास र पार्कको महत्व- केवि मशाल

पर्यटनका लागि पार्क पुर्वाधारनै हो भन्दा पनि हुन्छ । कुनै नयाँ ठाउँमा घुमफिर गर्न जाने पर्यटकहरुले सबैभन्दा पहिला त्यहाँ पार्क अर्थात उद्यान नै खोज्दछन् । पर्यटन र पार्क अथवा उद्यान एक अर्काका परिपुरक हुन भन्दा पनि हुन्छ । हिजोआज हरेक गाउँ शहरमा पार्क अर्थात उद्यानहरु निर्माण भएका छन् । त्यहाँ पर्यटकहरु पुग्दछन् र रमाउछन् । एकैछिन भएपनि थकान मेटछन् । पार्कमा पुग्ने पर्यटकहरु फूलेका फूलहरुसंग सेल्फी फोटो खिच्दछन् । कतिपय पर्यटकले पार्कमा टिकटक र भिडिओ बनाउछन् । पर्यटकहरुले स्वच्छ हावा लिन वा पार्कमा सजिएका पूmलसँग रमाउन पार्कमा पुग्दछन् ।
पर्यटन प्रबद्र्धन गर्न अब नयाँ सोचको विकास हुनुपर्दछ । पर्यटन प्रबद्र्धनका लागि पुर्वाधारको विकास गर्दा पार्क अर्थात उद्यान बनाउने योजना हुनुपर्दछ । शहर बजार र ग्रामीण क्षेत्रमा समेत खाली जमिनलाई पार्क बनाउने हो भने पर्यटनको विकासमा पार्कको छुट्टै महत्व हुन्छ । घुमफिर गर्दा मनोरञ्जन गर्ने स्थल खोज्नु मानवीय स्वभाव हो । पर्यटकहरु मनोरञ्जनको लागि मात्र नभएर अध्ययन अनुसन्धानको लागि समेत घुमफिर गर्ने गर्छन् । पर्यटकहरुका रुची अनुसार विश्वमा घुमेर हेर्न सकिने सम्पदाहरु लाखौ छन् । सबै पर्यटकहरुले चाहेर पनि त्यस्ता सबै सम्पदासम्म पुग्न सक्दैनन् । टाढा–टाढा पुग्न नसक्ने पर्यटकहरुलाई आफ्नै शहर बजारको नजिक नै घुमफिर गर्न निस्कन्छन् । पार्क पर्यटनको लागि मात्र नभएर शहरीकरणको अभिन्न अंग पनि हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कुनैपनि क्षेत्रलाई नगरपालिकाको रुपमा वर्गीकरण गर्नको लागि त्यो ठाउँमा तोकिए बमोजिम पार्क हुनुपर्ने कुरा उल्लेख छ । तर पार्क कति क्षेत्रफलमा हुनुपर्दछ ? पार्कमा के के हुनुपर्दछ ? भन्ने कुनै निश्चित मापदण्ड भने छैन ।
पर्यटकहरुलाई सुस्ताउने, थकान मेटाउने वा सामान्य रमाइलो गर्न पार्कको आवश्यकता हुन्छ । पार्कको मुख्य विशेषता भनेको पूर्ण प्राकृतिक र हरियाली वातावरण हुनु हो । पार्क भित्र प्रवेश गर्ना साथ पर्यटकहरु धुवाँ–धुलो र कोलाहलबाट मुक्त भएको महसुस गर्दछन् । कतिपय फूलका छुट्टै विशिष्टता र पहिचान हुन्छन् । नेपालको लालीगुरॉस, जापानको साकुरा वा चेरी, बेलायतको गुलाब, फ्रान्सको कमल जस्तै फूलको विशेषताले पर्यटकहरु मोहित हुन्छन् । पार्क अर्थात उद्यानमा भएका पूmलको सुगन्ध र सुन्दरतासँग पर्यटकहरु रमाउछन् । पर्यटन विकासको लागि पूर्वाधारमा पार्क अहिलेको आवश्यकता हो ।  विश्वका विकसित एवं सम्पन्न मुलुकहरु पर्यटनको विकासले आज साँस्कृतिक एवं प्राकृतिक सम्पदाको चर्चित एवं बहुआयामिक स्रोतको रुपमा स्थापित भएका छन् । ती राष्ट्रहरुले वैदेशिक मुद्रा आर्जनमात्र नगरी पर्यटन क्षेत्रको पूर्वाधारको निम्ति तयार गरिएका साधन र स्रोतले समाजको आर्थिक, शैक्षिक, सामाजिक, भौतिक, सांस्कृतिक आदि सबै क्षेत्रको विकास भएको छ ।
यसरी विकास भएका मुलुकका गाउँको प्राकृतिक र साँस्कृतिक सम्पदामा पर्यटकहरु रमाउँछन् । त्यहाँका बासिन्दाहरुले होटेल, पथ प्रदर्शक, नृत्य, गायन, घरेलु उत्पादनका सामग्री बिक्रीलगायत सरल र सहज माध्यमद्वारा पैसा कमाउँछन् ।
पार्क निर्माणले पर्यटनको विकास र आर्थिक क्षेत्र सबल भएको उदाहरणका रुपमा धेरै देशको पर्यटकीय स्थललाई लिन सकिन्छ । बेलायतको प्रमुख आर्थिक स्रोत नै पर्यटन हो । लन्डन पुग्ने पर्यटकहरुले बेलायतको अर्थतन्त्रमा ठूलो टेवा दिने गर्दछन् । लन्डनको कुनै पनि सौन्दर्य प्राकृतिक होइन । सबै मानव निर्मित हुन् र निर्माण गर्न शताब्दियौं लागेको थियो । निर्माण गरिएको सौन्दर्यताबाट देशको अर्थतन्त्र सबल हुनसक्छ भने प्रकृतिले उपहार दिएको सुन्दरताको उपयुक्त समायोजन गरेर हामी पनि धनी किन नहुने ? यो कुरा नेपालका सबै तहका सरकारले बुझनुपर्दछ । युएई, कतार, मलेसिया मोरक्को जस्ता कैयौं देश जहाँ मानव निर्मित संरचनाका कारण दीर्घकालीन रुपमा धनी भएका छन् । कुनै समय ती देश पनि उजाड, बञ्जर वा जंगली उपनामले ग्रसित र गरिब थिए । अहिले तिनै देश विश्वभरीका पर्यटकहरुलाई आफ्नो देशमा आकर्षित गर्दै धनी बन्दै गएका छन् ।
पर्यटनको विकासको लागि अन्तर्राष्ट्रिय प्रचलन र अभ्यास बेग्लै छ । स्वस्थ जीवनयापनका निम्ति शहरी क्षेत्रमा प्रतिव्यक्ति न्यूनतम २० वर्गमिटर खुला ठाउँ हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्डमा पर्दछ । युरोपेली शहरहरुले औसत प्रतिव्यक्ति ८० वर्गमिटर खुला सार्वजनिक स्थल बनाएका छन् । संसारमै बस्नलायक भनेर कहलिएका सबै शहर बजारले घना वस्तीबीच बढीभन्दा बढी हरियाली पार्क बनाएका छन् । बस्नलायक शहरको सूचीमा माथिल्लो श्रेणीमा पर्ने भियनालाई संसारकै हरियाली सहर भनिन्छ । भियना शहरको ५१ प्रतिशत भू–भाग हरियाली पार्कले ओगटेको छ । यहाँ प्रतिव्यक्ति १ सय २० वर्गमिटरसम्म पार्क रहेको तथ्यांक छ । यो क्षेत्रफल वर्षेनि बढ्दै गएको पाइन्छ । संसारकै तेस्रो बढी पर्यटकीय जनघनत्व भएको सिंगापुर पनि हरियाली पार्कका लागि प्रसिद्ध छ । सहरको पूर्वी तटदेखि पश्चिमी तटसम्म पार्कको बाक्लो जालो फैलिएको छ । यहाँ प्रतिव्यक्ति ६६ वर्गमिटर हरियाली पार्क छ । कसैले पैदलै शहर छिचोल्छु भनेर आँटयो भने सडकमा पाइलै नटेकी पार्कै पार्क हिँडेर एउटा किनारबाट अर्कोमा पुग्न सकिन्छ । न्यूयोर्क, म्यानहटनको पश्चिमी भागमा आकासे पुलमाथि पनि पार्क निर्माण भएका छन् । पार्क बनाउने यो शैली अमेरिकाका अन्य सहरले पनि सिको गर्न थालेका छन ।
फ्रान्स, जापान, क्यानडा, जर्मनी, बेलायत लगायत देशमा पनि आकासे पुलदेखि सडक छेउका फुटपाथ फराक पारेर पार्क बनाउने क्रम बढ्दो छ । अमेरिकामा सन् २०१७ अक्टोबरमा हजार जना अमेरिकी मेयरको सम्मेलनले १० मिनेटको हिँडाइमा पार्क भन्ने प्रस्ताव एकमतले पारित गरेका छन् । जसअनुसार अमेरिकीहरुमा दस मिनेटको हिँडाइमा हरेक शहरबासीले पार्क भेट्टाउनुपर्छ भन्ने मान्यता रहेको छ । दक्षिण एसियाका सबै राजधानीमा सार्वजनिक पार्क छन् । भारतको राजधानी नयाँ दिल्लीमा त सानाठूला गरी २१ वटा पार्क छन् ।
नेहरु पार्क, लोधी गार्डेन, बुद्ध जयन्ती पार्क, सेन्ट्रल पार्क, मुगल गार्डेन, जापानिज पार्क, नेशनल रोज गार्डेन आकर्षक पार्कमध्य पर्दछन् । बंगलादेशको राजधानी ढाकामा राम्ना पार्क छ । त्यहाँ ७१ प्रजातिका फूल, ३६ प्रजातिका फलफूलका रुख र ४१ प्रजातिका अन्य प्रजातीका रुखहरु छन् । ढाकाकै मिरपुरमा राम्ना पार्कभन्दा तीन गुणा ठूलो ८४ हेक्टरमा फैलिएको बोटानिकल गार्डेन छ । ढाकाको चिडियाखानासँगै रहेको यो विशाल गार्डेन बंगलादेशकै सबैभन्दा ठूलो बोटबिरुवा संरक्षित क्षेत्र पनि हो ।
पाकिस्तानको राजधानी इस्लामाबादमा तीन सय हेक्टरमा फैलिएको फतिमा जिन्हा पार्क छ । यो पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्हाकी बहिनीका नाममा बनाइएको हो । पार्कको दुई हेक्टर क्षेत्रमा सोलार प्यानल जडेर राति उज्यालो पार्ने गरिन्छ । श्रीलंकाको राजधानी कोलम्बोमा पनि भिक्टोरिया पार्क छ । पार्कभित्रै चिडियाखाना छ, । बालबालिकाहरु खेल्ने छुट्टै पार्क छ । त्यहाँभित्रका वाटर फाउन्टेनले यसको सुन्दरता थपेका छन् । जनसंख्या र क्षेत्रफल दुबैका आधारमा भुटान र मालदिभ्स दक्षिण एसियाका दुई साना मुलुक हुन् । यी दुबै मुलुकका राजधानी थिम्पु र मालेमा सानै आकारका भए पनि सार्वजनिक पार्क छन् । बिश्वमा अहिले सम्म सबैभन्दा राम्रो र सबैभन्दा बढी फुल भएको पार्क दुवइको मिराकल पार्क मानिन्छ । जुन पार्कमा ४५ लाख प्रजातीका फुलहरुले सजिएको छ । यो पार्कमा बिश्वका धेरै मुलुकका पर्यटकहरु पुग्ने गर्दछन । यो उदाहरण मात्र दिन खोजिएको हो ।
प्राकृतिक रुपमा आफै तयार भएका वनजंगल, जीवजन्तुहरुलाई व्यवस्थित गरेर बनाईएको उद्यानलाई प्राकृतिक तथा पर्यावरणीय पार्क भनिन्छ । यस्तो पार्क अन्तर्गत जुलोजिकल पार्क अर्थात प्राणी उद्यान र जियोलोजिकल पार्क अर्थात भौगर्भिक उद्यान समेत पर्दछन । यस किसिमका पार्कहरु मानिसहरुले निर्माण गरेका हुदैनन् । केवल प्राकृतिक सम्पदालाई संरक्षण र पर्यटनमैत्री बनाएर पर्यटकहरुलाई आकर्षित गरेका हुन्छन् । प्रायजसो यस्ता पार्कहरु वस्तीदेखि केही पर रहेका हुन्छन् । प्रकृतिमा रमाउन चाहने पर्यटकहरु को लागि यस्ता पार्क रोजाइमा पर्दछ । अर्को तर्फ सांस्कृतिक तथा ऐतिहासिक पार्क कुनै ऐतिहासिक तथा साँस्कृतिक महत्व भएका स्थान वा सम्पदालाई केन्द्रमा राखेर यस्ता पार्कहरु बनाईएका हुन्छन् ।
वनस्पति उद्यान फरक फरक स्थानमा पाइने वनस्पतिहरुलाई संग्रह गरेर पार्कहरु बनाईएको हुन्छ । यस्तो पार्कमा वनस्पतिहरुको हर्वेरियम समेत बनाएर राखिएको हुन्छ । वनस्पति उद्यान अर्थात पार्कमा पर्यटकहरुले धेरै किसिमका वनस्पतिहरु देख्न र तिनीहरुको बारेमा अध्ययन गर्न सक्दछन । वनस्पति पार्क विद्यार्थी र अध्येताहरुलाई  लोकप्रिय हुन्छन् । ललितपुरको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान यस्तै किसिमको पार्क हो।
संसारका सबै ठूला शहर बजारमा पर्यटन बिकासका लागि मनोरञ्जन दिन पार्क निर्माण भएका हुन्छन । ती पार्क कहीँ सरकारले बनाएको हुन्छ त कहीँ निजी क्षेत्रको लगानीमा निर्माण भएका हुन्छन । नेपालमा राणाहरुको पालामा दरवार परिशरमा फलपूmलका बगैचा लगाउन सुरु गरेका थिए । चन्द्र शमसेरले सिहदरवार निर्माण गरेपछि पुतली बगैचाको नाममा धेरै फलपूmलको बगैचा बनाएका थिए । केशरशमशेरले वि.सं.१९७६ तिर एउटा उद्यान बनाएका थिए । त्यो उद्यानको नाम स्वप्न बगैँचा राखिएको थियो । त्यतिबेला अत्याधुनिक तरिकाले बनाइएको उद्यान अर्थात पार्क राणाहरुको निजी प्रयोजनका लागि थियो । समय अन्तरालमा, राणाकालको अन्त्य भयो । पछि उद्यान नेपाल सरकारको मातहत आयो । सरकारी मातहत आएपछि उद्यानको समुचित व्यवस्थापन हुन सकेन । यो उद्यान नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत स्वप्न बगैँचा विकास समिति नामक स्वायत्त निकायअन्तर्गत सञ्चालित छ ।
पर्यटन क्षेत्रको पुर्वाधार विकासमा पार्कको महत्व धेरै हुन्छ । नेपालमा पर्यटनको विकासमा पार्कलाई त्यति महत्व दिने गरेको पाइन्न । नेपालमा पनि पछिल्लो चरणमा पार्कहरु समाजका अभिन्न अग बनेका छन् । पछिल्लो समय पार्क र उद्यानहरु व्यापक रुपमा बन्दै गएका छन् । शहरी बजार क्षेत्रमा बढदो जनघनत्वका फलस्वरुप सुस्ताउने, थकान मेटाउने र सामान्य रमाइलो गर्ने सार्वजनिक स्थलको कमी हुन थालेको छ । यो आवश्यकतालाई पूरा गर्न नगरपालिकाका र गाउँपालिकाहरुले ग्रीनपार्कको अवधारण ल्याएर ठाउँ–ठाउँमा पार्कको निर्माण गर्न थालेका छन् । पार्कबाट पर्यटनमा मात्र नभई अन्य क्षेत्रमा समेत योगदान पुगेको हुन्छ । शहर बजारमा पार्कहरुले खुला क्षेत्रको अभावलाई परिपूर्ति गर्ने र शहरी हरियाली प्रवद्र्धन गर्ने काम गरेको हुन्छ । पार्कहरुले सार्वजनिक जग्गाको संरक्षण, प्राकृतिक श्रोतको संरक्षण, लोपोन्मुख वनस्पति र जीवजन्तुको संरक्षण, हरियाली प्रवद्र्धन, पानीका श्रोतहरुको संरक्षण जस्ता उपलब्धि मार्फत वातावरणीय सेवा प्रदान गरेका हुन्छ ।  पार्क बन्नु केवल शहरी क्षेत्रको आकर्षण मात्र होइन, पर्यटनको विकासको लागि राम्रो पक्ष मानिन्छ ।
पर्यटन विकासको लागि पूर्वाधार बनाउदा अग्ला मूर्ति, मन्दिर र भ्युटावर बनाउने होडबाजीनै चलेका बेला कतिपय ठाउमा प्राकृतिक तथा पर्यावरणीय पार्क, साँस्कृतिक तथा ऐतिहासिक पार्क, वनस्पति उद्यान, बाल उद्यान, विज्ञान तथा सूचना प्रविधि पार्क, औद्योगिक पार्क, शहिद पार्क र ढुङगे पार्क लगायतका नामबाट पार्क निर्माण
गर्ने काम भएको छ । शहर बजारमा जति बढी पार्क भयो, मानिसहरुले खुला रुपले सास फेर्न सक्छन् । पार्कका हरिया रुख तथा बोटबिरुवाले सडकको धूलो र गाडीहरुबाट निस्कने धूवाँ सोसेर प्रदूषण कम गर्छ । गर्मी याममा यस्ता पार्कले प्राकृतिक एयर कुलरको काम समेत गर्छ । पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । पर्यटन ब्यवसाय निजी क्षेत्रबाट चल्ने हो । पछिल्लो समय पर्यटनको विकासको लागि निजी क्षेत्रको लगानी हुन थालेको छ । निजी क्षेत्रको लगानीबाट पर्यटनलाई लक्षित गरी पर्यटन उद्योगहरु स्थापना भएका छन् ।
पर्यटनको क्षेत्रमा निजी क्षेत्रको लगानीमा फन पार्क, भ्यूटावर, ड्रिमपार्क र होटलमा निजी क्षेत्रको लगानी भएको छ । पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकर्षण हुन थालेपछि पर्यटनको पूर्वाधार बढेको छ । घुमफिरको संस्कृति विकास भएको छ । घुमफिरको संस्कृतिलाई ‘क्यास’ गर्दै निजी व्यवसायीहरुले फन पार्क निर्माण गर्न थालेका छन् । पर्यटनको क्षेत्रमा यसलाई सकारात्मक कार्य मान्नुपर्दछ ।
नेपालमा धेरै प्राकृतिकरुपमा सजिएका पर्यटकका लागि गन्तव्य छन् । प्राकृतिक रुपमा रहेका पर्यटकीय गन्तव्य निर्माण गर्न मानवीय श्रम र रकम खर्च गर्नुपरेको छैन । ती क्षेत्रमा पर्यटक पु¥याउन सडकको पूर्वाधार निर्माण भए मात्र पुग्दछन् । तर धेरै ठाउँमा पर्यटकहरुलाई आकर्षण गर्न स्थलहरु निर्माण गर्नुपर्दछ । पर्यटन, रोजगारी र साँस्कृतिक तथा पर्यावरण संरक्षणमा पार्कको महत्वपूर्ण भूमिका हुन्छ । तर अहिले पार्क सम्बन्धी कुनै कानुन, नियमावली नहुँदा जुनुसुकै क्षेत्रबाट सञ्चालित पार्कहरुले विकास र संरक्षणमा समस्या देखिएको छ । केही राष्ट्रिय उद्यान बाहेक अन्य पार्कहरु समुदायले संचालन गर्ने र ती पार्कहरु वन कार्यालय, धार्मिक संघ सस्था, सामुदायिक वन समूह, स्थानीय युवा क्लब र गैरसरकारी सस्थाहरुले संचालन गरिरहेकोले नेपालका पार्कहरुको एकीकृत तथ्यांक भेटिदैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation